गाउँमा माध्यमिक विद्यालय नभएको र जेल परेको कारण औपचारिक शिक्षा समयमै सक्न नसकेका नेकपाका स्थायी समितिका सदस्य वेदुराम भुसालले विद्यावारिधि (पीएचडी) गरेको एक वर्ष भयो।
बिहीबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४५ औं दीक्षान्त समारोहमा उनी दीक्षित समेत भएका छन्।
२०३० सालमा अर्घाखाँचीको बर्रे काण्डमा पक्राउ पर्दा हालको नेकपाका स्थायी समितिमा सदस्य रहेका भुसाल आठ कक्षामा पढ्दै थिए। विद्यालय तहमै भूमिगत राजनीतिमा लागेका कारण उनलाई पञ्चायत सरकारले पक्राउ गरी लामो समयसम्म हिरासतमा राखेको थियो।
‘जेल परेको ६ वर्षसम्म कुनै अध्ययन गर्न पाइएन’, १३ वर्षसम्म जेल जीवन बिताएका भुसालले नेपालखबरसँग भने, ‘आधारभूत शिक्षा जेलभित्रै लिएँ। त्यसपछि एमएसम्मको अध्ययन भूमिगत राजनीतिमै हुँदा एमए गरेँ।’
बर्रे काण्डको दोषी भन्दै पञ्चायती व्यवस्थाको अदातलले उनलाई दस वर्षको जेल सजाय तोकेको थियो। ‘तोकिएको सजाय भुक्तानी गरिसकेपछि पनि उनलाई तत्कालीन प्रशासनले छाडेन्। ‘तोकिएको सजायको समय सकिएपछि पनि थप साढे दुई वर्ष शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमै राख्यो,’ भुसालले भने।
जेल परेको १३ वर्षमा उनले स्वअध्ययनबाटै एमए सम्मको यात्रा तय गरे। एमए पहिलो वर्षको जाँच दिँदै गर्दा जेलबाट छुटेका उनको चाहना भने विद्यावारिधि गर्ने थियो। त्यो चाहना पनि उनले पूरा गरेरै छाडे।
एमए सकेपछि उनी गृहजिल्ला अर्घाखाँचीमै सक्रिय राजनीतिमा लागे। तत्कालीन एमालेभित्र वौद्धिक नेताको छवि बनाएका उनी सिद्धान्तमा राम्रो दख्खल राख्ने वामपन्थी नेता मानिन्छन्। एमालेको स्कुल विभागको प्रमुख भएपछि उनी अर्घाखाँचीबाट काठमाडौँ आए। पार्टीको स्कुल विभागसँगै आफ्नो विद्यावारिधिको यात्रालाई सँगै आगाडि बढाएको उनको भनाइ छ। ‘एमालेको स्कुल विभागमा प्रमुख भएपछि फेरि राजनीति गर्न काठमाडौं आए। त्यसपछि अध्ययनलाई निरन्तरता दिए। पीएचडी गर्ने पहिलो देखिको चाहाना रहेको थियो’, उनले भने, ‘पार्टीको कामसँग अध्ययनको कामलाई पनि अगाडि बढाए र आफ्नो चाहना पूरा गरेँ।’
भुसालले ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम र नेपाल’ विषयमा विद्यावारिधि गरेका हुन्। जसमा संसारमा माक्र्सवादीका उदय र प्रयोग, नेपालमा माक्र्सवाद र त्यसका विकासक्रम र बहुदलीय जनवादको ऐतिहासिक पृष्ठभूमिसहितका विषयमा रहेको छ। ‘भर्ना भएको चार वर्षभित्र विद्यावारिधि पूरा गरे,’ उनले भने।
कांग्रेस नेता भण्डारीलाई पनि विद्यावारिधि उपाधि
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विद्यावारिधि गरेका छन्। ५८ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट ‘राष्ट्र, राज्य निर्माणमा विश्वव्यापीकरणको भूमिका’ विषयमा विद्यावारिधि गरेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी
‘पहिलो संविधानसभाको चुनावमा समयमा गाउँ जाँदा कुनै स्थानमा जनता निकै खुशी र कुनै स्थानमा निकै निरास भएको पाए। त्यसको कारण के होला भन्ने विषयमा अध्ययनका लागि विद्यावारिधिमा भर्ना भएको हो,’ भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशी नियोगहरुले नेपाल राष्ट्र निर्माणमा कस्तो प्रभाव पारेका छन् भन्ने विषयमा अध्ययन गरेको हुँ।’
भण्डारीले वित्तीय संस्था तथा कुटनीतिक नियोगहरुको पारेको प्रभावको बारेमा अध्ययन गरेको बताए।
२०३३ सालमा गुल्मीको हुँगास्थित जनजागृति मावीबाट एसएलसी गरेको भण्डारीले पाल्पाको तानसेना बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयलाई लिएर उच्च शिक्षा अगाडि बढाएका हुन्।
‘राजनीति र अध्ययनसँगै लगेको थिए। थप अध्ययनका लागि २०४२ सालमा काठमाडौं आए। त्यसपछि केन्द्रीय क्याम्पसमा भर्ना भएर अध्ययन पूरा गरे। समाजशास्त्र पनि अध्ययन गरे,’ भण्डारीले नेपालखबरसँग भने, ‘मैले तराई, पहाड र हिमाली लगायतका पाँच क्षेत्रमा अध्ययन गरेको छु।’
प्रतिक्रिया