निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले सोमबार कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय अवलोकन गरेका छन्। यसैक्रममा उनले त्रिविका प्राज्ञिक व्यक्तित्वसँग छलफल पनि गरेका छन्।
सभामुख भएकै बेलामा संसद सचिवालयको लाइव्रेरीलाई डिजिटलाइज्ड गराएका सापकोटा सोमबार कीर्तिपुर पुगेर त्यहाँ रहेका पुस्तक अवलोकन गर्नुका साथै कितावहरुको अवस्थाको बारेमा जानकारी लिएको त्रिविका एक कर्मचारीले नेपालखबरलाई जानकारी दिए।
त्रिविभित्र पुस्तकालयका समस्याबारेमा त्यहाँका प्रमुख लगायतले सापकोटालाई ब्रिफिङ गरेका थिए।
पौने २ बजे पुस्तकालय पुगेका सापकोटाले त्रिविका प्रमुख लगायतसँग अन्तरक्रिया गरेका थिए। उनी ३ घण्टा परिसरमै बिताएका थिए।
‘सभामुख अग्नि सापकोटाले आज सेन्ट्रल लाइव्रेरीको भिजिट गर्नुभएको छ, उहाँले यहाँका प्रमुख लगायतका अधिकारीसँग पुस्तकालयको अवस्था, किताबहरुको अवस्थाबारेमा जानकारी लिनुभयो,’ ती कर्मचारीले नेपालखबरसँग भने, ‘विद्यार्थी नेताहरुसँग पनि त्रिवि लाइव्रेरीलाई अझै विकसित र आधुनिक बनाउनेबारेमा छलफल गर्नुभयो।’

सापकोटासँग त्रिवि प्रमुख लगायतका पदाधिकारीले विद्युतीय अभिलेखलाई नागरिकको पहुँचसम्म पुर्याउनुपर्ने बताएका थिए। त्यसमा आफ्नो पूर्ण सहयोग रहने सापकोटाले प्रतिवद्धता जनाएका छन्।
‘विद्युतीय अभिलेखलाई नागरिकको पहुँचसम्म पुर्याउन म सक्दो पहल गर्छु,’ सापकोटाको भनाई उधृत गर्दै ती कर्मचारीले भने, ‘उहाँले यहाँका सबै विभागका पुस्तक, हस्तलिखितदेखि आधुनिक सम्मका प्रविधि प्रयोग गरेर छापिएका किताबहरु पनि अवलोकन गर्नुभयो।’
लाइव्रेरी अवलोकनका क्रममा उनले आफूलाई शिक्षण गर्दा खेरीको अनुभूति भएको स्मरण गरेको बताएका थिए।
‘निकै स्तरीय प्राज्ञिक छलफल भयो,’ उनले भने, ‘मलाई विगतमा आफूले स्कूल पढाउँदा, हेडमास्टर भएर लाइव्रेरीको कन्सेप्ट अगाडि बढाउँदाको अनुभूति र स्मरण भयो, माओवादी पार्टीमा शैक्षिक विभाग प्रमुख, शिक्षक संगठनका महसचिव र माओवादी प्रवक्ता रहेर काम गर्दाताकाको सम्झना आयो।’
नेपालमा ४ मंसिरमा चुनाव भएर नयाँ सांसद आइसकेका छन्। नयाँ सरकार चयन प्रक्रिया अघि बढेकै बेलामा सापकोटाले अर्थपूर्ण त्रिविको पुस्तकालयको भ्रमण गरेका छन्।


Shares

प्रतिक्रिया