ad ad

कारोबार


विश्व धनाढ्यमा इलोन मस्कको स्थान खोस्ने को हुन् ७३ वर्षीय बर्नार्ड आर्नाउ?

विश्व धनाढ्यमा इलोन मस्कको स्थान खोस्ने को हुन् ७३ वर्षीय बर्नार्ड आर्नाउ?

बर्नार्ड आर्नाउ। तस्बिर : Nathan Laine/Bloomberg


एन्जेलिना रास्कोट र तारा पटेल
मंसिर २८, २०७९ बुधबार १७:११, काठमाडौँ

सुन्दा अनौठो लाग्ला, विश्वकै धनी व्यक्ति ट्विट नै गर्दैनन्। उनी हुन् बर्नार्ड आर्नाउ। फ्रान्सका यी धनाढ्य विलासी वस्तुको व्यवसाय गर्छन्।

एलभीएमएचका यी मालिकले मंगलबारमात्रै ब्लुमबर्ग अर्बपति सूचकांकमा ट्विटरका मालिक इलोन मस्कको विश्वधनाढ्यको स्थान खोसेका छन्। 

यो उनले पहिलोपटक पाएको स्थान हो। फ्रान्स वा पूरा युरोपभरबाटै आजसम्म कसैले पनि यो स्थान खोस्न सकेका थिएनन्। 

७३ वर्षीय यी अर्बपति पहिलेदेखि नै अर्बपति वरीयतामा रहँदै आएका छन्। मस्क र अन्य अर्बपतिको दाँजोमा उनी विरलै सार्वजनिक दृश्यमा आउँछन्, सामाजिक सञ्जालमा निष्क्रियप्रायः रहन्छन्। 

एलभीएमएच अर्थात् मोइत हेनेसी लुइस भुइटन एसईका डम पेरिग्ननदेखि क्रिस्टियन डायर–टिफानी एन्ड कम्पनीसम्मका ७५ लेबल रेन्ज छन् तर बर्नार्ड भने देशभित्र सामान्य जीवनयापनमा रमिरहेका छन्। 

उनीसँग १ खर्ब ७० अर्ब ८० करोड अमेरिकी डलर सम्पत्ति रहेको अनुमान छ। उनले युरोपेली शिल्पकौशलको माध्यमबाट एलभीएमएचलाई विश्वकै ठूलो विलासी वस्तु उत्पादकमा रुपान्तरण गरेका छन्।

एउटा लुइस भुइटन स्टोर। तस्बिर : Matthew Hatcher/Bloomberg

एलभीएमएचका मार्क ज्याकोब्स र लुइस भुइटनमा रहेको भर्जिल एबोल, क्रिस्टियनस्थित राफ साइमन्स र सिलाइनको फोयब फिलोले महत्त्वाकांक्षी डिजाइनरलाई सिक्ने अवसर दिएको छ। यी सबैले परम्परागत प्रकृतिका ब्रान्डलाई नवीनतासँग संयोजन गर्छन्, युवा उपभोक्तालाई जोड्छन्। 

मक्किएको बजारले यो वर्ष बर्नार्डको केही सम्पत्तिमा ह्रास ल्याइदिएको थियो। उनले सन् २०२२ मा ७.२ अर्ब डलर गुमाए। तर विश्व धनी सूचीमा दबदबा राखिरहने प्रविधि अर्बपतिले भन्दा राम्रो गर्न सफल भए। कोभिड संकटको प्रभाव घट्दै गर्दा उच्च उत्पादनहरुको माग केही बढ्यो। 

पेरिसमा रहेको एलभीएमएचले गत वर्ष ६८ अर्ब डलरको बिक्री गरेको थियो। जुन सन् २०२० को महामारीबाट राम्रो व्यावसायिक पुनरावृत्ति हो। उक्त कम्पनीमा बर्नार्ड र उनको परिवारको ४८ प्रतिशत सेयर रहेको छ। जहाँ उनीहरुले ६४ प्रतिशत ‘भोटिङ राइट्स’ पाउँछन्।

बुधबार सुरुवाती पेरिस ट्रेडिङमा कम्पनीको सेयर ०.४ प्रतिशतले घट्न पुग्यो। यसका बाबजुद कम्पनीको बजार मूल्य ३ खर्ब ६४ अर्ब युरो रहेको छ जुन युरोपकै ठूलो मूल्य हो। 

बर्नार्ड आर्नाउ। तस्बिर : Nathan Laine/Bloomberg

को हुन् बर्नार्ड? 
सन् १९४९ मा उत्तरी फ्रान्सको राउबाक्समा बर्नार्डको जन्म भएको थियो। उनले इन्जिनियरिङ स्कुल पोलिटेक्निकमा अध्ययन गरेका थिए।

सन् १९८१ मा अमेरिका जानुअघि उनी औद्योगिक निर्माणमा केन्द्रित पारिवारिक व्यवसाय फेरेट साभिनेलमा जोडिएका थिए। जहाँ उनले सम्पत्ति विकासमा काम गरे। 

सन् १९८४ मा फ्रान्स नै फर्किएका उनले बाउसाक सेन्ट फ्रेरेस नामको ऋणमा डुबेको टेक्स्टाइल ग्रुपको स्वामित्व लिँदै विलासी सामानको व्यवसायमा हात हालेका थिए। त्यो ग्रुपले क्रिस्टियन डायर नामका रत्नसम्बन्धी कम्पनीको स्वामित्व लिएको थियो। कम्पनीका अन्य धेरै व्यवसायलाई छाडेर उनी एलभीएमएचमा बहुमत सेयर नियन्त्रणतर्फ अग्रसर रहे। जसको मुख्य दुई कम्पनी लुइस भुइटन र मोइत हेनेसी थियो। जुन सन् १९८७ मा गाभिएर एक बनेको थियो। 

त्यसपछिका तीन दशकमा उनले एलभीएमएचलाई विश्वभर ५५ सयभन्दा बढी स्टोर खोली स्याम्पेन, वाइन, स्पिरिट्सजस्ता पेयपदार्थ, फेसन, लिदरजन्य वस्तु, घडी, गरगहनाजस्ता पहिरनसम्बन्धी र होटेल, पर्फ्युम र कस्मेटिक्सजस्ता अन्य वस्तु व्यवसायमा चिनाए। चीन विश्वमा मुख्य बजार बन्दै गरेको राम्रोसँग बुझेका उनले सन् १९९२ मा बेइजिङमा पहिलो लुइस भुइटन स्टोर खोलेका थिए। 

एलभीएमएचले यसै वर्ष आफ्ना प्रमुख कार्यकारी अधिकृतको उमेरहदको व्यवस्था हटाएको छ। योसँगै उनलाई ८० वर्षसम्म त्यो पदमा बस्ने बाटो खुलेको छ। 

क्रिस्टियन डायरको एक स्टोरमा लामबद्ध ग्राहक। तस्बिर : Cyril Marcilhacy/Bloomberg

सामान्य जीवनका पारखी बर्नार्डले गत अक्टोबरमा नै एलभीएमएचले आफ्नो निजी जेट विमान बिक्री गरेको बताएका थिए। फ्रान्समा अर्बपतिका विमानहरु ट्राक गर्ने ट्विटर एकाउन्टहरुले कार्बन उत्सर्जन लगायतका विषयमा उनीहरुलाई हैरान पारिरहेका हुन्छन्। पछिल्लो समय यसबारे राम्रै बहस समेत हुनथालेको छ। केही राजनीतिज्ञले नै निजी विमान राख्न प्रतिबन्ध लगाउनेदेखि कर तिराउनेसम्मको प्रस्ताव गरिररहेका छन्। 

‘यी सबैका बीच ग्रुपसाग एउटा विमान थियो र हामीले त्यसलाई बेच्यौँ’, बर्नार्डले रेडियो अन्तर्वार्तामा भनेका थिए, ‘परिणामतः अहिले म जहाँ गए पनि कसैलाई थाहा हुँदैन किनकि म जहिले विमान प्रयोग गर्छ, भाडामा लिएर गर्छु।’ 

एलभीएमएचमा बर्नार्डले आफ्नै विरासत बनाइरहेका छन्। उनका दुई विवाहबाट पाँच सन्तान छन् जो कम्पनीभित्रैका ब्रान्डहरुमा काम गर्छन्। उनकी दोस्रो सन्तान ४५ वर्षीय एन्टोइनीले क्रिस्टियन डायर एसईमा अझै ठूलो भूमिका पाएकी छिन्। 

बर्नार्ड कडा रुपले डाइटिङ गर्छन् र नियमित रुपमा टेनिस खेल्छन्। यसबाहेक कला संग्रहका पारखी समेत रहेका छन्। 

जहाँबाट हुन्छ उनको आम्दानी 
ब्लुमबर्गका अनुसार बर्नार्डले क्रिस्टियन डायरमा लिएको ९७.५ प्रतिशत सेयरबाट आम्दानी गर्छन्। एलभीएमएचमा क्रिस्टियन डायरले ४१ प्रतिशत नियन्त्रण गर्छ। त्यसबाहेक उनको परिवारले एलभीएमएचको झण्डै ६ प्रतिशत थप सेयर समेत लिएको छ। 

बर्नार्डसँग अनुमानित क्यास र अन्य सम्पत्ति गरी १० अर्ब ३० करोड डलर रहेको छ। ब्लुमबर्गको वेल्थ इन्डेक्समा सन् २०१२ मा समावेश भएयता सर्वधनाढ्य अर्बपतिको पहिलो वरीयतामा आउने बर्नार्ड पाँचौँ व्यक्ति हुन्। यसअघि कार्लोस स्लिम, बिल गेट्स, जेफ बेजोस र मस्क आएका थिए। ब्लुमबर्गबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .