राष्ट्रपति विद्यादेवी भण्डारीले स्वावलम्बी अर्थतन्त्रको राष्ट्रिय विकासलाई मूल उदेश्य बनाउनुपर्ने बताएकी छन्।
मुलुकमा व्यापार घाटा निरन्तर बढिरहेको, आयातमाथि निर्भरता विस्तार र विदेशी मुद्रा संचितीमा चाप बढ्दा मुलुकको अर्थतन्त्रमा चुनौति बढेको बताइन्।
बुटवलमा आजबाट सुरु भएको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएको चुनौतिबाट पार पाउन स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उल्लेख गरिन्।
‘मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन, वन पैदावर, जडिबुटिमा आधारित आयात प्रतिस्थापन गर्ने, पर्यटन प्रवर्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नु अति आवश्यक छ’ उनले भनिन्, ‘हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरुलाई उत्प्रेरित गर्न र उद्योगी व्यवसायीसँग मिलेर काम गर्ने आवश्यकता पनि मैले महशुस गरेको छु।’
यसबाट केही वर्षभित्रै व्यापार घाटा कम गर्दै जान सकिने र रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना हुने पुँजी र प्रतिभाको पयायनसमेत रोक्न सकिने भण्डारीको भनाइ छ।
स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजिकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उनले बताइन्।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो पटक आर्थिक मन्दिका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै राज्यले त्यसको सम्बोधन गर्ने बताए। व्यवसायीहरुको समस्याप्रति गम्भीर हुन खाँणले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आग्रह गरे।
‘उद्योगी र व्यवसायीले बैंकलाई तिर्नुपर्ने साँवा ब्याज तिर्न नसक्ने अवस्था आएको छ। ब्याजदर वृद्धिले व्यवसायीहरुलाई कमजोर बनाएको छ’ उनले भने, ‘त्यसको केही समयपछि प्रभाव बैंक र वित्तीय संस्थाहरु माथि नै पर्दछ। बढिरहेको ब्याजदर घटाउन जरुरी छ।’
यो समस्याप्रति सरकारले पनि नीतिगत रुपमा हस्तक्षेप गर्ने खाँणको भनाइ छ।
पुस १९ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहेको प्रदर्शनी मूल समिति संयोजक माधव पौडेलले जानकारी दिए। प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको उनले बताए।
Shares

प्रतिक्रिया