राजनीति


कांग्रेसले नमानेपछि ओलीसँग वार्ता गर्न तयार थिए नेपाल, तर प्रचण्ड एक्लैले सम्झौता गरेको गुनासो

कांग्रेसले नमानेपछि ओलीसँग वार्ता गर्न तयार थिए नेपाल, तर प्रचण्ड एक्लैले सम्झौता गरेको गुनासो

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १९:३७, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नमानेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक वार्ता गर्न तयार रहेको खुलेको छ।

मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेपछि कांग्रेसले दम्भ देखाउँदा माओवादी र आफूहरु दुवै पीडित भएको खुलासा समाजवादी अध्यक्ष नेपालले मंगलबार गरेका हुन्। 

समाजवादी सुदूर पश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सभासद्हरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवाले हेपाहा व्यवहार गरेपछि ओलीसँग वार्ताका लागि जुटेको खुलाएका हुन्। 

बालुवाटारमै भएको पाँच दलीय गठबन्धनको बैठकमै प्रचण्ड र आफूबीच ओलीसँग वार्ताका लागि जुट्नुपर्ने निष्कर्षमा पुगेको उनले सुनाए। 

'हामी पनि पीडित, उहाँहरु पनि पीडित। दुवै पीडित एकै पटक विद्रोह गर्नुपर्छ भन्ने सहमति भयो। बालुवाटारमै कसरी अघि बढ्नेबारे कुरा भयो। प्रचण्डले, 'तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गर्‍यौँ। उहाँले ओलीसँग कुरा गरेर नयाँ ढंगले अघि बढौँ भन्नुभयो, मैले पनि हुन्छ भनेँ', उनले सुनाए, 'केपी शर्मा ओलीसँग कुरा गरौँ भनेका थियौँ। हामी दुवै सहमत भयौँ। त्यसपछि म पार्टी कार्यालय आएँ। तुरुन्तै बैठक बोलाएँ।'

उनले कांग्रेसबिनाको सरकारका लागि आफूले तत्कालै कदम चाल्न थालेको पनि बताए। 'मैले तुरुन्तै रवि लामिछानेलाई फोन गरेँ, राजेन्द्र लिङदेनलाई गरेँ, उपेन्द्र यादवलाई फोन गरेँ। उनीहरुलाई बसेर कुरा गरौँ भने। यादवजीले आउँछु भन्नुभयो। राजेन्द्रजीको फोन उठेन', उनले थपे, 'रवि बालकोट जाँदैछु भन्नुभयो। अनि मैले बालकोटले तानिहालेछ भन्ने ठानेँ। उहाँहरुलाई बस्नु भनेँ।'

त्यसपछि आफूसँग बालुवाटारमा सल्लाह गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड पनि एक्लै बालकोट लागेको थाहा पाएको उनले बताए। 

'म पार्टी कार्यालयममै हुँदा प्रचण्डजी पनि बालकोट जानु भएको खबर आयो। उहाँ बालुवाटारबाट खुमलाटार जानु भएको थियो। त्यहाँबाट बालकोट पुग्नु भएछ। त्यसपछि त बहुमत हस्ताक्षर पुगिसकेको कुरा आयो। अशोक राईदेखि सीके राउत पनि पुगेको खबर पाएँ। सबैजना बालकोट पुगेको खबर पाएँ।'

त्यहीबेला आफूलाई अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको फोन आएको पनि उनले सु्नाए। 'माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोन गरेर पहिलो प्रधानमन्त्री तपाईं नै भनिदिनुपर्‍यो', उहाँले मलाई भन्नुभयो, 'समय गइसकेपछि, बालकोटमा हस्ताक्षर नै भइसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेला तपाईंले भनेर के हुन्छ? समयमा बुद्धि पुर्‍याउनु भएन' मैले यति जवाफ फर्काएँ', उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad