ad ad

राजनीति


सिंगो देश नै माओवादी आन्दोलनको मुद्दा वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

सिंगो देश नै माओवादी आन्दोलनको मुद्दा वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय।


नेपालखबर
माघ २१, २०७९ शनिबार १५:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्।

आदिवासी जनजाति आयोगले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

साथै, उनले सिंगो देश नै माओवादीले गरेको आन्दोलन र मुद्दाको वरिपरि रहेको टिप्पणी गरे। 

‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ। हाम्रो आन्दोलनको विजय भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै। एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग ग¥यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन। तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ। त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ।’

प्रधानमन्त्री प्रचण्डले गम्भीर छलफलपछि मात्र आफूहरु आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेको बताए।

‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ। गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ। यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन।’ प्रधानमन्त्री प्रचण्डले भने।

सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने प्रधानमन्त्रीको भनाई छ। 

‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन। तर, यो निकै महत्वपूर्ण कुरा हो। यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ। त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ।’ प्रधानमन्त्री प्रचण्डले भने।

महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख हुनुमा आफूलाई गर्व रहेको बताउँदै उनले आफूहरुकै संघर्षबाट त्यो सम्भव भएको बताए।

‘यो अधिकार हाम्रै संघर्षको परिणाम हो। एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु। भोलि पनि लड्नेछु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन। जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ।’

आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको उनले स्मरण गरे।

‘चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लम्जुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, म उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ।’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .