राजनीति


प्रचण्डको निष्कर्ष : मंसिर ४ को निर्वाचनमा विदेशी हावी हुँदा माओवादीले धक्का खायो

प्रचण्डको निष्कर्ष : मंसिर ४ को निर्वाचनमा विदेशी हावी हुँदा माओवादीले धक्का खायो

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०७९ आइतबार १७:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचन विदेशी शक्तिले गराएको आरोप लगाएका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधनका क्रममा प्रचण्डले यसो भनेका हुन्। 


'योभन्दा अगाडिका निर्वाचनमा माओवादीलाई कति भोट आए म केही भन्दिनँ। त्यो नेपालीहरुले नै गरेको चुनाव थियो, अहिलेको निर्वाचन त्यस्तो देखिएन र रहेन', उनले भने, 'कुरो धेरै नै गम्भीर छ। यो अलिक अर्कै कुरा हो। हामीले संविधान बनाएको हो, घोषणा पनि हामीले नै गरेको हो। संविधानपछि निर्वाचन हामीले नै घोषणा गरेको हो। अहिले त्यस्तो छैन। अलिक गम्भीर नै छ।'

उनले यो निर्वाचन परिणामलाई लिएर आत्मसमीक्षा नगरे गम्भीर भूल हुने पनि बताए। 'यो पटक गम्भीर आत्मसमीक्षा गरेनौँ  र अन्तर्राष्ट्रिय फेनामेना जो देखिएको छ, त्यसलाई राम्रोसँग विश्लेषण गरेर पोलोराइजेसनतर्फ गएको विश्व परिस्थितिलाई नबुझे अझै अफ्ठ्यारो दिन आउन सक्छन्।'

उनले अहिले पनि माओवादीलाई सक्ने खेल भइरहेको बताए। 'अहिले नै फेरि घेराबन्दी गरिँदैछ। हाम्रो पार्टीलाई जनयुद्धका बेलामा घेराबन्दी गरेर सखाप पार्न खोजिएकै हो। शान्ति प्रक्रियामा आएपछि परिस्थिति फेरियो', उनले भने, '२०६४ सालमा अभूतपूर्व जित्दा पनि हाम्रो पार्टी एक रहन सकेन। अहिले हामीले हारेका बेला पनि निराशा र पछुतो छ। ०६४ मा जितेपछि पनि पार्टी त एकढिक्का थिएन। जित्दा पनि हामीले पार्टीलाई एक बनाउन सकेनौँ। त्यत्रो मतलाई बचाउन नसक्ने हामी नै होइन र?'

उनले शान्ति प्रक्रिया प्रक्रियामा आएपछि आफ्नो पार्टी विचार र नेतृत्वालाई विश्वास गर्न छाडेको बताए। 'कार्यकर्ताले पनि एकआपससलाई संरक्षण गर्न छाड्यौँ। हामी आफैंले आफैंलाई प्रहार गर्न थाल्यौँ। अस्वस्थ प्रतिस्पर्धालाई हामीले बढावा दिन थाल्यौँ', उनले भने, 'हाम्रा नेताहरुबीचमै राम्रो एकता छैन। एकले अर्कालाई कहाँनेर कमजोर पार्न सकिन्छ भन्नेमा ध्यान जान थाल्यो। चुनावमा सोचेभन्दा नराम्रो परिणाम किन देखिन थाल्यो? हिजो जनयुद्ध लडेकाहरुले नै एकले अर्कालाई हराउन थाल्दा यस्तो भयो।'

उनले मधेशमा माओवादी नील हुनुको कारण संगठन कमजोर मात्रै नभएको पनि बताए। 'मधेशमा जनमत संगठन र नेताहरु नभएर निल भएको होइन। आन्दोलन गर्ने भन्दा कार्यकर्ता हजारौँ आउँछन्। चुनावमा हुने हो भने एकअर्कालाई हराउन लाग्यौँ', उनले भने, 'अहिले हामीले पराजय भोग्न थालेको ठाउँमा धेरै साथीहरु बिके भन्ने आयो।'

उनले माओवादी नेता कार्यकर्तालाई अन्य दलले किनेको पनि दाबी गरे। 'हाम्रा नेता कार्यकर्तालाई  जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र राप्रपाले किनेको कुरा आयो। हाम्रा नेता बिकेको कुरा आयो', उनले भने, 'हिजो एकअर्काका निम्ति ज्यान दिनेहरु आज आफ्नै साथीलाई हराउन जुट्ने परिस्थिति कसरी बन्न थाल्यो?'

उनले माओवादीका हरेक नेताहरुलाई एउटा न एउटा विदेशी शक्तिले पक्रिएको बताए। 'कोहीलाई अमेरिका, युरोप भारत र चीनले पक्रेको छ', उनले भने, 'अहिले सबैकोबारे थाहा छ। हामी कोही पनि अहिले युनिफाइड रुपले आक्रमक नै छैनौँ। त्यहीकारण हामी पछारियौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad