राजनीति


जबजले अड्कियो समाजवादीमा प्रवेश गर्ने वामदेवको योजना

जबजले अड्कियो समाजवादीमा प्रवेश गर्ने वामदेवको योजना

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १४:२, काठमाडौँ

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कार्यदिशाका कारण माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी जान नसकेको बताएका छन्।

उनले आफूले एकीकृत समाजवादीमा प्रवेश गर्न नचाहेको पनि दाबी गरेका छन्। पछिल्लो समय समाजवादीका नेताहरुसँग निरन्तर छलफल गरेका उनले पार्टी प्रवेशको कुरा अस्वीकार गरेका हुन् ।

‘पहिलो कुरा त उहाँहरुले आउनुस् मात्र भन्नुभयो, मैले पनि प्रक्रिया पूरा गरेर दल दर्ता गरेको हुँ, प्रवेश होइन एकीकरण गर्नुपर्छ भनेको छु,’ गौतमले नेपालखबरसँग भने, ‘एकीकरण गर्दा जनताको बहुदलीय जनवाद (जबज) नमानेसम्म मैले पनि सहमत हुने कुरै भएन।’

संयोजक गौतमले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आलोकनगरस्थित समाजवादीको कार्यालयमै पुगेर केही घण्टा छलफल गरेका थिए।

‘माधवजीले मैले एकीकरण गरेर अघि बढ्न राखेको प्रस्तावमा हुन्छ भन्नुभयो,’ गौतमले थपे, ‘उहाँहरुले अहिले कोही न कोही नेता पठाएर मलाई फकाइरहनुभएको छ। एक दुई हप्तामा केही परिणाम आउन सक्ने सम्भावना पनि छ।’

नेपालमा कम्युनिष्ट पार्टी टिक्ने हो भने चुनाव लडेर प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै त्यसका लागि उनले जबज अपनाउनैपर्ने जिकिर गरेका छन्। 

जबजसहितको विचार र लाइन छाडेकैले विगतमा नेकपा एमालेमा हुँदा पनि आफू माधव नेपालसँग नबसेको उनले खुलासा गरे।

‘मेरै जोडबलमा समाजवादी पार्टी निर्माण भएको हो तर, उहाँहरुले विचार छोडेर कता पुग्नुभयो कता,’ गौतमले गुनासो गरे। 

एकीकृत समाजवादीसँग एकताकै विषयमा अहिले पनि छलफलमा रहेको बताउँदै उनले कम्युनिस्टहरु एक हुनुको विकल्प नभएको दाबी गरे।

वामदेवलाई समाजवादीमा ल्याउनेबारे कुरा भए पनि ठोस उपलब्धी भइनसकेको उपमहासचिव प्रकाश ज्वालाले बताएका छन्। 

'वामदेव गौतम हाम्रो पार्टी कार्यालयमा आउनु भयो, कुरा पनि भएको हो', उनले भने, 'फाइनल केही भइसकेको छैन। उहाँले आफ्नो दस्तावेज छोडेर जानु भयो, त्यो अध्ययन गर्नु भन्नु भयो। पछि छलफल गरौँला भनेपछि थप कुरा टुंगिएको छैन।' 

२०७७ फागुनमा तत्कालीन नेकपा विभाजित भएदेखि वामदेव राजनीतिक जीवनबाट विश्राममा थिए। उनले २०७८ भदौ १८ गते नेकपा एमाले पनि परित्याग गरेका थिए।

त्यसपछि उनी कम्युनिस्टहरु मिलाउने भन्दै एकता अभियान गठन गरेर बसेका छन्। तर उनी अहिलेसम्म समाजवादी र नेकपा माओवादी केन्द्रसहितमा प्रवेश गर्ने कुरामा अनिर्णित छन्।

उनलाई माओवादीले मंसिर ४ को निर्वाचनमा टिकट दिन तयार रहेको जनाएको थियो। तर उनी माओवादीको चुनाव चिह्नबाट पनि निर्वाचनमा उठेनन्। 

उनले २०७७ पुस २५ मै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए। तर उनले अहिलेसम्म उक्त अभियानमार्फत कुनै दललाई एक बनाउन सकेनन्। बरु उनैसँग एकता अभियानमा बसेकाहरु अहिले छिन्नभिन्न भइसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .