ad ad

राजनीति


माओवादी नेता भन्छन् : चुनावले फरक ढंगले सोच्न पाठ सिकाएको छ

माओवादी नेता भन्छन् : चुनावले फरक ढंगले सोच्न पाठ सिकाएको छ

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १९:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा चुनावमा सोचेजस्तो परिणाम न आउनुमा धेरै कारणले काम गरेको ठहर गरेको छ। शनिबार बसेको पदाधिकारी बैठकमा बोल्ने नेताहरूले चुनावी परिणाम बिगार्न धेरै फ्याक्टरले काम गरेको बताएको एक नेताले जानकारी दिए।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले बोलेका थिए।

‘केही चुनावी नतिजा स्वाभाविक छैनन्, हामीले कम सिट जित्नुको पछाडि धेरै कारण छन्,’ बैठकपछि एक नेताले नेपालखबरसँग भने, ‘यसले नयाँ र फरक ढंगले सोच्नुपर्ने पाठ सिकाएको छ।’

चुनावी परिणामका विषयमा राम्रोसँग समीक्षा हुन नसकेको र भोलि आइतबार २ बजे विस्तृत छलफल अघि बढ्ने सचिव राम कार्कीले जानकारी दिए।

माओवादीले सरकार निर्माणका विषयमा पनि सबै विकल्प खुला राखेको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए।

‘गठबन्धन छोडेका छैनौँ तर नयाँ सरकार निर्माणका लागि अन्य बाटो बन्द नगर्ने भनेका छौँ,’ महराले नेपालखबरसँग भने, ‘चुनावी परिणामले अन्य बाटो बन्द नगर्न सन्देश दिएको छ। अरु तह र तप्कासँग सरकार गठनबारे कुरा हुन सक्छ।’

भोलि बस्ने बैठकमा यसबारे नेताहरूले धारणा राख्ने उनले बताए । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा माओवादी केन्द्रले अहिलेसम्म जम्मा १७ सिट प्रत्यक्षमा जितेको छ।

समानुपातिकमा समेत माओवादीको कम मत पाएको छ। चुनावमा सोचेजस्तो मत परिणाम नआएपद्धि माओवादीभित्र विषेश महाधिवेशन गर्नुपर्ने आवाज उठ्न थालेको छ। यद्यपि बैठकमा सो विषय प्रवेश भएन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .