पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू संघीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा (एमाले) बाट नेताहरु गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित भएका छन्।
वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत पाए। वरिष्ठ नेता पौडेलले पञ्चायतकालमा ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा बसेर काम गरेका थिए।
त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी भएका छन्। एमालेका अग्निप्रसाद खरेलले २५ हजार तीन सय ४९ मत पाए। महामन्त्री शर्मा ‘ऐना’ कार्यक्रमको प्रस्तोता थिए।
अर्का महामन्त्री थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट २१ हजार तीन सय दुई मत प्राप्त गरी विजयी भएका छन्। एमालेका राजन भट्टराईले भने १३ हजार आठ सय ५५ मत पाएका छन्। थापा इमेज एफएममा कार्यक्रम प्रस्तोता तथा समाचार वाचक थिए।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ३० हजार पाँच सय ७५ मत लिएर विजयी भए। २०४८ सालमा ‘महाकाली’ साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गरेका लेखकले एमालेकी नेत्री निरुदेवी पाललाई १० हजार मतान्तरले हराएका छन्।
स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही–४ बाट २० हजार १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्। गोरखापत्र दैनिकका पूर्वसञ्चालक समिति सदस्य सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गरेका हुन्।
त्यसैगरी एमालेका नेता काभ्रेपलान्चोक–२ बाट गोकुल बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएर विजयी भएका छन्। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाइँले ३९ हजार चार सय ८२ मत ल्याए। नेता बाँस्कोटा ‘सम्बोधन’ साप्ताहिकको सम्पादक थिए।
त्यसैगरी एमालेका सूर्य थापाले प्यूठानबाट ४१ हजार एक सय १८ मतसहित विजयी भए। सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरिन्। थापा ‘बुधबार’ साप्ताहिकको सम्पादक थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चितवन–२ बाट ४९ हजार तीन सय मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका नेता उमेश श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत ल्याए। छामिछानेले न्यूज–२४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्दथे।
त्यसैगरी पत्रकारिता पृष्ठभूमिका रास्वपाका नेत्री सोविता गौतम १५ हजार दुई सय ३८ मतसहित काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भएकी छन्। टेलिभिजन कार्यक्रम प्रस्तोता गौतमले सो क्षेत्रमा ११ हजार पाँच सय ६६ मत ल्याएका एमालेका मणिराम फुयाँललाई पराजित गरेकी हुन्।
Shares

प्रतिक्रिया