ad ad

राजनीति


गृहमन्त्री लामिछानेले सुरक्षाकर्मी घटाए, बिदामा सरकारी गाडी चलाए राज्यलाई हिसाब बुझाउने

गृहमन्त्री लामिछानेले सुरक्षाकर्मी घटाए, बिदामा सरकारी गाडी चलाए राज्यलाई हिसाब बुझाउने

नेपालखबर
पुस २२, २०७९ शुक्रबार २०:५३, काठमाडौँ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा प्रयोग हुने सुरक्षाकर्मीसहित पछुवा गाडी हटाएका छन्।

गृहमन्त्रीको सुरक्षामा अगुवा र पछुवा गाडीमा सुरक्षाकर्मीले स्कर्टिङ गर्ने भए पनि रविले भने अगाडि एउटा गाडी मात्रै प्रयोग गर्ने भएका छन्।

उनले पछुवा गाडीसहितका सुरक्षाकर्मी शुक्रबारदेखि नै हटाएको जानकारी दिएका छन्। अबदेखि पछुवागाडी भइपरी आउँदा मात्रै प्रयोग गर्ने गृहमन्त्री लामिछानेको भनाई छ। 

गृहमन्त्री भएलगतै उनले आफ्नो सुरक्षाका लागि दुई तह मुनिका सुरक्षाकर्मीको नेतृत्व राखेका थिए। यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षक रहने गरेकामा लामिछानेले प्रहरी नायव निरीक्षक सईको नेतृत्वमा सुरक्षाकर्मी राखेका थिए। 

मन्त्री लामिछानेले ट्राफिक नियमको पूर्ण पालना गर्ने र साइरन बजाउँदै ट्राफिक लाइटमा पनि नहिड्ने बताएका छन्। कुनै अकाट्य परिस्थिति आइपर्दा बाहेक आफ्नो कार्यकाल भरी नै यो नियम पालना गर्ने उनको घोषणा छ। आकस्मिक अवस्थामा बाहेक साइरन बजाउँदै नागरिकलाई उछिनेर नहिँड्ने रविले सामाजिक सञ्जालमार्फत प्रतिवद्धता जनाएका छन्। 

यस्तै, व्यक्तिगत कामका लागि र बिदाका दिनमा आफ्नो निजी सवारी नै प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधान प्रयोग गर्नै परे पनि राज्यलाई त्यसको हिसाव बुझाउने रविको प्रतिवद्धता छ।  

‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा म मात्र उच्च सुरक्षामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्ने यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमान्दारिताकासाथ पूरा गर्ने छु’, रविले शुक्रबार साँझ भनेका छन्। 

यसअघि नियमविपरित प्रयोग गरेका सुरक्षाकर्मी ४८ घण्टामा फिर्ता गर्न निर्देशन दिएका थिए। गृह मन्त्रालयको निर्देशनपछि १०३ नेपाल प्रहरी र ११८ सशस्त्र प्रहरी फिर्ता भएका थिए। तर फिर्ता गरिएका सुरक्षाकर्मी प्रधानमन्त्री कार्यालयले पुनः माग गरिसकेको छ। 

यता शुक्रबार नै लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। उनलाई सांसदबाटै हटाउन माग गरिए पनि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। 

अब माघ ११ गतेलाई अन्तिम सुनुवाइका लागि तोकिएको छ। सर्वोच्चले उनको नागरिकता विवादमा सबै कागजात झिकाउन आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .