गृह मन्त्रालयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन्।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलबीच यसबारे छलफल भइरहेको बताए। उनले यो समस्या केही दिनमै टुंगिने पनि स्पष्ट पारे।
उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पर्खनुपर्ने भनेको जिकिर गरे।
'गृहमन्त्रीको लागि गठबन्धन दलका पार्टीहरुबीच छलफल भइरहेको छ। सर्वोच्चको फैसला हेर्नुपर्छ भनेर केही दिन पर्खनुपर्छ भन्ने हो', उनले भने, 'त्यसमा ठूलो विवाद केही होइन। अहिले यही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल भइरहेको छ।’
उनले नयाँ राष्ट्रपतिबारे पनि पार्टीभित्र खासै कुरा भइनसकेको बताएका छन्। उपमहासचिव बस्नेतले राष्ट्रपति चयनबारे आफ्नो पार्टीले निर्णय गरिनसकेको बताए।
‘जहाँसम्म राष्ट्रपतिको कुरा छ। हाम्रो पार्टीले निर्णय गरेको छैन। राष्टिय सहमतिका लागि प्रयास गर्ने भन्ने हो', उनले भने, 'राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो। राष्ट्रपतिका लागि हामीले कुनै 'पोजिशन' बनाएको स्थिति होइन।
Shares

प्रतिक्रिया