प्रतिनिधि सभाका १६५ मध्ये ११२ सिट सजिलै जित्ने आकलन सत्तारुढ पाँच दलीय गठबन्धनले गरेको छ। सो गठबन्धनविरुद्ध राप्रपा र जसपासँग गठबन्धन बनाएर मैदानमा उत्रिएको छ एमाले। एमाले एक्लैले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ।
उसोभए एमालेले कति सिट जित्ला त?
एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी मान्ने हो भने एमाले सबैभन्दा धेरै सिट जित्दै पहिलो पार्टी हुनेछ। एमालेले प्रत्यक्षतर्फ सजिलै १ सय सिट कटाउने उनको भनाइ छ।
‘हामी १५० सिट ल्याउने उदेश्यका साथ अगाडि बढेका छौँ, बहुमत ल्याउँछौँ,’ ओलीले चुनावी सभा र अन्तर्वार्ताहरूमा भन्दै आएका छन्, ‘२७५ मध्ये १५० सिट हामीले ल्याउँदा १ सय २५ सिट त अरूलाई बाँकी नै छ नि।’
झापास्थित आफ्नै निवासमा बिहीबार नेपालखबरसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले कांग्रेसले यो चुनावमा डबल सिट अर्थात् ४६ सिट ल्याउने पनि बताए।
उनले माओवादी केन्द्र ७ सिटमा खुम्चिने ठोकुवा समेत गरे। त्यस्तै, नेपालखबरसँग उनले सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन नसक्ने दाबी गरे।
‘जनताले हाम्रो नीति, हाम्रो काम र व्यवहारको हिसाबले हेर्दा पूर्वाग्रही केही तत्वबाहेक अरूले अन्त भोट दिने ठाउँ नै छैन,’ ओलीको भनाइ थियो।
चुनावको मुखमा ओलीले यसरी जित्ने सार्वजनिक दाबी गर्नु स्वाभाविकै हो। तर, आन्तरिक विश्लेषणमा एमालेको वास्तविक आकलन बेग्लै छ।
पहिले एमालेले गरेको प्रदेशगत आकलन हेरौँ।
बागमती प्रदेशमा प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रमध्ये एमालेले १० क्षेत्रमा सानदार जित निकाल्ने विश्लेषण गरेको छ। २०७४ को चुनावमा एमाले–माओवादी गठबन्धन हुँदा यहाँ एमाले एक्लैले २० क्षेत्र जितेको थियो भने माओवादी केन्द्रले ७ क्षेत्र जितेको थियो।
एमाले स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले पहिलाको अवस्थाकै हाराहारीमा जितिने बताए।
‘हाम्रो पार्टीले यसपटक बागमतीका ३१ सिटमा उम्मेदवारी दिएको छ, चितवन १, मकवानपुर १ र २, निश्चित जित्ने क्षेत्र हुन्,’ अधिकारीले भने, ‘स्थानीय निर्वाचनमा साथीहरुलाई कुरा बुझाउन गाह्रो पर्यो र मत क्रस भयो, अहिले त्यस्तो कतै हुँदैन, द्विविधा र अलमल छैन, उत्साहजनक रुपमा जित्छौँ।’
उनले चुनाव जित्ने क्षेत्रबारे अहिले नै यसै भन्न नसकिने बताए।
‘धेरै क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ, चुनावमा ओभरनाइट यताउता हुन्छ, २ दिन अड्याउन सक्यौँ भने एमालेको पक्षमा माहौल हुन्छ,’ उनले थपे।
एमालेका अर्का एक नेताका अनुसार बागमतीमा जित्ने आकलन गरिएका १० क्षेत्रमा काठमाडौं २, ५, ९, ललितपुर २, भक्तपुर २, मकवानपुर १ र २, नुवाकोट २, सिन्धुपाल्चोक २ र काभ्रे २ हुन्।
ललितपुर ३, चितवन २, दोलखा, धादिङ १ र सिन्धुलीको एक क्षेत्रलाई एमालेले तीव्र प्रतिस्पर्धा अर्थात् ‘एल्लो जोन’ मा राखेको छ।
प्रदेश १ मा पनि एमालेले १० क्षेत्रलाई जित्ने सूचीमा राखेको छ। जसमा ताप्लेजुङ, खोटाङ, तेह्रथुम, झापाका १, २, ४, ५, मोरङ १, धनकुटा, उदयपुर २ छन्।
यस्तै भोजपुर, पाँचथर, संखुवासभा र सोलुखुम्बु तीव्र प्रतिस्पर्धा हुने तर नतिजा जे पनि हुनसक्ने हिसाबकिताब एमालेको छ।
प्रदेश १ मा झापा ३ मा राप्रपा र सुनसरी १ तथा मोरङ ५ मा एमालेले जसपालाई सघाएको छ। झापाका अन्य सबै क्षेत्रमा राप्रपाले एमालेलाई सघाएको छ। यस्तै जसपाले पनि सुनसरीका बाँकी क्षेत्र र मोरङमा एमालेलाई सघाएको छ।
मधेसमा ३२ निर्वाचन क्षेत्र छन्। जसपासँग तालमेल गरेको एमालेले यो क्षेत्रबाट १५ वटामा उम्मेदवार उठाएको छ।
त्यसमध्ये ४–५ वटा सूचीमा राखिएको एमाले मधेश प्रदेशका एक नेताले बताए।
‘मधेश प्रदेशमा मुस्किलले ४–५ वटा जितिन्छ होला,’ ती नेताले नेपालखबरसँग भने, ‘धनुषामा जुली महतो, पर्सामा एउटा र सिरहामा एउटा निश्चित छ, बाँकी प्रतिस्पर्धामा आउन सके हो।’
जसपाले १७ क्षेत्रमा उम्मेदवारी दिएको छ। एमालेले रौतहट ३ मा उम्मेदवारी दिनै पाएन। एमाले नेता प्रभु साहले अन्तिम समयमा स्वतन्त्रबाट उम्मेदवारी दिएपछि सो क्षेत्रमा एमाले उम्मेदवारविहीन बन्न पुगेको हो।
लुम्बिनी प्रदेशमा एमालेको पक्षमा माहौल बढ्दै गएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। उनका अनुसार निकै प्रतिस्पर्धा रहेकोले चुनावी परिणामबारे यसै भन्न सकिने अवस्था छैन।
‘आकर्षण बढ्दो अवस्थामा छ, कार्यकर्ता उत्साहित छन्,’ दाङमा रहेका उनले नेपालखबरसँग भने, ‘अहिलेसम्म ठ्याक्कै यति सिट जित्न सकिने भन्न सकिँदैन, प्रतिस्पर्धामा बढ्ने अवस्थामा छौँ। गठबन्धन माइनस भइरहेको छ।’
तर, अर्का एक एमाले नेताले लुम्बिनीमा ५ देखि ७ सिट जित्ने प्रक्षेपण रहेको बताए।
‘ठोकुवा नभनौँ, हामी लुम्बिनीमा ५–७ सिट जित्छौँ,’ ती नेताले भने, ‘प्रतिस्पर्धा धेरैमा हुँदा हामीले अन्य क्षेत्र जित्न पनि सक्छौँ।’
१८ क्षेत्र रहेको गण्डकीमा सबैभन्दा बलियो पार्टीका रुपमा रहेको एमालेले यसपटक भने निकै कम क्षेत्र जित्ने देखिन्छ। तर, एमालेका नेताहरु कम्तीमा ७ देखि ९ क्षेत्र जित्ने दाबी गर्छन्।
१२ क्षेत्र रहेको कर्णालीमा एमाले अत्यन्त कमजोर अवस्थामा छ। एमालेको आन्तरिक विश्लेषणमा पनि कर्णालीमा बढीमा ३ सिट जित्ने नेताहरु बताउँछन्।
सुदूरपश्चिममा ५ क्षेत्रमा एमाले जित्ने प्रक्षेपण छ। एमाले नेताहरु सो क्षेत्रमा ८ क्षेत्रमा अगाडि रहेको बताउँछन्।
एमालेले निर्वाचन क्षेत्रगत आधारमा आन्तरिक सर्वेक्षण गरेको हो। सजिलै जितिने क्षेत्रहरु सबैभन्दा बढी प्रदेश १ मा रहेको एमालेको मूल्यांकन छ।
प्रदेश १ का झापा, खोटाङ, पाँचथर सजिलै जित्ने एमालेको विश्लेषण छ।
मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा तीव्र प्रतिस्पर्धाबाट सिट जित्ने एमालेको निष्कर्ष छ।
एमालेको यो आन्तरिक लेखाजोखालाई आधार मान्दा सो पार्टीले ४५ हाराहारी सिट जित्ने आकलन गरेको छ, जुन सत्ता गठबन्धनको आकलन नजिक छ।
सत्ता गठबन्धनले ११२ सिटमा जित्ने दाबी गरेर बाँकी ५३ सिट ‘एल्लो’ र ‘रेड’ जोनमा राखेको छ, जसमध्ये अधिकांश सिट एमाले र एमालेले तालमेल गरेका पार्टीले जित्ने देखिन्छ।
उसो त सत्ता गठबन्धनले सहजै जित हात पार्ने दाबी गरेका कयौँ सिटमा पनि उसले नजित्न सक्छ। त्यस्तै एमालले जित्ने दाबी गरेका कतिपय सिट पनि गुमाउन सक्छ।
खासगरी दलहरुले स्थानीय चुनावमा प्राप्त मतलाई आधार बनाएर पछिल्ला आकलन गरेका हुन्। तर, स्थानीय तहमा जस्तै प्रतिनिधि सभा र प्रदेश सभामा मत ट्रान्सफर हुन्छ भन्ने छैन। त्यसैले थुप्रै स्थानमा ती आकलन नमिल्ने निश्चित छ।
त्यसमाथि प्रभावशाली व्यक्तित्व भएका स्वतन्त्र र बागी उम्मेदवारहरुका कारण पनि नतिजामा हेरफेर हुनसक्छ।
Shares
प्रतिक्रिया