ad ad

राजनीति


गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान सुरु गर्छु : विश्वप्रकाश

गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान सुरु गर्छु : विश्वप्रकाश

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २०:५८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन्।

मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन्। झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए। उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए। 

उनले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए। 

उनले भने, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ। कहीँ मानिसहरुको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ। र एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ। त्यसकारण अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन। सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक। मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो। अब देशको आवाज के हो? देशको आवश्यकता के हो? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडि बढ्नुस् भन्नका लागि म आएको हो। त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरु गर्नलाई पनि म आएको हो।’

उनले पाका नेताहरुलाई सम्मान गर्दै र उनीहरुको विश्वास लिएर युवाले देशको नेतृत्व गर्ने पनि बताए। 

‘सबै नेतृत्व पंक्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणीय हुनुहुन्छ। सबै पाका नेताहरु जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ। लोकतन्त्रका लागि योगदान गर्नुभएको छ’ उनले भने, ‘उहाँहरु सबैलाई सम्मान गर्दै, उहाँहरु सबैको विश्वास लिएर, उहाँहरु सबैको समर्थन लिएर, उहाँहरु कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महशुस नगराइकन उहाँहरुले हाँकेर आएको देश र उहाँहरुले हाँकेर आएको कांग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौँ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडि बढाउने बताए। 

उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए। शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रश्तावक बनेर भएपनि अगाडि बढाउने उनको भनाई छ। 

शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए। महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना दिएका थिए। थापाको बुबाआमाले पनि शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .