राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ। मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा पाँचौँ शक्तिका रुपमा उदय भएको राप्रपा प्रतिपक्षमा बस्ने भएको हो।
‘हाम्रो पार्टीले सरकारमा जाने कुनै निर्णय गरेको छैन। सरकारमा सहभागी हुनेबारे कतैबाट पनि औपचारिक रुपमा प्रस्ताव पनि आएको छैन,’ उनले नेपालखबरसँग भने, ‘बहुमत पुर्याउन प्रयासरत दलले सरकार बनाउन्। हामी प्रतिपक्षमा बस्छौं।’
राप्रपाका प्रवक्तासमेत रहेका जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले पनि आफूहरु अहिले सरकारमा नजाने बताए। देशमा भ्रष्टाचार उन्मूलनका लागि खबरदारी गर्न, संसदबाट राष्ट्रघात रोक्न, र अहिलेको शासन व्यवस्थामा परिवर्तन गरेर मुलुक बनाउन जनताले राप्रपालाई जिताएको उनको भनाइ छ।
‘हामी अहिले सरकारमा जाने कुनै तयारी छैन,’ शाहीले भनेका छन्, ‘देशमा भ्रष्टाचार उन्मूलनका लागि खबरदारी गर्न, संसदबाट राष्ट्रघात रोक्ने प्रयास गर्न र अहिलेको शासन व्यवस्थाले हुँदैन केही कुरा परिवर्तन गरेर मुलुक बनाउ भनेर जनताले राप्रपालाई जिताएको हो।’
मकवानपुर–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले पनि राप्रपा हतार गरेर सरकारमा नजाने बताए।
‘सरकारमा जाने जनमत पाएका छैनौं। हतार गरेर सरकारमा जाँदैनौं,’ उनले नेपालखबरसँग भने, ‘प्रतिपक्षमा बस्छौं।’
सरकार गठन हुने अवस्था नआएर फेरि निर्वाचनमा जानु पर्ने अवस्था आए राप्रपाले कुनै एक दललाई समर्थन गर्ने सिंहको भनाइ छ।
‘कसैको बहुमत पुगेन र रि–इलेक्सनमा जानु पर्ने अवस्था आएको खण्डमा हामी कुनै न कुनैलाई समर्थन गर्छौं,’ उनले भने।
राप्रपाका कारण सरकार नबन्ने अवस्था सिर्जना भए पार्टीले जिम्मेवार ढंगले मुलुकलाई निकास दिने प्रवक्ता श्रेष्ठको पनि भनाइ छ।
‘हाम्रो पार्टीकै कारण सरकार नबन्ने अवस्था आए राप्रपाले जिम्मेवार ढंगले निकास दिन्छ,’ उनले भने।
श्रेष्ठले सरकारमा जाने बारे अनौचारिक रुपमा पार्टीलाई प्रस्ताव आइरहेको पनि बताए। सरकारमा सहभागी हुने बारे औपचारिक रुपमा प्रस्ताव आए पार्टीमा छलफल गरेर निर्णय गरिने उनको भनाइ छ।
‘सरकारमा सहभागी हुने बारे च्यानलमार्फत् अनौपचारिक संवादहरु भइरहेका छन्,’ श्रेष्ठले भने, ‘औपचारिक रुपमा प्रस्ताव आएको छैन। आए छलफल हुन्छ।’
राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केही नेताहरु भने पार्टी सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका स्रोतको भनाइ छ। तर, श्रेष्ठले सरकारमा सहभागी हुने बारे पार्टीमा दुई धार नभएको दाबी गरे।
‘सरकारमा सहभागिताको विषयमा कुनै दुई धार छैन। कसैले भनिरहनुभएको छ भने त्यो उहाँहरुको निजी विचार हो,’ उनले भने, ‘पार्टी निर्णयबाहिर कोही जानु हुन्न। बैठक बसेर आमधारणा बनाउँछौं।’
प्रतिनिधि सभा सदस्य शाहीले पनि सरकारमा जानु पर्ने बहस चल्दैमा केही फरक नपर्ने बताउँछन्। अन्तिम निर्णय पार्टीले गर्ने र सरकारमा सहभागी नहुने निर्णय हुने उनको जिकिर छ।
‘सरकारमा जानु पर्छ भन्ने बहस भएर केही फरक पर्दैन,’ शाही भन्छन्, ‘निर्णय गर्दा सरकारमा नजाने निर्णय हुन्छ।’
२०७४ को निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको राप्रपाले यसपालि ७ सिट जितेको छ। उसले समानुपातिकतर्फ पाएको ५ लाख ८८ हजार ८ सय ४९ मतबाट थप ७ सिट जोडेर कुल सिट संख्या १४ पुर्याएको छ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३, महामन्त्री धवलशमशेर जबरा बाँके–२, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही जुम्ला, विक्रम पाण्डे चितवन–३, दीपकबहादुर सिंह मकवानपुर–१ र धु्रवबहादुर प्रधान नवलपरासी–२ बाट प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित भएका छन्।
प्रतिक्रिया