ad ad

राजनीति


संसदीय दलमा देउवालाई टक्कर दिने गगनको तयारी, यस्तो छ सम्भावित समीकरण

संसदीय दलमा देउवालाई टक्कर दिने गगनको तयारी, यस्तो छ सम्भावित समीकरण

केशव सावद
मंसिर १४, २०७९ बुधबार १५:४८, काठमाडौँ

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छँदै नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न थालेका छन्। 

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले संसदीय दलको नेता बन्ने कसरत गरिरहेका छन्।

कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ। र, यसपाली कांग्रेस पहिलो दल हुने भएकाले उसको नेतृत्वमा सरकार बन्ने संभावना बलियो छ।  

संसदीय दलको नेतामा खासगरी सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। उनीहरु दुवैले आआफ्नो तयारी अगाडि बढाएका छन्।

दुवैले हालसम्म निर्वाचित भइसकेका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिने बहानामा पार्टीका प्रत्यक्षतर्फबाट निर्वाचित सांसदहरुसँग संवाद अघि बढाएका छन्। उनीहरु समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्ने सम्भावना रहेका नेताहरुसँग पनि संवादमा छन्। 

महामन्त्री थापाले सार्वजनिक रुपमै अब प्रधानमन्त्री बन्नबाट आफूलाई कसैले रोक्न नसक्ने अभिव्यक्ति दिइसकेका छन्। पार्टीप्रति जनताको आशा जगाइराख्न पनि पुस्तान्तरण हुनुपर्ने उनको तर्क छ।

१४ औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता डा. शेखर कोइरालाले भने दलको नेता र आगामी प्रधानमन्त्रीका बारेमा मुख खोलेका छैनन्। उनले गृहजिल्लाबाट काठमाडौं फर्किएर सभापति देउवासहितका नेताहरुसँग छलफल गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। निर्वाचनको मतपरिणाम आउन बाँकी रहेको अवस्थामा दलको नेता र आगामी प्रधानमन्त्रीका बारेमा धारणा सार्वजनिक गर्दा हतार हुने मनस्थिति कोइरालाको छ। 

‘कतिपय स्थानको मत गणना रोकिएको छ। कतिपय स्थानको गणना जारी छ। समानुपातिकको रिजल्ट पनि आएको छैन। हामी आफ्नो क्षेत्रमा मतदातालाई धन्यवाद ज्ञापन गरिरहेका छौं,’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले नेपालखबरसँग भने, ‘काठमाडौं फर्किएर सभापतिसहित नेताहरुसँग सल्लाह गर्नुहुन्छ। त्यसपछि मात्रै धारणा सार्वजनिक गर्नुहुन्छ।’

निर्वाचन आयोगले गरेको औपचारिक घोषणाअनुसार कांग्रेसले बुधबारसम्म ५४ प्रतिनिधि सभा क्षेत्रमा जित निकालिसकेको छ। 

संस्थापन पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरु 
बुधबारसम्म प्रत्यक्ष निर्वाचन जितेका ५४ मध्ये ३६ जना संस्थापन पक्षीय सांसद हुन्। जसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, डा. नारायण खड्का र मोहनबहादुर बस्नेत छन्।

त्यस्तै, यो समूहमा किशोरसिंह राठौर, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, सीता गुरुङ, दिपक खड्का, अजयकुमार चौरसिया, रमेश रिजाल, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, मोहन आचार्य, पूर्णबहादुर तामाङ, उदयशमशेर जबरा, विष्णुकुमार कार्की, टेकबहादुर गुरुङ, खमबहादुर गर्बुजा, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र देवप्रसाद तिमल्सिना छन्।

सुनसरी–४ मा मतगणना जारी छ। यहाँ सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ। उनी कांग्रेस संस्थापन पक्षीय नेता हुन्। 

इतर समूहबाट प्रत्यक्षतर्फ निर्वाचित सांसदहरु
इतर समूहबाट १८ जना सांसद निर्वाचित भइसकेका छन्। जसमा डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, योगेश गौचन थकाली, राजु थापा, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सञ्जयकुमार गौतम, दिक्पालकुमार शाही, हृदयराम थानी छन्।

निर्वाचन सम्पन्न भएर पनि दलहरुबीच सहमति जुट्न नसक्दा बाजुरा र स्याङ्जा २ मा मत गणना कार्य सुरु हुन सकेको छैन। यी दुवै जिल्लाका उम्मेदवार कांग्रेसको संस्थापन इतर समूहका हुन्।

आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने तयारी गरिरहेको छ। यहाँ प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छन्।    

कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु
कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा ३२ प्रतिनिधि सभा सदस्य पाउने झण्डै पक्कापक्की जस्तै भएको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सिट छ।  प्रतिनिधि सभाका ११० सिटमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिने व्यवस्था छ। 

जसअनुसार प्रतिनिधि सभामा २८.७० प्रतिशत आदिवासी जनजाति, ३१.२० प्रतिशत खस आर्य, ६.६० प्रतिशत थारु, १३.८० प्रतिशत दलित, १५.३० प्रतिशत मधेसी र ४.४० प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ। यसरी प्रतिनिधित्व गराउँदा महिलाको संख्या ३३ प्रतिशत पुर्याउनै पर्ने संवैधानिक व्यवस्था छ। 

महिलाको ३३ प्रतिशत सहभागिता पुर्याउनै पर्ने बाध्यात्मक अवस्था भएका कारण समानुपातिकतर्फ कांग्रेसका पुरुष उम्मेदवारहरुको संख्या थोरै हुने देखिन्छ। संवैधानिक व्यवस्थाअनुसार महिला सहभागिता पुर्याउँदा समानुपातिकतर्फ कांग्रेसका बढीमा ४ जना पुरुष मात्रै सांसद बन्ने सम्भावना प्रबल देखिन्छ। 

त्यसैले समानुपातिकबाट सांसद बन्ने सम्भावना देखिएकाहरु यसप्रकार छन्ः

सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, विनाकुमारी थनेत, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, नीनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र जीवन परियार।   

समानुपातिक प्रणालीतर्फ संसाद बन्ने सम्भावना रहेका ३२ जनामध्ये २२ जना संस्थापन पक्षीय र ८ जना संस्थापन इतर पक्षीय समेटिने कांग्रेसका नेताहरुको भनाइ छ। निर्वाचनको जिम्मेवारी सम्हालिरहेका एक नेताले महिलाको संख्या पुर्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण विभिन्न क्लस्टरबाट १ नम्बरमा सिफारिस भएका पुरुषहरु समेत नपर्ने अवस्था रहेको बताए। 

‘प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार जित्नुभयो। अब महिला सहभागिता पुर्याउन समाुनपातिकबाट बढीभन्दा बढी महिला पठाउनै पर्ने हुन्छ,’ ती नेताले भने, ‘यस्तो अवस्थामा १ नम्बरमा सिफारिस भएका पुरुषहरुको सम्भावना एकदमै थोरै छ।’

संस्थापन समूहका सम्भावित समानुपातिक सांसदहरु 
सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, शान्ति विक, रुपा विक, आशा विक, विष्णुमाया परियार, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि।

इतर समूहका सम्भावित समानुपातिक सांसदहरु 
सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्तकुमारी यादव, विनाकुमारी थनेत, कुसुम थापामगर र जीवन परियार।   

कांग्रेसको १४ औं महाधिवेशनमा देखिएको समूहगत प्रतिस्पर्धा र अहिले दुवै पक्षतिर खुलेका आधारमा विजेता र समानुपातिकतर्फका सम्भावित सांसदहरुको समूह छुट्याउँदा संस्थापन पक्षमा ५८ र इतर पक्षमा २६ सांसद हुने देखिन्छ। प्रत्यक्षतर्फको पूर्ण परिणाम आएर समानुपातिक सिट संख्या पनि छुट्ट्याउँदा यो संख्यामा केही सिट तलमाथि हुन सक्नेछ। 

संसदीय दलको नेताका लागि यदि निर्वाचन हुने हो भने सभापति देउवाको तुलनामा महामन्त्री थापा कमजोर देखिन्छन्।

तर, एक वर्षअघि सम्पन्न महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई सघाएका महामन्त्री विश्वप्रकाश शर्मा नै संसदीय दलका आकांक्षी अर्का महामन्त्री गगन थापाको पक्षमा खुलेका छन्। उनले थापालाई प्रधानमन्त्रीमा आफैँले प्रस्ताव गर्ने बताएका छन्। महामन्त्री शर्माझैँ अन्य सांसदहरु पनि थापाका पक्षमा खुले संस्थापन इतर समूहका सांसदहरुको संख्या बढ्ने देखिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .