राजनीति


नागरिक अगुवा भन्छन् : सरकार गठन प्रक्रियामा बाह्य संलग्नता देखियो

नागरिक अगुवा भन्छन् : सरकार गठन प्रक्रियामा बाह्य संलग्नता देखियो

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १७:४, काठमाडौँ

पूर्वमुख्यसचिव तीर्थमान शाक्यसहितका नागरिक अगुवाले देशमा बाह्य हस्तक्षेप बढेकोप्रति चिन्ता व्यक्त गरेका छन्। 

बुधबार एक अपील प्रकाशित गरी नागरिक अगुवाले ‘सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिम’ तर्फ सचेत गराएका हुन्। 

साथै, नागरिक अगुवाले मित्र राष्ट्रहरूलाई नेपालसँगको सम्बन्ध अघि बढाउँदा अहस्तक्षेपलाई स्वीकार गर्ने पञ्चशीलका सिद्धान्तलाई ख्याल राख्न पनि आह्वान गरेका छन्।

अपीलमा उनीहरुले शीर्ष नेता र विभिन्न देशका कुटनीतिज्ञहरूबीच जसरी भेटघाटका शृङ्खला चलिरहेको छ, यसले निर्वाचनमार्फत व्यक्त भएको अभिमत सरकार निर्माणमा कतै निर्णायक नहुने त होइन भन्ने आशंका उत्पन्न भएको बताएका छन्। 

यस्तो छ अपील
भर्खरै सम्पन्न संसदीय निर्वाचनबाट अभिव्यक्त भएको जनादेश लत्याउने गरी हाल भइरहेका विभिन्न प्रयत्नप्रति यस अपिलका हस्ताक्षरकर्ता हामी नागरिकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता प्रयत्नबाट जनताको सार्वभौम अधिकार र प्रजातन्त्रको मर्ममाथि निर्मम प्रहार भएको छ भन्ने हाम्रो ठहर छ । 

संसद् गठन भएपश्चात संसदले सरकार बनाउनु संविधानक व्यवस्था हो । संसदीय व्यवस्थाको यो प्रचलित मूल्यमान्यता पनि हो । तर अहिले हाम्रा शीर्ष नेता र विभिन्न देशका कुटनीतिज्ञहरूबीच जसरी भेटघाटका शृङ्खला चलिरहेको छ, यसले निर्वाचनमार्फत व्यक्त भएको अभिमत सरकार निर्माणमा कतै निर्णायक नहुने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ । 

यसपटक पनि नेपालको संविधान २०७२ मा उल्लेख भएअनुरूप निर्धारित समयमै स्थानीय, प्रादेशिक तथा संघीय संसद्को निर्वाचन सम्पन्न भयो, जुन सुखद् हो । यद्यपि कुनै पनि हालतमा शक्तिमा टाँसिरहन हाम्रा शीर्ष नेताहरूले व्यक्त गरेको लालसाले प्रजातन्त्रलाई कमजोर बनाइरहेको छ । यसपटकको निर्वाचनमार्फत नयाँ पुस्ताले सरकार सञ्चालन उत्तरदायी ढंगले होस् भनी आकांक्षा राखेको सुस्पष्ट रूपमा प्रकट भए पनि शीर्ष नेताहरूले आफ्नो रवैया परिवर्तन गर्ने छाँटकाँट नदेखानु आपत्तिजनक छ ।

सरकार निर्माणका लागि अहिले भइरहेका बाह्य÷वैदेशिक हस्तक्षेप, अनाधिकृत तथा अप्रजातान्त्रिक दौडधुपले जनआकांक्षाको विपरित हुनेगरी अझ अनुत्तरदायी र भ्रष्ट सरकार निर्माण गर्नेछ र यसले राजनीतिक स्थायीत्व, आर्थिक विकास, न्याय र समावेशिताको नेपाली आकांक्षामा तुषारापात गर्नेछ । यसप्रति हामी चिन्तित छौं । यस्तो प्रक्रियाबाट सिद्धान्तविहिन सरकार गठन भए मुलुकको अर्थतन्त्र अझ नाजुक बन्नेछ, युवाहरूको विदेश पलायन यथावत रूपमा जारी रहनेछ र नेपालको आन्तरिक मामिलामा बाह्य भूमिका प्रवर्दन भई राज्य कमजोर बन्नेछ । यसबाट आम नागरिकका राज्य र संविधानप्रतिको धारणा नकारात्मक हुनेछ । 

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । परस्परविरोधी सिद्धान्त बोक्ने दलहरूबीच बनेको त्यस गठबन्धनलाई संसद्मा बहुमत प्राप्त नभएको हामीसबैलाई थाहै छ । यस्तो सन्दर्भमा केही निर्वाचनहरुयता निरन्तर खिइँदै गएको एउटा दलले सबैभन्दा ठूलो दलसहित समग्र मुलुकलाई अह्रनखटन गर्ने र इशारामा नचाउन खोज्ने प्रयत्न जसरी भइरहेको छ, त्यो प्रजातन्त्रमा शोभनिय र स्विकार्य किमार्थ हुन सक्दैन । यसैकारण चुनावबाट सबैभन्दा ठूलो दल बन्न पुगेको नेपाली कांग्रेसले गठबन्धन बाहिर रहेका सिद्धान्त र एजेण्डा मिल्ने दलहरूसँग मिलेर सरकार गठन गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठहर छ । 

सरकार गठनमा अस्वस्थ अभ्यास हुन नपाओस् र बाह्य शक्तिले सरकार निर्माण गर्ने नेपाली जनताको सार्वभौम अधिकारमा हस्तक्षेप गर्न नपाउन् भन्ने सुनिश्चित गर्न पनि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच छलफल हुनुपर्छ भन्ने हामी ठान्छौं । प्रजातान्त्रिक पृष्ठभूमीबाट आएका यी दुई दलहरु निरन्तर संवादमा रहुन् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाउन् भन्ने हाम्रो चाहना छ ।

अहिलेकै सिद्धान्तहिन र अनैतिक गठबन्धन कायम रहे राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र संवैधानिक अंगका प्रमुख तथा सदस्यहरूमा गलत पात्रहरूको निर्वाचन अथवा चयन हुनसक्छ । यसबाट संविधानवाद सहित समग्र प्रजातन्त्रलाई दीर्घकालसम्म असर गर्नेछ । प्रधानमन्त्री पदलाई दुई वा तीन व्यक्तिबीच भागबण्डा लगाएर पालैपालो भोग गर्ने भनी अहिले सञ्चार माध्यममा भइरहेका चर्चाप्रति पनि हाम्रो स्पष्ट विमति छ । सरकार गठन अघिको यो निर्णायक घडीमा हामी विवेकको रक्षकको रुपमा काम गर्न र काम चलाउन सरकारद्वारा ल्याइएका अध्यादेशहरुद्वारा देशमा अन्तरिम शासन हुन नदिन राष्ट्रपति समक्ष अपिल गर्दछौँ ।  

सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिमतर्फ पनि हामी चिन्तित छौं । त्यसैले हामी हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरूलाई नेपालसँगको सम्बन्ध अघि बढाउँदा अहस्तक्षेपलाई स्विकार गर्ने पञ्चशिलका सिद्धान्तलाई ख्याल राख्न आह्वान गर्दछौं । सरकार निर्माणजस्तो नेपालको नितान्त आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपाली नागरिकलाई अस्विकार्य रहेको कुरा समेत हामी स्पष्ट पार्न चाहन्छौं । 

हस्ताक्षरकर्ता
तीर्थमान शाक्य
कुलचन्द्र गौतम
युवराज घिमिरे
सुशील प्याकुरेल
कनकमणि दीक्षित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .