काठमाडौं–१ मा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा देखिएको छ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच कडा प्रतिष्पर्धा देखिएको हो।
आयोगले वेभसाइटमा इन्ट्री गरेको परिणामअनुसार दुई जनाबीच मात्र २३ मतको फरक देखिएको छ। राप्रपा उम्मेदवार मिश्रले ३ हजार ८७३ र कांग्रेस उम्मेदवार सिंहले ३ हजार ८५० मत पाएका छन्।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बलमे २ हजार ३०३ र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले २ हजार २३२ मत प्राप्त गरेका छन्।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार मिश्रलाई हराएका थिए।
मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो।
उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।
Shares
प्रतिक्रिया