रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीव्र गतिमा उड्ने हाइपरसोनिक हतियार तैनाथ गर्ने एक मात्र मुलुक रुस भएको बताएका छन्। यस्तो हतियारको विकासमा रुसले अमेरिकासहित सबै मुलुकलाई पछि पारेको पनि उनले बताए।
आवाजको गतिभन्दा पाँच गुणा तीव्र गतिमा जाने हतियारलाई हाइपरसोनिक भन्ने गरिन्छ।
‘हामी अहिले आधुनिक इतिहासको अनौठो परिस्थितिमा छौँ। अहिले अरु मुलुक हामीलाई भेट्टाउने प्रयास गरिरहेका छन्,’ मंगलबार पुटिनले सैन्य अधिकारीहरुसँगको भेटमा भने, ‘हामीबाहेक कुनै पनि मुलुकसँग हाइपरसोनिक हतियार छैन। अन्तरमहादेशीय हाइपरसोनिक हतियारको त कुरै छैन।’
उनले अहिले शीतयुद्धकालभन्दा अलग परिस्थिति रहेको पनि स्पष्ट पारे। ‘शीतयुद्धको समयमा आणविक बम र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र बनाउने मामिलामा सोभियत युनियन अमेरिकाभन्दा पछाडि थियो,’ पुटिनले भने, ‘तर अहिले नयाँ खालको हतियार डिजाइनमा अरु मुलुक हामीलाई पछ्याइरहेका छन्।’
अमेरिका पनि हाइपरसोनिक हतियार निर्माणको प्रयास गरिरहेको छ। अगस्टमा अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले ‘एकाध वर्षभित्रै’ यस्तो हतियार अमेरिकाले बनाइसक्ने बताएका थिए।
हाइपरसोनिक क्षेप्यास्त्रलाई रोक्न कठिन हुन्छ। ‘यो भविष्यको हतियार हो। अहिले रहेका र भविष्यमा बन्ने क्षेप्यास्त्र प्रतिरोधी प्रणाली यसले भेदन गर्छ,’ मंगलबार पुटिनले भने।
रुसले आवाजको गतिभन्दा २० गुणा छिटो उड्ने अभानगार्ड हतियार निर्माण गरेको छ। त्यस्तै, आवाजभन्दा १० गुणा छिटो उड्ने किन्जल नामक हतियार भने उसले गतवर्षदेखि प्रयोग गरिसकेको छ।
मंगलबारको सम्बोधनमा पुटिनले रुसले जसरीपनि विश्वकै उत्कृष्ट हतियार तयार गर्नुपर्ने बताए।
‘यो बराबरी भए पनि होस् न भनेर खेल्न मिल्ने चेस खेल होइन,’ पुटिनले भने, ‘हाम्रो प्रविधि सबैभन्दा उत्कृष्ट हुनैपर्छ र त्यो प्राप्त गरिछाड्ने छौँ,’ एजेन्सी

प्रतिक्रिया