राजनीति


दोलखामा गठबन्धन बलियो छ, संघ र प्रदेश तीनै क्षेत्र जित्छौँ : गंगा कार्की (भिडिओ)

दोलखामा गठबन्धन बलियो छ, संघ र प्रदेश तीनै क्षेत्र जित्छौँ : गंगा कार्की (भिडिओ)

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:४३, काठमाडौँ

दोलखाबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की 'विश्व'ले चुनाव जित्ने दाबी गरेका छन्।

२०७४ मा नेकपा एमालेले जितेको दोलखामा यसपटक गठबन्धनबाट साझा उम्मेदवार कार्कीले चुनाव जित्ने थुप्रै आधार रहेको बताए।

नेपालखबरसँग भिडिओ संवाद गर्दै उनले स्थानीय तहमा गठबन्धनको तालमेल र धेरै पालिका जितेकाले पनि दोलखामा आफूहरु बलियो अवस्थामा रहेको बताए।

‘स्थानीय तह जितेको मात्र होइन, दोलखामा कांग्रेसको र माओवादीको मत समेत निकै राम्रो छ,’ कार्कीले भने, ‘गठबन्धनकै तीन दलको मत जोड्दा ६०/६२ हजार बढी मत छ। यो आधारले पनि हामी जित्न सक्छौं ।’

उनका अनुसार जिल्लाका ७२ मध्ये ५२ वटा वडा गठबन्धनले जितेकाले मत ट्रान्सफर राम्रो हुन्छ।

दोलखामा माओवादी एकताबद्ध रहेकोले जित्न सबै पक्ष लागेको कार्कीले बताए। 

‘हाम्रो मुख्य जोड भनेकै जीत निकाल्ने हो, त्यसका लागि हामी एकताबद्ध भएर लागेका छौँ,’ उनले थपे,‘गठबन्धनका तीनै दल एकतावद्ध र परिपुरक भएर लागेका छौँ। कुनै हालतमा संघको म, प्रदेशको बर्मा लामा प्रदेश (ख) र कुन्दन काफ्ले प्रदेश (क) जित्नुपर्छ भन्ने कुरामा दृढ छौँ।’

एकले अर्कालाई सहयोग गरिरहेको उनले बताए। ‘जनताको सहानुभूति हामीप्रति निकै ठूलो छ,’ अहिलेसम्म कुनै लाभको पदमा नपुगेका दोलखामा माओवादी पार्टीको संगठन विस्तार गर्ने पहिलो नेता कार्कीले भने, ‘जनताले हामीलाई संसदमा देख्न आतुर छौँ भन्नुभएकोले जित्ने अर्को आधार जनता-मतदाता हुनुहुन्छ।’

एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि रहेको बताउँदै उनले दलभित्र राजनीति गरेका भन्दा फरक खालको उम्मेदवारी परेकोले एमालेका इमान्दार नेता कार्यकर्ताले आफूलाई मत दिनसक्ने बताए।

एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी व्यापारिक पृष्ठभूमिका हुन्। उनले पैसाकै कारण टिकट पाएको भन्दै एमालेको एक खेमा असन्तुष्ट छ।

एमालेमा लामो समय राजनीति गरेका आनन्द पोखरेल यसपटक उम्मेदवार बन्ने चर्चामा भएपनि पार्वत गुरुङ र पोखरेलबीच कुरा नमिल्दा शिवाकोटीले टिकट पाएका थिए। यही कुराले एमालेभित्र विवाद रहेको देखिन्छ।

‘एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग पैसा छ, तर पैसाले सेम्पेथी किन्न सकिँदैन,’ कार्कीले भने, ‘दोलखामा गठबन्धनका संघ, प्रदेशका तीनै उम्मेदवारलाई जनताले जिताउनुहुनेछ।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .