ad ad

राजनीति


किन पत्रकार सम्मेलन गर्दैछन् रवि?

किन पत्रकार सम्मेलन गर्दैछन् रवि?

नेपालखबर
माघ २२, २०७९ आइतबार १२:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले आइतबार दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जालमा लेखे।

गृह मन्त्रालयमा पुनः आफूलाई जिम्मेवारी नदिए सरकार छोड्ने निर्णय निकाल्न रास्वपाको दुइदिनदेखि संसदीय दल र केन्द्रीय समितिको बैठक बसिरहेको छ।

आइतबार बिहान पनि रास्वपाको बैठक जारी छ। बैठक लगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्नुको कारण के हो? नेपालखबरले उनको सचिवालयका एक सदस्यलाई जिज्ञासा राखेको थियो।

जवाफमा सचिवालयका ती सदस्यले भने, ‘हामीले पहिले पाएको मन्त्रालय फेरि नपाए सरकारमा बसिरहनुपर्छ भन्ने छैन। यसलाई सभापतिले अपमानका रुपमा लिनुभएको छ।’

साढे १ बजे हुने रविको पत्रकार सम्मेलनले बाँकी कुरा त बताउने नै छ।

रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले रविले पत्रकार सम्मेलनबाट आफूमाथि लागेका आरोपको जवाफ दिदैँछन्।

‘सरकारमा सहभागी भएपछि उहाँको जनातासँगको सम्बन्ध ग्याप भएको थियो,’ डा. ढकालले नेपालखबरसँग भने, ‘सभापतिजीमाथि अनेक आरोप लगाइएको छ, त्यसको उहाँले उत्तर दिनुहुनेछ। आफूलाई क्लियर गर्न उहाँले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो।’
अहिलेको बैठकलगत्तै पत्रकार सम्मेलन भएकोले निर्णय उनैले सुनाउने सम्भावना पनि छ। 

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले उपप्रधान एवम् गृहसहित, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा मन्त्रालय लिएको छ। एकजना स्वास्थ्य राज्यमन्त्री पनि छन्।  

सभापति लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको १३ माघमा फैसला गरेपछि सोही दिन सांसद र  उपप्रधान एवम् गृहमन्त्री पद गुमाएका थिए।

गैर सांसदका रुपमा रवि फेरि गृहमै फर्कन खोजिरहेका छन्। 

तर, प्रधानमन्त्री दिन तयार छैनन्। त्यही भएर रवि सरकारबाट हट्न चाहन्छन्। 

त्यही निर्णय गराउन उनले राखेको बैठकले त्यसबारे अझै निर्णय गर्न सकेको छैन।

बरु सरकारबाट बाहिरिनु नहुने मत बलियो हुँदै गएको छ।

पार्टीभित्र समस्या देखिन थालेपछि रविले फेस सेभिङको योजनासहित पत्रकार सम्मेलन गर्न खोजेको उनी निकट नेताहरु बताउँछन्। 

१५ माघमा पुन नागरिकता लिएका रवि पार्टीको सभापति जिम्मेवारीमा एकै दिन फर्किन सफल भए। उनकै लागि पार्टीको तीनवटा बैठक बसेको थियो।

जसरी पार्टीको सभापतिमा एकै दिन फर्किएका थिए उनी, त्यसैगरी मन्त्रीमासमेत फर्किन योजनामा थिए तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएनन्।

प्रधानमन्त्रीले रविको राहदानी मुद्दा विचारधीन रहेको भन्दै गृह मन्त्रालय नदिने अडान लिए।

त्यसपछि रवि विच्किए र सरकार छोड्ने निष्कर्षमा पुगेर पार्टी बैठक राखिरहेका छन्।

बिहीबार पनि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो। तर, सरकारबाट बाहिरिन रास्वपाले २ दिनको अल्टिमेटम प्रचण्डलाई दियो।

दुई दिनको समयसीमा सकिएको दिन पनि निर्णय गर्न असफल भएको रास्वपाले आइतबार निर्णायक छलफल गरेर सरकारमा रहने-नरहने निर्णय गर्दैछ।

आफ्नै मिहिनेत, व्यक्तित्वका कारण रास्वपा बनेको र २० सिट जित्न सफल भएको श्रेय रवि आफैँले लिइरहेका छन्। 

तर, यसपटक उनले चाहेको जस्तो पार्टीभित्र भइरहेको छैन। केन्द्रीय सदस्य र सांसदहरु उनको भन्दा फरक भनाई राखिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .