नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रको ढुलमुले चरित्र फेरि पुष्टि भएको बताएका छन्।
आइतवार अचानक नेकपा माओवादी केन्द्रले दुई वर्ष लामो सत्ता गठबन्धन भंग गर्दै नेकपा एमालेसँग मिल्न पुगेपछि नेता कोइरालाको आक्रोशपूर्ण अभिव्यक्ति आएको हो।
उनले नेपालको ४४ औँ प्रधानमन्त्री भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै यो सत्तारोहण अपेक्षित नभएको पनि उल्लेख गरेका छन्।
'संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन', उनले भनेका छन्, 'संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ।'
उनले सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता हुन नसकेकोबारे पनि प्रश्न उठाएका छन्।
'संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ', उनले भनेका छन्, 'हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु।'
कोइरालाले माओवादीसँगको गठबन्धनका नाममा कांग्रेसले ठूलो मूल्य चुकाएको पनि बताएका छन्। 'कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो', उनले अगाडि भनेका छन्, 'राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो।'
उनले गठबन्धनका नाममा कयौँ कांग्रेसका कार्यकर्ताको राजनीतिक हत्या भएको पनि बताएका छन्। 'गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक वर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशनअघि र पछि कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना भए', उनले थपेका छन्, 'यो नि:सन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन। हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ।'
कोइरालाले कांग्रेस संसदको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको बताउँदै त्यसको कारण माओवादी भएको पनि बताएका छन्।
'गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ। हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ', उनले थपेका छन्, 'अब फेरि कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।'
उनले तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक नभएको पनि बताएका छन्। 'साथीहरु निराश हुनुपर्ने कुनै कारण छैन। हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईहरुको घर आँगनमा आउने छौँ', उनले अगाडि भनेका छन्, 'किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ।'
उनले कांग्रेस अब राष्ट्रिय राजनीतिको नयाँ भूमिकामा प्रवेश गरेको पनि बताएका छन्। 'कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ। यसबाट हामी निराश हुने छैनौँ', उनले थपेका छन्, 'यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौँ। पार्टीको गल्ती कमजोरीका लागि माफी माग्नेछौँ। जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन।'
उनले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको पनि बताएका छन्। 'हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ', उनले भनेका छन्।

Shares

प्रतिक्रिया