नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिन सके मात्रै २ वर्ष टिक्ने बताएका छन्।
‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। अब ती दल सबैलाई मिलाएर लैजान प्रचण्डजीको काँधमा जिम्मेवारी छ', उनले भने, 'उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन। यी ७ दल कसरी मिलाउनुहुन्छ? ३० दिनभित्र विश्वासको मत लिनुभयो भने यो सरकार अघि बढ्छ, ३० दिन कट्यो भने २ वर्ष सरकार ढुक्कले टिक्छ।’
रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै नेता विश्वकर्माले प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनेमा शंका व्यक्त गरे।
‘म अस्पतालमा सिकिस्त बिरामी थिएँ। मेरी श्रीमतीले म सिकिस्त बिरामी भएको बेला ज्योतिषीलाई देखाइछिन्, ती ज्योतिषले २६ गतेसम्म बाँच्यो भने केही पनि हुँदैन भनेको रहेछ', उनले भने, 'अब यो सरकार ३० दिन बाँच्यो भने २ वर्ष केहीले पनि छुँदैन।’
उनले आफ्नो दलको नेतृत्वमा रहेको गठबन्धन टुट्न घण्टा होइन मिनेट पनि नलागेको बताए।
'यो गठबन्धन यति चाँडै, केही मिनेटमा गठबन्धन टुट्ला भन्ने सायद कांग्रेसका कुनै पनि नेताहरुलाई लागेको थिएन। परिणाम बदलियो, परिस्थिति बदलियो। जुन शक्ति र दलसँग अत्यन्तै खप्नै नसकिने, हुनै नसक्ने, नभन्देको भए हुन्थ्यो भन्ने आरोप र प्रत्यारोप थियो', उनले भने, 'उहाँहरुबीच विद्रोह र तिक्तता बिर्सिएर फेरि गठबन्धन बन्ला भन्ने लागेको थिएन। १२ बजेर ४५ मिनेटमा बालुवाटारबाट निस्किएका प्रचण्ड १ बजे बालकोट पुग्नुभयो। त्यहाँ सहमति बन्यो। यो राजनीतिक आश्चर्यजनक घटना भयो। अब हामी फेरि घुमिफिरी उही भूमरीमा पर्यौं भन्ने लागेको छ। राजनीतिक परिधिभित्र यो दुर्भाग्यपूर्ण घट्ना भयो।’
उनले प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेपछि सर्याककसुरुक्क भएको बताए।
‘लोकतन्त्रमा सरकार बदलिनु आश्चर्यजनक होइन। बेलायतमा पनि डेढ महिनामा दुई वटा सरकार बने', उनले भने, 'सरकार अस्थायी हुन्छ, तर पद्धति स्थायी हुन्छ। पद्धतिमै विश्वास नभएकाहरुको गठबन्धन भयो। यो कसरी अघि जान्छ भन्ने कुरा छ, प्रचण्ड नेतृत्वको गाडीको पार्ट्स राम्रो छ। तर, स्टार्ट नै नहोला भन्ने चिन्ता छ।’
Shares

प्रतिक्रिया