राजनीति


स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको काम नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

फाइल।


नेपालखबर
पुस २, २०७९ शनिबार १५:१३, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टयाएका हुन्। 

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्ल्ेख गरे।

‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी तथा जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ।’ 

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे।

‘ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन। यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन।’

ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए। प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए।

‘आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु। प्राचिन सभ्यता र संस्कृतिलाई यथावत संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचिन र आधुनिक सहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन,’ उनले भने, ‘भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ। यहाँ भएको कामले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे। भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad