ad ad

राजनीति


राष्ट्रपतिमा साझा उम्मेदवार खोज्ने प्रचण्डको प्रयास, मान्ला एमाले?

राष्ट्रपतिमा साझा उम्मेदवार खोज्ने प्रचण्डको प्रयास, मान्ला एमाले?

सागर न्यौपाने
माघ ८, २०७९ आइतबार २०:४६, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र साझा व्यक्तिलाई देशको राष्ट्रपति बनाउनुपर्ने निष्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो पार्टीका नेताहरुले राष्ट्रपति चयन गर्दा तीन वटा कुरामा ध्यान दिन सुझाव दिएका छन्। 

‘साझा र सबैलाई स्वीकार हुने व्यक्ति, आलंकारिक पदको गरिमा बुझेको व्यक्ति र दलगत राजनीतिबाट माथि उठेको संविधान र लोकतन्त्रको रक्षामा कटिबद्ध रहेको व्यक्ति अबको राष्ट्रपति बनाउनुपर्ने हाम्रो ठहर छ,’ माओवादीका एक पदाधिकारीले नेपालखबरसँग भने। 

पहिलो पटक सरकारको नेतृत्व गरेको बेला राष्ट्रपतिकै कारण सत्ता गुमाउनुपरेको नजिरबारे आफूहरुले प्रचण्डको ध्यानाकर्षण गराएको ती पदाधिकारीले बताए।

‘हिजो मुलुकको पहिलो राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णय कार्यान्वयन नगर्दा नागरिक सर्वाेच्चताको नारा लगाउँदै सडकमा उत्रिनुपरेको थियो,’ अर्का पदाधिकारीले भने, ‘यसपटक पनि शीतलनिवासले नागरिकता विधेयक रोकिदियो, केही विषयमा राजनीति भयो, पार्टी र स्वार्थअनुसार चल्यो, अब यस्तो भएमा लोकतन्त्र र संविधान धरापमा पर्छ।’ 

माओवादीको १२ माघमा स्थायी समिति बैठक बोलाइएको छ। बैठकको एउटा एजेन्डामा राष्ट्रपतिको चुनाव पनि छ।

‘राष्ट्रिय सहमति बनाएर राष्ट्रपतिको निर्वाचन गरौँ भनेर प्रधानमन्त्रीले गर्नुभएको प्रस्ताव एमाले मानिरहेको छैन,’ माओवादी केन्द्रका कोषाध्यक्ष एवं कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने, ‘दलहरुबीच समझदारी हुँदा पात्रबारे निर्णय गर्न समस्या हुँदैन।’

सत्ता समीकरण बनाउँदा १० पुस र मन्त्रिमण्डल विस्तारमा सहमति जुटाउन २ माघमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपति एमालेलाई दिने सहमति जुटेको बताइएको थियो। सोही समझदारी अनुसार एमालेले आफ्नो भागमा परेको राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे छलफल गरिरहेको छ।

तर, प्रधानमन्त्रीनिकट एक नेताका अनुसार अहिलेसम्म कुन दललाई राष्ट्रपति दिने कुनै सहमति भइसकेको छैन।

‘कुनै दललाई पनि राष्ट्रपति दिने कुनै लिखित सहमति भएको छैन, समझदारी र सहमति फरक कुरा हुन्,’ ती नेताले नेपालखबरसँग भने।

सभामुख जितेको एमालेलाई राष्ट्रपति पनि दिने कुराले शक्ति असन्तुलन हुने माओवादीका नेताहरुको विश्लेषण छ। त्यसमााथि विगतमा झेल्नुपरेको अप्ठेरोले माओवादी झस्केको छ। प्रचण्ड स्वयं भोलि झेल्नुपर्ने खतराबारे जानकार छन्। 

‘त्यही भएर राष्ट्रपतिमा साझा व्यक्तिको खोजी गर्ने र राष्ट्रिय सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री लाग्नुभएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘कुनै दलको प्रतिनिधित्व भन्ने हुँदैन, सबैले स्वीकार गर्ने, लोकतन्त्र, संविधान पालना गर्ने कसैको पक्षधरता नलिने व्यक्तिलाई सपोर्ट गर्न सकिन्छ।’

पहिलो संविधान सभाको चुनावबाट (२८ चैत २०६४) एकीकृत माओवादी सबैभन्दा ठूलो दल बन्यो। ३१ साउन ०६५ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बने। रक्षामन्त्रीले दिएको निर्देशन पालना नगरेको भन्दै प्रधानसेनापतिसँग विवाद भयो। 

सोही विवादले २० वैशाख २०६६ मा प्रधानसेनापति रुकमाङ्गत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरी मन्त्रिपरिषदले राष्ट्रपति कार्यालय पठायो।

तर, राष्ट्रपति डा.रामवरण यादवले कार्यकारी सरकारको निर्णय उल्टाइदिए। अर्थात् कटुवाललाई हटाउने निर्णय मध्यराति खारेज गरेर थमौती गरिदिएका थिए। आलंकारिक राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्रीको निर्णय उल्ट्याएको भन्दै २१ वैशाख २०६६ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए। 

‘त्यसबेला राष्ट्रपतिले गरेको संवैधानिक गल्ती र शक्तिको दुरुपयोगले प्रधानमन्त्रीलाई नराम्ररी झस्काएको छ,’ प्रचण्डका एक स्वकीय सचिवले नेपालखबरसँग भने, ‘त्यसबेला राष्ट्रपतिको ब्लन्डरले अहिलेसम्म मुलुकले दुःख पाएको छ, त्यही नजिरले अहिले विधेयक अड्काउने, राजनीतिक निर्णय गर्ने काम शीतलनिवासबाट भइरहेको छ, अब यस्तो अवस्था सिर्जना नहोस्, कानुनी शासनलाई सबैले पालना गर्नुपर्छ।’

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जसपा,  जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलको समर्थनमा प्रचण्ड यसपटक पनि प्रधानमन्त्री छन्। एमालेका देवराज घिमिरे सभामुख र रास्वपाबाट इन्दिरा रानामगर उपसभामुख निर्वाचित भइसकेका छन्।

अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदैछ। डेढ महिनाभित्र चुनिने राष्ट्रपतिमा मुख्य दाबी एमालेको छ। 

‘राष्ट्रिय सहमति बनाउने कोसिस भइरहेको छ, चुनावको दिनसम्म एउटा नतिजा दिन पनि सकिन्छ भन्ने बुझाइ प्रधानमन्त्रीको छ,’ ती स्वकीय सचिवले थपे।

एमालेका एक स्थायी कमिटी सदस्यले राष्ट्रपति चुनावअगाडि नै माओवादीसँग सहमति हुने बताए।

‘अहिले राष्ट्रपति उम्मेदवारमा हाम्रा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलजी, उपाध्यक्ष सुवास नेम्वाङजीको चर्चा बढी छ,’ ओलीनिकट ती नेताले भने, ‘तर, प्रधानमन्त्री प्रचण्डजीसँग समझदारी गर्दा बाहिरबाट ल्याउनुपर्ने हुनसक्छ।’

‘हाम्रो अध्यक्षले अस्ति (५ माघ) संसद् बैठकबाट बाहिरिँदै पनि प्रष्ट भन्नुभएको छ, राष्ट्रपतिमा एमालेले अघि सारेको उम्मेदवारको विषयमा सहमति बनाउन सकिन्छ,’ उनले थपे।

२६ पुसमा विश्वासको मत दिएर गुन लगाइसकेकाले कांग्रेसले पनि स्वीकार गर्ने व्यक्तिमा साझा सहमति जुटाउन प्रचण्डले अझै प्रयास राख्ने नेताहरुलाई बताएका छन्। 

‘मेरो अन्तिम प्रयास सहमति जुटाउने हुन्छ, सहमति जुटाएरै राष्ट्रपति चयन भन्ने विश्वास छ,’ प्रचण्डका स्वकीय सचिवले उधृत गरे।

नेपाली कांग्रेसले प्रधानमन्त्रीको असली परीक्षा राष्ट्रपति चुनावमा देखिने भन्दै समयसीमा नै दिएको छ।

साढे २ वर्ष प्रधानमन्त्री बन्ने अवसर पाएका उनी सत्ता साझेदार दल एमाले र कांग्रेस दुवैको चित्त बुझाउनेगरी राष्ट्रपति उम्मेदवार खोज्न लागिपरेका छन्।

‘उम्मेदवारी मनोनयनको अघिल्लो रातिदेखि उम्मेदवारी दिने दिनको केही घण्टाअगाडि पनि सहमति हुन्छ, मुख्य कुरा साझा व्यक्ति छनोटमा हो,’ माओवादीका ती पदाधिकारीले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .