राजनीति


ओलीको ‘जबज कार्ड’ असफल, नेकपाभित्रको तरङ्ग पनि शान्त

ओलीको ‘जबज कार्ड’ असफल, नेकपाभित्रको तरङ्ग पनि शान्त

नेपालखबर
असार १०, २०७६ मंगलबार १३:१४,

सत्तारुढ नेकपाका दुई अध्यक्षमध्ये प्रम केपी शर्मा ओली भाषणमा उखानटुक्का प्रयोग गर्न माहिर छन्, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने विम्व प्रयोग गर्न।

युद्धकालमा प्रचण्ड बारम्बार विम्वात्मक रुपमा एउटा कुरा भनिरहन्थे, ‘कुनैपनि घटना–वस्तुलाई कुखुराले जसरी होइन, चीलले जसरी हेर्नुपर्छ।’

यसको मतलव हो, अलिकति पनि उचाई लिएर उड्न नसक्ने र जमिनबाटै सबै कुरा हेर्ने कुखुराले जसरी कुनै घटना–बस्तुलाई हेरेर निष्कर्ष निकाल्ने प्रयास गरियो भने त्यो सही निष्कर्ष निस्कँदैन, चील जसरी आकाशबाट हेरियो भनेमात्र विस्तृत दृष्य देख्न र सही निष्कर्ष निकाल्न निस्कन्छ।

विम्वको जस्तै कुनै समस्या समाधानका लागि उनी कला प्रयोगमा पनि माहिर थिए। संकट सानो छ, तर समाधान कठिन छ भने उनी त्यस्तै ‘कला’ प्रयोग गर्थे। पार्टीभित्र सानो द्वन्द्व देखिँदा भने ‘भारतले वा दरबारले यसरी खेल्न खोजिरहेको छ’ भनिदिन्थे, सानो द्वन्द्वमा रुमल्लिएका नेता–कार्यकर्ताहरु ‘ओ हो, यति ठूलो चुनौति पार्टी सामु रहेछ’ भन्दै मिलिहाल्थे।

जनताको बहुदलीय जनवाद (जबज) ले यसहप्ता नेकपाभित्र सिर्जना गरेको तरङ्ग र त्यसपछिको स्थितिलाई पनि उनले यसैगरी साम्य पार्न खोजेका छन्। मंगलबार गृहजिल्ला चितवनमा उनले ‘आफू र प्रम केपी ओलीबीच कुनै विवाद छैन’ भन्ने सन्देश प्रवाहका लागि प्रम ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच निकै सुमधुर सम्बन्ध रहेको दावी गरे।

‘प्रम ओली, कांग्रेस सभापति देउवा र म एक अर्काबाट फुत्किन सक्ने अवस्थामा छैनौँ’, छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाको चौथो नगरसभा उद्घाटन गर्दै प्रचण्डले भने, ‘हामी तीन जना एक आपसबाट फुत्किनु भनेको अर्को दुर्घटना निम्त्याउनु हो।’

प्रचण्डको यो अभिव्यक्तिका दुई संकेत र उद्देश्य देखिन्छन्। एक, ‘जबज’ सम्बन्धी बहसले सिर्जना गरेको प्रम ओलीसँग विकसित हुन थालेको चिसो सम्बन्धलाई न्यानोमा परिणत गर्ने। दुई, पार्टी एकतापछि कांग्रेसबाट चुनौति झेलिरहेकी मेयर छोरीलाई सजिलो पारिदिने।

दुई बर्षअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनबाट रेणुले मेयरमा विजय हासिल गरेकी थिइन्। गतसाल एमालेसँगको एकता अघिसम्म रेणु र उपमेयर पार्वती शाह लगायत कांग्रेसका जनप्रतिनिधिबीच सुमधुर राजनीतिक सम्बन्ध थियो।

पार्टी एकता भएर ‘नेकपा’ बन्नुअघिसम्म भरतपुरमा एमालेले मेयर दाहाललाई अप्ठेरोमा पार्ने गरेको थियो। प्रतिस्पर्धी एमालेको यस्तो अवरोधमा उपमेयर शाह लगायत कांग्रेसका जनप्रतिनिधिहरुले रेणुलाई दह्रो साथ दिँदै आएका थिए।

तर, जब एमाले र माओवादी केन्द्रबीच एकता भयो, परिस्थिति ठ्याक्कै उल्टो बन्यो। एकता अघिसम्म एमालेले खेलेको भूमिका अब कांग्रेसले खेल्न थाल्यो। उपमेयर शाहले मेयर दाहालका योजनामा अवरोध सिर्जना गर्न थालिन्।

काठमाडौँका नेकपाका मेयर विद्यासुन्दर शाक्य र कांग्रेसबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गीबीच जस्तो तिक्ततापूर्ण र विरोध–प्रतिरोधको सम्बन्ध छ, अहिले करिब त्यस्तै सम्बन्ध भरतपुरमा मेयर दाहाल र उपमेयर शाहबीच छ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने महानगरपालिकाको मेयरमात्र होइन, आफ्नी छोरीपनि भएकाले प्रचण्डले रेणुलाई काम गर्न सहज वातावरण बनाइदिने प्रयास गर्छन्, जुन स्वभाविक पनि हो।

राष्ट्रिय राजनीतिमा ओली, देउवा र आफूबीच एकता रहेको दावी नगरसभाको उद्घाटन कार्यक्रममा उल्लेख गरेर प्रचण्डले भरतपुरमा पनि केन्द्रमा जस्तै एकताको खोजी गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता–कार्यकर्तालाई सन्देश दिएका छन्।

सँगसँगै, ‘जबज’ सम्बन्धी विवादले पार्टीभित्र सिर्जना भएको तरङ शान्त भएको सन्देश पनि उनले भरतपुर पुगेर दिन खोजेका छन्। आफू र ओलीबीच कुनै विवाद नरहेको भन्ने कुरामा स्थानीय कार्यकर्तालाई विश्वास दिलाउन उनले देउवालाई पनि तानेका हुन्।

निश्चय नै, सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच अहिले दुई कुरामा साँच्चिकै मतैक्यता छ। शान्ति प्रक्रियासँग सम्बन्धित विषय टुङ्ग्याउन सत्य निरुपण सम्बन्धी विधेयक र गुठी विधेयकमा कांग्रेसको असहमति भएपनि यसैलाई आधार बनाएर राजावादीहरुको चलखेल बढेकाले उनी (राजावादी) हरुलाई सफल हुन नदिन सचेत हुनुपर्छ भन्नेमा नेकपा–कांग्रेसबीच मतैक्यता छ।

अनि, नेकपा अध्यक्षसमेत रहेका प्रम ओलीको अनिच्छाका कारण अहिलेसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यनीति ‘जबज’ राख्ने कि ‘जनताको जनवाद’ भन्ने मतान्तरपनि अब शान्त हुँदै गएको छ।

गत मंसिरमा नै टुङ्गो लगाएर केन्द्रीय सचिवालयले अध्यक्षद्वयलाई प्रकाशनको जिम्मा दिएको राजनीतिक प्रतिवेदनमा ‘जबज’ कार्यनीति नै उल्लेख गर्नुपर्छ भन्ने ओलीको प्रस्तावपछि नेकपाभित्रको एकता खलबलिन पुगेको थियो।

‘पूर्व एमालेका साथीहरु जबज छाड्नै चाहँदैनन्, अप्ठेरोमा परेँ, त्यसैले राजनीतिक प्रतिवेदनमा जबज नै उल्लेख गरौँ’ भन्ने ओलीको प्रस्ताव थियो। पछिल्लो समय ओलीसँग नजिकिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि यो प्रस्तावका कारण फेरि प्रचण्ड क्याम्पमा फर्कने स्थितिमा पुगेका थिए।

यो प्रकरणमा ओलीले रक्षामन्त्री ईश्वर पोखरेलको मात्र साथ पाए, जसले पार्टी एकतापछि गुमेको शक्ति फेरि हासिल गर्न ‘जबज’ को मुद्दा बेला न कुबेला उठाउने र नेताहरुबीच भाँजो हाल्ने भूमिका खेलेको टिप्पणी नेकपा पंक्तिले गरिरहेको थियो।

‘तर, जबजको प्रस्तावबाट ओली पछि हटिसक्नु भएको छ’, नेकपाका एक शीर्ष नेताले मंगलबार नेपालखबरसँग भने, ‘अझै केही थपघट गर्नुपर्ने भए केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन्छ, तर पूर्व सहमति अनुसार नै जनताको जनवाद उल्लेख गरेर राजनीतिक प्रतिवेदन प्रकाशन गर्नेमा अध्यक्षद्वयबीच फेरि सहमति भइसकेको छ।’

बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका पूर्व एमाले नेताहरु अर्का अध्यक्ष प्रचण्डसँग निकट हुन थालेपछि त्यसको असर आगामी महाधिवेशनमा पर्नसक्ने कुराले भयभित ओलीले त्यो हुन नदिन जबजको कार्ड फालेका थिए।

‘तर, बेला न कुबेला जबजको कार्ड फ्याँकेको प्रति नेपाल–गौतम झन् असन्तुष्ट बने’, नेकपा सचिवालयका अर्का एक सदस्यले भने, ‘यही विवादले ओली प्रधानमन्त्रीबाट तत्काल हट्नुपर्दैनथ्यो होला, तर पार्टीभित्र चाहिँ उनी झन् अप्ठेरोमा पर्दै थिए, त्यसैले पछि हट्नमै ओलीले आफ्नो भलो देखे।’

ओलीबाट एकाएक आएको ‘जबज’ को प्रस्तावबाट प्रचण्ड तरङ्गित त भए। तर उनीपनि यो विवादलाई लब्याउने पक्षमा थिएनन्। ओली आफैले परिस्थिति ‘बुमर्याङ्ग’ हुने देखेर पछि हटेपछि प्रचण्डलाई पनि सहज भयो। र, ‘जबज’ प्रकरणले सिर्जना गरेको तरङ्ग शान्त भएको दावी नेकपाका केही नेताहरूको छ।

कार्यकर्ता तहमा भने आशंका बाँकी नै छ। नेतृत्वले ‘हामी मिलिसक्यौँ’ भन्ने दावी गरेपनि तत्काल पत्याइहाल्ने स्थिति छैन।

‘राजनीतिक सञ्चार–कला’ मा माहिर प्रचण्डले चाहिँ ओली र आफूबीच मात्र होइन, देउवासँगपनि नटुट्ने खालको एकता विकसित भएको सन्देश प्रवाह गरेर कार्यकर्तालाई विश्वासमा लिने प्रयास गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .