राजनीति


हामी सानो छौँ, निराश भएका छैनौँ, गठबन्धन कायमै राख्छौँ : माधव नेपाल

हामी सानो छौँ, निराश भएका छैनौँ, गठबन्धन कायमै राख्छौँ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०७९ सोमबार १३:९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ को चुनावको परिणाम सोचे जस्तो नआए पनि तत्कालै सत्ता गठबन्धन नछाड्ने बताएका छन्। 

पार्टीकोतर्फबाट संघ र प्रदेशतर्फ निर्वाचित सांसदहरुलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'हामी सानो छौँ तर निराश भएका छैनौँ। समस्या छन् भने समाधान पनि छन्। नयाँ आशा र विश्वासका साथ हामी अघि बढौँ', उनले भने, 'यही गठबन्धनको भरमा चुनाव लड्यौँ। सिट विभाजनमा केही गुनासा छन्। आफ्नो शक्ति बलियो बनाइएन भने आफ्नो शक्तिमा भरोसा नगरिए जनताबीच नगए हाम्रो शक्ति अघि बढ्न सक्दैन। हामीले आफूलाई नसुधारे गरिखान सक्दैनौँ।'

उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा पनि आफूहरुको विशेष भूमिका र महत्व रहने बताए। तर नेपालले गठबन्धन गर्दा कांग्रेसलाई मात्रै फाइदा भएको पनि बताए। 

'चुनावमा अरु सबै पार्टीले घाटा व्यहोरे फाइदा लियो नेपाली कांग्रेसले। नयाँ ढंगले समीक्षा गरौँ कसैको बहुमत नभएकाले कस्तो सरकार बन्ला भन्ने भएको छ', उनले भने, 'गैरवामपन्थी सरकार खयाली पुलाव मात्रै हो। वामपन्थीको सरकार अल्मल्याउने मेलो हो। गठबन्धनलाई हामी कायम राख्नेछौँ। गठबन्धनकै सरकार बन्ने आशा छ।'

उनले गठबन्धनका पार्टी र नेतामा अहंकार भए, उनीहरुले नचाहे आफूहरु जस्तो स्थिति आइलाग्छ सामना गर्न तयार रहेको पनि बताए। 

'भित्रभित्र चलिरहेका अनेक खेललाई थाहा पाउनुपर्छ, हल्लाको पछि पनि जानु भएन। अहिलेको सन्दर्भमा हामी गठबन्धन सरकार बनाउने कुरा भएको छ', उनले भने, 'शेरबहादुरजीले गठबन्धनलाई कायम राखेर बलियो बनाएर जानुपर्छ भन्नु भएको छ। प्रचण्डलाई पनि फोन गरेर बसौँ छलफल गरौँ भनेको छु। हामी छिट्टै बस्छौँ।'

उनले एकातिर मित्रहरुको पनि खोजी र पहिचान गर्ने अवस्था रहेको बताए। नेपालले नेकपा एमालेतिर संकेत गर्दै यदि साँच्चिकै सुध्रिएको हो भने आग्रह पालेर नबस्ने पनि बताए। 

उनले नेपालका नेताहरुमा पैसा पैसा भन्दै चुर्लुम्म डुब्ने प्रवृत्ति रहेको बताए। 'नेपालको राजनीतिको दृश्यले पुराना पार्टीहरुप्रति जनतामा निराशा देखिएको छ। नकरात्मकता देखिएको छ', उनले भने, 'भएभरका काम गरियो तर जनताले विश्वास गरेनन्। असल र इमान्दार मानिसहरु हामीलाई चाहिएको छ। अहिले नेपालको राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हावी भएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad