ad ad

राजनीति


ओलीको नेतृत्वमा एमाले अनैतिकताको भद्दा नमुना बन्यो : प्रभु साह

ओलीको नेतृत्वमा एमाले अनैतिकताको भद्दा नमुना बन्यो : प्रभु साह

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १६:९, काठमाडौँ

पूर्वमन्त्री प्रभु साहले नेकपा एमाले अनैतिकताको भद्दा नमुना रहेको बताएको छन्। 

रौतहटको चन्द्रपुरमा मङ्गलबार कार्यकर्ताहरुसँग छलफलमा बोल्दै पूर्वमन्त्री साहले निर्वाचनमा प्राप्त जनमतको अपमान गर्दै एमालेले सत्ता साझेदारीको गलत नीति अवलम्बन गरेको बताए। 

मंसिर ४ को संघ तथा प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनविरुद्ध मत मागेर अहिले उसकै नेतृत्वमा सरकार बनाउन तल्लीन हुनु एमालेको दोहोरो चरित्र भएको उनले बताए। 

एमाले आफैँ सरकारमा हुँदा नागरिकता विधेयक ल्याएको बताउँदै उनले सत्ता गठबन्धनले ल्याउँदा भने राष्ट्रपतिको प्रयोग गरी रोकेर दोहोरो चरित्र देखाएको बताए। 

रेशम चौधरीलाई जेलमुक्त गराउन आफैँ मरिहत्ते गर्ने तर अरुले छुटाउन खोज्दा विरोध गर्ने, पार्टी सचिवालयबाट एकदिन कारवाही गरेर सांसद बन्न नदिने अर्को दिन फेरि त्यही व्यक्तिको नाम सिफारिस जस्ता कार्य गरेर ओलीले एमालेलाई अनैतिक एवम् अलोकतान्त्रिक दलका रुपमा परिभाषित गरेको पूर्वमन्त्री साहले बताए। 

'तपाईंहरुले हेर्दै आउनुभएको विषय हो, ओलीले टीकापुर घटना राजनीतिक मुद्दा भएको भन्दै रेशम चौधरीलाई रिहाइका लागि मरिहत्ते गरेका थिए थियो। तर आज सत्ता गठबन्धनले छुटाउन खोज्दा विरोध गर्दैछन्', उनले भने, 'विगतमा आफैँले नागरिकता विधेयक ल्याएका ओलीले त्यसलाई रोक्न पुरै ताकत लगाए।'

प्रतिपक्षमा बस्न निर्वाचनबाट प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भूमिका निर्वाह गर्नुको साटो जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्ताको नेतृत्व दिने काम ओलीको अनैतिकताको पराकाष्ठा भएको उनले बताए। 

नाकाबन्दीको विरोध र राष्ट्रियताको रक्षा गर्ने ढोंग गरेर एउटा छवि बनाएको एमाले गठबन्धनबाट जनतासमक्ष नांगिएको बताए। साहले एमाले स्थायी कमिटी सदस्यसमेत त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .