राजनीति


कांग्रेसको समर्थनपछि एमाले सशंकित, ओलीसँग पाँच घण्टा वार्ता गरेर फर्किए प्रचण्ड

कांग्रेसको समर्थनपछि एमाले सशंकित, ओलीसँग पाँच घण्टा वार्ता गरेर फर्किए प्रचण्ड

बालकोटमा ओली र प्रचण्डबीच भएको वार्ता। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
माघ २, २०७९ सोमबार १५:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच घण्टा लामो वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोटबाट बालुवाटारतिर लागेका छ्न्।

लन्चसहित पाँच घण्टासम्म चलेको वार्तापछि प्रचण्ड अहिले सरकारी निवास बालुवाटार फर्किएका छन्। आइतवार पनि ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो। 

सोमबार साढे ९ बजे बालकोट पुगेका प्रचण्ड र ओलीबीच वान टु वान वार्ता भएको हो। वार्तामा भएको सहमतिबारेमा दुवै पक्षले केही पनि खुलाएका छैनन्। 

उनीहरुबीच अड्किएको मन्त्रिपरिषद् विस्तार, सभामुख र राष्ट्रपतिको निर्वाचन र प्रदेश सरकारहरुबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले हिजो (आइतबार) साँझसम्म संघीय मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। तर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रम रोकिएका थिए। 

सरकारले सार्वनजिक बिदा दिए पनि सोमबार बिहानैदेखि प्रचण्ड छलफलमा जुटेका हुन्। उनले ओलीसँग सहमति भएमा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्दैछन्। 

अहिले उनीसहित मन्त्रिपरिषद् ८ सदस्यीय छ। अझै १७ वटा मन्त्रालय खाली छन्। पुस ११ मा नियुक्त चार मन्त्री अहिले पनि मन्त्रालयविहीन अवस्थामा छन्। 

अर्कातिर यही बुधबार प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदैछ। यो भेटमा सभामुखको निर्वाचनलाई लिएर पनि छलफल भएको बताइएको छ। 

सभामुख निर्वाचनका लागि मंगलबार संसद सचिवालयले कार्यतालिका सार्वजनिक गर्दैछ। तर पुस २६ मा विश्वासको मत लिँदा सभामुखका लागि कांग्रेसससँग पनि सहमति खोज्नुपर्ने भनाइ प्रचण्डले दुई दिनअघि सम्पदाकहरुसँगको एउटा भेटमा बताएका थिए।

उनको यो अभिव्यक्तिले एमाले अध्यक्ष ओली झस्किएका छन्। पुस १० गते भएको सात दलको साझेदारीअनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको थियो।

तर कांग्रेसले पनि समर्थन गरेपछि प्रचण्डले आफूलाई राष्ट्रिय सहमतिको सरकारका रुपमा प्रस्तुत गरिरहेका छन्। यस्तोमा एमालेले सभामुख र राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ नपाउने शंकाबीच दु्ई नेताबीच निरन्तर छलफल भइरहेको छ।

अर्कातिर सुदूरपश्चिम प्रदेशमा पनि फेरि सभामुखको निर्वाचन हुँदैछ। त्यहाँ मा‌ओवादीका भीम भण्डारी सभामुखमा उठेका छन्। 

तर यसअघिका दुई मतदानमा उनी चुनिएनन्। त्यहाँ नागरिक उन्मुक्ति तटस्थ बसिदिँदा सत्ता गठबन्धनलाई संकट परेको छ।

यदि त्यहाँ फेरि पनि सभामुख चयन हुन नसकेमा संवैधानिक संकट आउने अवस्था छ। नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशम चौधरीसहितलाई रिहाको लिखित ग्यारेन्टी भए मात्रै सघाउने अडान लिएको छ। उसले तटस्थ बसिदिँदा सभामुख चुनिन नसकेका हुन्। 

अर्कातिर राष्ट्रपतिको निर्वाचन पनि यही माघ अन्तिममा हुँदैछ। तर २६ पुसमा कांग्रेसको समेत विश्वासको मत प्रचण्डलाई मिलेपछि ओली सशंकित छन्। राष्ट्रपतिमा पनि साथ नपाउने चिन्ता उनलाई परेको छ।

सम्पादकहरुसँग भेटमा राष्ट्रपति र सभामुखको विषयमा पनि एमालेसँग सहमति नगरेको संकेत उनले गरेका थिए। 

सभामुखमा माओवादीले एमालेलाई सघाउनुपर्ने अवस्था छ। तर प्रचण्डले यी विषयमा कांग्रेससहितका दलहरुसँग पनि सहमति आवश्यक छ भनेपछि एमालेको चिन्ता बढेको छ। यही चिन्ताबीच ओलीले हिजो पनि प्रचण्डसँग छलफल गरेका थिए। त्यसकै निरन्तरता आज पनि छलफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad