राजनीति


यसरी प्रयोग गर्दैछन् उम्मेदवारहरू ४८ घण्टाको निर्णायक ‘मौन’ अवधि

दक्षिण एसियाली देशमा निर्वाचनअघि किन राखिन्छ स्थिर समय?
यसरी प्रयोग गर्दैछन् उम्मेदवारहरू ४८ घण्टाको निर्णायक ‘मौन’ अवधि

सागर न्यौपाने
मंसिर ३ , काठमाडौँ

निर्वाचन आयोगले तोकेको स्थिर समय भएकोले शुक्रबार बिहानदेखि बेलुकासम्म चुनावी चहलपहल देखिएन। प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई ४८ घण्टासम्म कतै जान, भाषण गर्न, मतमाग्न निषेध भएकोले पनि उम्मेदवार र राजनीतिक दलको गतिविधि शून्य भएको हो।

त्यही भएर पनि सडक, बजार मात्र होइन, सामाजिक सञ्जालसमेत ‘मौन’ जस्तै देखिन्छ। आयोगले आचारसंहिता उल्लंघन गरेर मत मागे २५ हजारसम्म जरिवाना गर्नेदेखि उम्मेदवारलाई कडा कानुनी कारबाही गर्ने जनाएको छ। 

तर, जनताको घरदैलोमा पुगेर मत माग्न नपाउने दलहरु यतिबेला पनि चुपचाप बसेका भने छैनन्। बरु नयाँनयाँ तरिकाले मत माग्न र मतदातालाई प्रभावित पार्न उनीहरु सक्रिय छन्।

निर्वाचनबारे अध्ययन गरिरहेका, पर्यवेक्षण गरेका केही व्यक्तिसँग मौन अवधिमा दलहरुले के गर्छन् भन्नेबारे सोधीखोजी गरेका छौँ।

अन्तिम रणनीति बनाउने
यो अवधिमा उम्मेदवार मात्र होइन, सम्बन्धित दल समेत चुप बस्दैनन्। उनीहरु आफ्नो उम्मेदवार र पार्टीलाई जिताउने अन्तिम रणनीति लागू गर्न व्यस्त छन्।

राजनीतिशास्त्रका प्राध्यापक डा. कपिल श्रेष्ठ निर्वाचन हुनुभन्दा ४८ घण्टाको अवधिलाई ‘ह्विस्परिङ क्याम्पेन’ (कानेखुसी प्रचार–प्रसार) को नाम दिन्छन्। उनको विश्लेषण छ– यही ४८ घण्टाको कानेखुसी प्रचार–प्रसारमार्फत् दलहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्न जोड गर्नेछन्। 

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि मतदान गर्नुअघिको दुई दिनको समय निर्णायक हुने बताउँछन्।

‘उम्मेदवार र दलहरुले चुनावी रणनीति बनाउने समय यही हो, कतिपय नतिजा नै उल्टाउन सक्ने भूमिका यो अवधिमा हुन्छ,’ उनले भने, ‘कुनै पक्षको माहोल बिगार्ने यही समय हो।’

मतदाता भेट्ने, कन्भिन्स गर्ने
दलहरुले चुनावका लागि उम्मेदवारी मनोनयन गरेपछि घरदैलो र प्रचार अभियान थालेका हुन्छन्। कम्तीमा एक महिना उनीहरु मतदाताको घरघर, चोकचोक पुगेर भेट गरिसकेका हुन्छन्।

तर, त्यसबेला भेटेका मतदातालाई आफ्नै पक्षमा मत दिन लगाउने काम यही ४८ घण्टाको स्थिर अवधिमा हुन्छ।

क्लब, गुठी, समूहमा रहेका मतदाता भेट्ने, कुरा सुन्ने र काम गर्ने प्रतिबद्धता समेत जनाउने निर्वाचन पर्यवेक्षण गरिरहेकाहरुको निष्कर्ष छ। 

डा. श्रेष्ठले पनि यो ४८ घण्टाको समयमा कसैलाई धम्क्याउने, फकाउने र प्रलोभन दिनेजस्ता क्रियाकलापसमेत हुने बताए।

फोन, एसएमएसमार्फत मत माग्ने
यही अवधिलाई ध्यान दिएर उम्मेदवारहरुले मतदातालाई फोन र एसएमएस पनि गर्ने गरेका छन्।

उम्मेदवार आफैँले फोन गरेपछि मतदातालाई प्रभावित गर्न सकिने उनीहरुको बुझाइ छ। अधिकांशले फोनबाट मत माग्ने गरेका छन्। यस्ता कुरा गर्न आचारसंहिताले दिँदैन।

‘गैरकानुनी रुपमा पैसा बाँड्ने काम यही अवधिमा भएका थुप्रै घटना सुनिन्छिन्,’ एक पूर्व निर्वाचन आयुक्तले नेपालखबरसँग भने, ‘यसलाई रोक्न चुनौती छ, यी गतिविधि निगरानी गर्ने संयन्त्र पनि बलियो छैन।’

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को धारा २४(५)ले कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिबाट मतगणनाको काम पुरा नभएसम्म कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्ने वा गराउनेलाई २५ हजार रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

ती आयुक्तले थपे, ‘चुनावको अघिल्ला दुई दिन बढी जोखिम छन् र महत्वपूर्ण पनि छन्, घरघर नै गएर पैसा बाँड्नेलाई रोक्नुपर्यो। भोज, पार्टी लगायतका गतिविधि हुने समय यही हो।’ 

उम्मेदवारको एजेन्ट खटाउने
इन्सेकको निर्वाचन पर्यवेक्षण फोकल पर्सन रमेशप्रसाद तिमल्सिना स्थिर समयमा उम्मेदवारहरुले गुपचुप मत माग्ने बताउँछन्। उनका अनुसार उम्मेदवारले भित्रभित्र मत माग्छन्, सँगसँगै दलहरुले मतदानको दिन विभिन्न मतदान केन्द्र र स्थलमा राख्ने प्रतिनिधि नेता छनोट गर्छन्।

‘जसले मतदानकै बेलामा समेत मतदाताको मनस्थिति बदल्न सक्ने क्षमता राख्छ, त्यस्तै व्यक्तिलाई यस्तो काममा खटाइन्छ,’ उनले भने। 

‘मतगणनाका लागि उम्मेदवारले बढीभन्दा बढी आफ्ना पक्षका मानिस पार्न डमी उम्मेदवार उठाएका हुन्छन्,’ तिमल्सिनाले भने, ‘त्यस्ता उम्मेदवारलाई स्वतन्त्र भनिएको हुन्छ। दलले कारबाही नगरी राख्ने ती उम्मेदवारले आफ्ना पक्षमा मत दिने मतदाता ओसारपसार गर्न गाडीको प्रयोग गर्छन्। उम्मेदवारले चुनावको दिन पनि निर्बाध गाडी चलाउन पाउँछन्।’ 

यस्तै मतपेटिकालाई सुरक्षित मतगणनास्थलसम्म ल्याउँदा त्यसको रिपोर्ट उम्मेदवारलाई दिने बुथ प्रतिनिधि पनि यही स्थिर समयमा चयन गर्ने अभ्यास छ।

मतगणनामा बस्दा उम्मेदवारहरुको आफ्नै एजेन्ट हुने र उसले सदर र बदर मतबारे निर्णय गर्न उम्मेदवारसँग समन्वय गर्ने काम गर्छ।

उम्मेदवारहरुले उम्मेदवारी दिँदै गर्दा केही व्यक्तिहरुलाई स्वतन्त्रका रुपमा उम्मेदवारी दिएका हुन्छन्। 

मतगणनामा सबैभन्दा ठूलो भूमिका एजेन्टको हुन्छ। सदर मत र बदर मतबारे विवाद सिर्जना गरिदिनसक्ने भएकोले उम्मेदवारले अनुभवी व्यक्तिलाई एजेन्ट राख्ने गर्दछन्। 

नयाँ शैली– जन्मदिन मनाउने
निर्वाचन आयोगले चुनाव आचार संहितालाई कडाइ गर्दै लगेपछि उम्मेदवारले पनि नयाँ शैली अपनाउन थालेका छन्।

मतदातालाई आर्थिक सहायता दिनेगरी जन्मदिनको भोज लगाउने समेत गर्न थालिएको तिमल्सिना बताउँछन्।

‘पछिल्लो दिन मौन अवधिमा बर्थ डे मनाएर उपहार दिन थालिएको छ, त्यहीँ भोज गर्ने, नाचगान गर्ने र मतदातालाई प्रभावित पार्ने गर्दा रहेछन्,’ उनले भने।

किन राखिन्छ स्थिर समय? 
दक्षिण एसियाका देशहरुमा निर्वाचन हुनुपूर्वको ४८ घण्टाको अवधिलाई मौन अवधि (नेपालमा स्थिर भन्न थालिएको छ) भन्ने गरिन्छ। निर्वाचन प्रचार–प्रसारको क्रममा धपेडीमा परेका मतदातालाई सामान्य अवस्थामा ल्याउन यो समय दिइएको हो।

अर्काे कारण भनेको चुनावको दिन उत्पन्न हुने तनाव र द्वन्द्व कम होस्, चुनावको समय दलहरुले मतदातालाई तानातान गरेर नसताउन् भनेर मतदान हुन ४८ घण्टे अगाडिको समय स्थिर रुपमा राखिएको हो। 

अर्थात् २ दिन आराम गर्ने अवधि दिएर मतदातालाई शान्त अर्थात् ‘कुलिङ पिरियड’ दिइएको हो।
 

मंसिर २, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad