राजनीति


माधव नेपाललाई फकाउन महेश बस्नेत कोटेश्वरमा

१२ सिट थपेर पहिलो दल बनाउने ओलीको योजना
माधव नेपाललाई फकाउन महेश बस्नेत कोटेश्वरमा

फाइल।


नेपालखबर
पुस १३, २०७९ बुधबार १३:१७, काठमाडौँ

नेकपा एमालेको पहलमा नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ।

खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरेका हुन्। 

माओवादी नेतृत्वको सरकार बनेलगत्तै ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।

ओलीले पार्टीलाई पहिलो बनाउने रणनीतिअनुसार वार्ताका लागि उपाध्यक्ष विष्णु पौडेल र नेता महेश बस्नेतसहितलाई परिचालित गरिरहेका छन्।

केही दिनयता यी नेताहरुले पार्टी छाडेकाहरुलाई फर्काउन बाक्लो संवाद थालेका छन्।

मंगलबार एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको निवासमा उपाध्यक्ष पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेका थिए।

पाण्डेले दुई नेताबीच पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे कुरा भएको बताए। एमाले अहिले मंसिर ४ को निर्वाचनबाट ७८ सिट जित्दै दोस्रो दल बनेको छ। कांग्रेसले ८९ सिट जित्दै पहिलो दल बनेको छ।

यस्तोमा एमाले पहिलो दल बन्ने सम्भावनाबीच ओलीले नेताहरु फकाउन दूत परिचालन गरेका हुन्। 

मंगलबार पाण्डे निवासमा नेपाल-पौडेल वार्ता भइरहँदा अर्का नेता महेश बस्नेतले चुनावअगाडि एमाले छाडेका स्थायी कमिटी सदस्य प्रभु साहसँग वार्ता गरेका छन्। 

उक्त वार्तामा रौतहट ३ बाट प्रतिनिधिसभामा विजयी प्रभु साह र २ बाट विजयी किरण साहलाई एमालेमै फर्काउने गरी छलफल भएको छ।

उक्त वार्तामा सहभागी एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

'हामीले अझै पनि एमाले पहिलो दल बन्ने सम्भावना देखेका छौँ। माधव नेपाललाई पार्टीमा फर्काउन सके १० सिट बढ्छ। उता प्रभु साह र किरण साह आउनु भयो भने १२ सिट भएर एमालेले ९० सांसदसहित पहिलो दल हुन सक्छ', उनले भने, 'हामीले त्यसकै लागि सबै खालका प्रयत्न गरिरहेका छौँ। त्यो सम्भावना बलियो रहेको छ।'

यसैबीच बुधबार एमाले अध्यक्ष ओलीनिकट मानिने एकजना नेता महेश बस्ने समाजवादी अध्यक्ष नेपाललाई फकाउन कोटेश्वर पुगेका छन्।

मंगलबार प्रभु साहसँग संवाद गरेका उनले कोटेश्वरमा पनि त्यही कुरा राख्दैछन्। 'अब फुटेर भन्दा जुटेर जाने कुरामा अध्यक्ष ओली पनि तयार हुनुहुन्छ', बस्नेतनिकट स्रोतले भन्यो, 'हामी हिजो पार्टी छाडेका सबैलाई तितामिठा बिर्सिएर मिलेर जाऊँ भनिरहेका छौँ। सम्भवत: उहाँहरु पनि यो विषयमा वार्ताका लागि तयार हुनुहुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad