निर्वाचन भन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।
शुक्रवार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचनपूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो। समितिले निर्वाचनपूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ।
निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ।
समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली,उम्मेद्वार दर्ता, निर्वाचन आचारसंहीता पालना, सुरक्षा प्रवन्ध,मतपत्र,मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको छ।
निर्वाचन पूर्वपर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताइन्।
उनले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरु टाँस्ने तथा प्रचारप्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताए। उनले आफूलाई एक जना भन्दा बढी उम्मेद्वारले भोट नमागेको बताइन्।
कार्कीले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा उम्मेद्वार र पार्टीहरु सजक देखिएको बताइन्। उनले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा आयोग कडा रुपमा प्रस्तुत भएको बताइन्।
कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको भन्दै निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताइन्। उनले पैसाको चलखेल हुने भनिएपनि अहिले देखिने गरी कतै पनि त्यस्तो नदेखिएको बताइन्।
उनले भनिन्, ‘अहिलेको निर्वाचन भइरहेको छ वा छैन भन्ने अनुभव भइरहेको छ। आफूलाई भोट माग्न आउने उम्मेद्वारहरु मध्ये एक जना उम्मेद्वार मात्रै भोट माग्न आउनु भयो। अरु कोही आउनु भएन। शान्त छ। नेपालमा यो विषयमा प्रगति भएको हो की भन्ने लाग्छ। निर्वाचनपछि कस्तो वातावरण बन्लापछिको कुरा हो। यो पटक निर्वाचन आयोगले कडा व्यवहार गर्नुपर्ने स्थानमा सबै काम गरेको छ। कडा व्यवहार गर्दा गुनासाहरु देखिन्छन्। स्थानीय निर्वाचनमा नेपाली जनता अनुशासित लाग्यो। यो निर्वाचनमा प्रजातन्त्रको बाटो पैल्याएको हो की देखिन्छ। किन भने अहिले पैसाको चलखेल भन्ने कुरा बाहिर देखिएको छैन। अहिले अनुगमनमा जाँदा कतै प्रचारप्रसारका सामग्री नै देखिएका छैनन्। त्यसले गर्दा निर्वाचन लागेको जस्तो पनि देखिएको छैन। प्रचारप्रसार कतै छैन।’
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए। उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताए।
उनले राजनीतिक पार्टीका उम्मेद्वारहरुले निर्वाचन आंचारसंहीता अनुसार मौन अवधिको राम्रो रुपमा परिपालना गरेको देखिएको बताए। श्रेष्ठले मौन समय भनेको मतदाताहरु निर्वाचनका न्यायाधीशहरु भएकाले आफूले पाएको सूचनाहरुको आधारमा आफ्नो विवेक प्रयोग गर्नलाई सोच्ने समय भएको बताए।
उनले मौन समय अविचलित, अप्रभावित र हस्तक्षेपरहीत समय भएको बताए। उनले विगतको तथा स्थानीय तहको निर्वाचन भन्दा निर्वाचन प्रणाली विकसित र व्यवस्थित हुँदै गएको पाएको पनि बताए। उनले निर्वाचन आयोगको निरन्तर प्रयासले निर्वाचन बढी खर्चिलो हुन नपाएको बताए।
त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताए। उनले निर्वाचन व्यवस्थापनमा सुधार, राजनीतिक दलहरुले आचारसंहीताको बाटोमा हिँडेको र कर्मचारीहरुमा जागरुकता आएको बताए। उनले विकसित मुलुकको जस्तो निर्वाचन प्रणाली होस् भन्ने सबैको अपेक्षा रहेको बताए।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचन आचारसंहीता पालना गर्ने विषयमा हालसम्म कतै समस्या नआएको बताए। उनले समय अनुसार नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको भन्दै निर्वाचनसम्बन्धी अफवाह फैलाउनसक्ने सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया