नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ।
बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
एमालेका एक पदाधिकारीले नेपालखबरलाई बताएअनुसार अध्यक्ष केपी शर्मा ओलीको ठाडै प्रस्तावमा घिमिरे सभामुखको उम्मेदवार बनाइएको हो।
‘हाम्रो पार्टीले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यो अध्यक्षको ठाडै प्रस्ताव हो, उहाँले अहिले देवराजजीलाई सभामुख बनाउ भनेर भन्नुभयो।’
झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन्।
यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा थियो।
अन्तिम अवस्थामा घिमिरेले सभामुख उम्मेदवार बन्ने अवसर पाएका हुन्।
सत्ता गठबन्धनभित्र भएको भागबन्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ।
Shares
प्रतिक्रिया