ad ad

राजनीति


मतदाता परिचयपत्र हरायो? यसरी गर्नुस् मतदान

मतदाता परिचयपत्र हरायो? यसरी गर्नुस् मतदान

फाइल।


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ७:४१, काठमाडौँ

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २ दिन मात्र बाँकी छ। बिहीबार राति १२ बजेबाट ‘स्थिर समय’ अर्थात् मौन अवधि सुरू भइसकेको छ। 

देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि निर्वाचन आयोगले लगभग तयारी पूरा गरेको जनाएको छ। निर्वाचन आयोगका अनुसार एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दैछन्।

यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने आयोगको तथ्याकंमा उल्लेख गरिएको छ।

यी मतदाताहरूले आफूले प्रयोग गर्ने मतदाता परिचयपत्र वितरणका लागि ४८ घन्टा नै मतदान अधिकृतहरुलाई मतदान केन्द्रहरूमा पठाइन्छ। आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आआफ्नो परिचयपत्र लिन पाउँछन्।

परिचयपत्र नभए के हुन्छ?
मतदानका लागि निर्वाचन आयोगले देशैभरि १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र तोकिसकेको छ। मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ।

तर, मतदाता परिचयपत्र हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी चिन्ता व्यक्त गर्दै आएका छन्। आयोगको कल सेन्टरमा पनि यसबारे व्यापक जिज्ञासा आउने गरेको आयोगका अधिकारीहरुले बताउने गरेका छन्। 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ। 

आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .