राजनीति


अछाममा झपटलाई भीम रावलको डर, शेरबहादुरलाई गठबन्धनको भर

रावलको सहानुभूति बटुल्दै विपक्षी, बागीले गठबन्धनलाई सकस
अछाममा झपटलाई भीम रावलको डर, शेरबहादुरलाई गठबन्धनको भर

गोकुल जोशी
कात्तिक ३०, २०७९ बुधबार ८:२०, कञ्चनपुर

चुनावताका एमाले नेता डा. भीम रावल आफ्नो पक्षमा मत माग्न गृहजिल्ला अछामका घरदैलोमा पुग्थे। 

त्यति मात्र होइन, सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित आमसभालाई सम्बोधन गर्न पनि उनलाई भ्याइनभ्याइ हुन्थ्यो।

तर, यसपटक रावल फुर्सदिला छन्। उनी यसपटक चुनावी मैदानमा छैनन्। रावल अहिलेसम्म न गृहजिल्लामा पुगेका छन्, न सुदूरपश्चिमका अन्य ठाउँमा आयोजित आमसभामा नै।

गृहजिल्ला अछाममा एमालेले रावलबिनै चुनावी कार्यक्रम गरिरहेको छ। उनी संघीय राजधानी काठमाडौंमा छन्।

विगतका चुनावमा निकै व्यस्त हुने रावल यसपटक अछाम १ मा टिकट खोसिएपछि गृहजिल्ला पुगेका छैनन्। उनको ठाउँमा माओवादी पृष्ठभूमिका झपटबहादुर बोहरालाई एमालेले उम्मेदवार बनाएको छ। 

एमालेभित्र रावल र अध्यक्ष केपी शर्मा ओलीबीच तिक्तता छ। रावललाई पाखा लगाउँदै बोहरालाई टिकट दिएपछि एमालेमा असन्तुष्टि बढेको थियो। 

रावलले टिकट नपाएको विरोधमा जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्य, क्षेत्रीय निर्वाचन कमिटी, पालिका तथा वडा कमिटीका तीन सयभन्दा बढी नेता/कार्यकर्ताले राजीनामा दिएका थिए।

त्यति मात्रै होइन्, मनोनयनका क्रममा बोहरालाई एमालेका असन्तुष्ट नेता/कार्यकर्ताले कालो झण्डा देखाए। र, अध्यक्ष ओलीविरुद्ध चर्को नाराबाजी गरे।

एमालेलाई रावलको डर
अछाम १ मा एमालेबाट उम्मेदवार बोहरालाई आगामी चुनावमा असन्तुष्ट रावलनिकट नेता/कार्यकर्ताले असहयोग गर्न सक्ने डर छ। 

रावलले बोहरालाई सघाउने वा नसघाउने कुनै प्रतिक्रिया दिएका छैनन्। रावललाई पाखा लगाउँदै पार्टीको तल्लो कमिटीको निर्णयविपरीत केन्द्रले रावललाई टिकट नदिएर ठूलो गल्ती गरेको एमालेका एक नेताले बताए। 

‘लामो समयदेखि चुनाव लड्दै आएका अनुभवी, राष्ट्रवादी छवि बनाएका नेतालाई बाइपास गरियो, अहिले चुनावमा उहाँ (रावल) कतै खटाइएको छैन’, ती नेताले भने, ‘त्यसैले उहाँ सक्रिय नहुँदा चुनावको माहोल खुलेको जस्तो देखिँदैन, कार्यकर्ता पंक्तिमा उत्साह छैन।’

उनका अनुसार रावलको साथबिना एमालेलाई गठबन्धनविरुद्ध जित हासिल गर्न सकस छ। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री अछाम १ का उम्मेदवार बोहरा माओवादीबाट एमालेमा समाहित नेता हुन्।

नेकपा विघटन भएर एमाले र माओवादी ब्युँतिएपछि बोहरा एमालेमै बसे। त्यस क्रममा उनले सुदूरपश्चिम प्रदेश सभा सदस्य पद गुमाएका थिए।

१०औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। त्यसपछि उनीहरू दुईबीचको सम्बन्ध बिग्रिएको छ।

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि रावल माधवकुमार नेपालको साथ छाड्दै एमालेमै बसे। 

एमाले नेता रावलले अछामबाट २०४८ सालदेखि चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए। 

रावलले ०५६ सालमा एमाले–माले फुटेका कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बने।

रावलले टिकट नपाएकामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेता/कार्यकर्ता पूर्ववत् भूमिकामा फर्किएको बताउँदै एमाले अछामका अध्यक्ष चन्द्र बोहराले एमाले एकढिक्का भएर चुनावमा होमिएको दाबी गरे। 

‘एमालेमा अब कुनै असन्तुष्टि छैन, एकताबद्ध भएर चुनावमा होमिएका छौं’, उनले भने, ‘प्रदेश र संघमा सहजै जित्छौं।’

रावलका सहयात्री, गठबन्धनबाट प्रतिस्पर्धी
रावलको क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता एंवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार छन्। 

उनी भीम रावलका पुराना सहयात्री हुन्। उनीहरूको राजनीतिक सहकार्य ०४५ सालमा सुरु भएको हो। काठमाडौँमा रहँदा रावलसँग निरन्तर सम्पर्क भएसँगै राजनीतिक घनिष्ठता बढेको थियो। 

कुनै बेला कुँवर अछाममा रावलका विश्वासपात्र मानिन्थे। तर एमालेको विभाजनमा रावल र कुँवरको तीन दशक लामो राजनीतिक सहयात्रा टुट्यो। 

भीम रावल काठमाडौं केन्द्रित हुँदा जिल्लामा कुँवर सक्रिय थिए। एमाले विभाजनले कुँवर र रावल दुवैलाई जिल्लामा धक्का लागेको एक नेता बताउँछन्। 

कुँवर वि.सं. २०३९ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिस्ट पार्टीमा होमिएका थिए। अध्ययनका क्रममा विराटनगरमा रहँदा उनी अनेरास्ववियुसँग जोडिए। 

अछामको चौरपाटी गाउँपालिका–४ मा जन्मिएका उनी २०४७ सालमा आएपछि गृहजिल्ला गएका थिए। त्यसबेला उनी तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य भएर मूलधारको राजनीतिमा होमिए।

एमाले र मालेको एकीकरण भएर बनेको पार्टीमा पनि उनले जिल्ला कमिटीमा सदस्य रूपमा काम गरेका थिए। त्यो बेला एमालेको जिल्ला कमिटीमा ७ जना मात्रै थिए। कुँवर थपिएपछि संख्या ८ पुगेको थियो।

उनी २०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य भए। वि.सं. २०५४ मा उपसचिव, वि.सं. २०६२ मा सचिव हुँदै २०६९ सालदेखि जिल्ला अध्यक्षका रूपमा काम गरेका थिए। 

अहिले उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छन्।

उनी ०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बनेका थिए। 

त्यसपछि २०७० र ०७४ सालको चुनावमा कुँवरले रावललाई प्रत्यक्षतर्फ लड्न त्यो क्षेत्र छोडेका थिए। उनी २०७० सालमा समानुपातिक बसे। २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए। 

यसअघि २०४८ सालमा अछाममा रावल हारेका थिए। वि.सं. २०५१ मा विजयी रावल ०५६ को चुनावमा फेरि हारे। 

कुँवरको पार्टीको संगठन कमजोर छ। उनको संसद् यात्रा गठबन्धनका अन्य दलमा निर्भर छ। 

बागीले सकस
अछाम १ मा एमालेका बोहरा र एकीकृत समाजवादीका कुँवरका साथै अन्य ४ जना पनि प्रतिनिधि सभाको दौडमा छन्। 

हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा तथा स्वतन्त्र उम्मेदवार राजन कुँवर, महेन्द्रबहादुर बोगटी र हिक्मत कुवँर चुनावी मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारी दिएका राजन कुँवर नेपाली कांग्रेसका नेता हुन्। उनी कांग्रेस अछामको सभापतिका प्रत्यासी पनि थिए।

त्यसैले गठबन्धनका साझा उम्मेदवार कुँवरलाई पनि जित हासिल गर्न सहज छैन। उनले जितका लागि गठबन्धनका दलहरूको समेत मत बटुल्नुपर्ने छ।

स्वतन्त्र उम्मेदवार राजन कुवँरले गठबन्धनको मत काट्नबाट जोगाउनपर्ने चुनौती पनि मन्त्री कुँवरलाई छ।

‘राजनलाई युवाहरूको साथ बढी देखिन्छ, उहाँले राम्रै मत ल्याउने आकलन पनि गरिएको छ’, एक नेताले भने, ‘पाँच हजारभन्दा बढी मत कटाए गठबन्धनलाई सजिलो छैन, यस्तो हुँदा नतिजा एमालेको पोल्टामा जाने सम्भावना छ।’

एमाले र गठबन्धनभित्रको किचलोले अछाममा एमाले र गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भारी पर्न सक्ने पनि आकलन गर्न थालिएको छ। 

एमालेका असन्तुष्ट र स्वतन्त्र उम्मेदवार राजन मिल्न सके उल्टो नतिजा आउन सक्ने सम्भावना रहेको विश्लेषण हुन थालेको छ। स्थानीय तह निर्वाचनको मतपरिणाम गठबन्धन अनुकूल छ। 

‘स्थानीय तहको मतपरिणामले पनि गठबन्धनको जित सुनिश्चित गरिसकेको छ, बागी गठबन्धनलाई कुनै समस्या गर्दैन’, नेपाली कांग्रेस अछामका सभापति पुष्प शाहले भने, ‘प्रदेश र संघमा गठबन्धनको जित निश्चित छ।’

रावलको सहानुभूति बटुल्ने प्रयास 
अछाम १ का मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका कुँवर र स्वतन्त्र उम्मेदवार राजन कुवँरले भीम रावलको सहानुभूति बुटुल्ने प्रयास गरिरहेका छन्। 

उनले मात्रै होइन, एमालेकै उम्मेदवार बोहराले पनि रावल आफूसँगै रहेको बताउँदै पार्टीमा असन्तुष्टि नरहेको आभास दिँदै मतदाता रिझाइरहेका छन्। 

टिकट खोसिएपछि रावल अहिले तटस्थ छन्। ‘गठबन्धन र स्वतन्त्र उम्मेदवारले भीम रावलको ग्रिन सिग्नल पाएको भन्दै प्रचार भइरहेको छ’, एक नेताले भने, ‘उहाँहरू सहानुभूति देखाएर एमालेको असन्तुष्ट मत तान्ने प्रयासमा छन्।’

प्रदेश सभा १ (१) सत्ता कांग्रेसका मेघराज खड्का र प्रदेश सभा १ (२) मा माओवादी केन्द्रका झपटबहादुर साउद उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट प्रदेश सभा १ (१) मा देवबहादुर कुँवर र प्रदेश सभा १ (२) मा कृष्णप्रसाद जैसी उम्मेदवार छन्।

अंकगणित
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणामअनुसार सत्ता गठबन्धनसामु एमाले अछाम–१ मा कमजोर  छ।

जिल्लाका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्निगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिका समेत ४२ वटा वडाहरू निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन्।

यी पाँच स्थानीय तहमध्ये गत स्थानीय चुनावमा नेपाली कांग्रेसले ४ पालिकामा प्रमुख पद जितेको छ भने माओवादी केन्द्रले १ पालिकामा जितेको छ। एमालेले एउटा पनि प्रमुख जित्न सकेन।

एमालेले दुई पालिकामा उपप्रमुख जितेको छ। ४२ वडामध्ये नेपाली कांग्रेसले १९ वडा जितेको छ। माओवादी केन्द्रले मेल्लेख गाउँपालिकको प्रमुखसहित त्यहाँको १ वडा, रामारोशनको ३ र बान्निगढी जयगढको १ वडासहित कूल ५ वडा जितेको छ।

एकीकृत समाजवादीले साँफेबगर र मेल्लेखको उपप्रमुख तथा २ वडा जितेको छ। अछाम–१ का ३ वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

४२ मध्ये गठबन्धनले जितेका वडाहरूको संख्या २६ हुन जान्छ। यो भनेको एमालेको भन्दा दोब्बर हो। एमालेले साँफेबगर नगरपालिका, चौरपाटी, मेल्लेखमा ३/३ तथा बान्निगढी जयगढ र रामारोशनमा २/२ वडा गरेर कूल १३ वडा जितेको छ।

एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको कांग्रेसले साँफेबगर नगरपालिकाको प्रमुखसँगै १४ वडामध्ये ८ वडामा जित हासिल गरेको छ। 

यस्तै चौरपाटी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ४ वडा, मेल्लेखमा २ वडा, रामारोशनमा अध्यक्षसहित २ वडा र बान्निगढी जयगढ गाउँपालिका अध्यक्षसहित ३ वडामा कांग्रेसले जितेको हो। 

कांग्रेसले रामारोशनमा समाजवादी र बान्निगढी जयगढमा माओवादीसँग तालमेल गरेको थियो। 

रामारोशन र बान्निगढी जयगढ गाउँपालिकाको उपप्रमुखमा पनि एमालेले जितेको हो। मेल्लेखमा एमाले र एकीकृत समाजवादी तथा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।

०७४ को हिसाब
अछाम १ मा ०७४ सालको चुनावमा वाम गठबन्धन विजयी भएको थियो। प्रतिनिधि सभामा एमालेका भीम रावलले जिते। 
त्यसबेला उनले २४ हजार ८९३ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत मात्रै ल्याएका थिए।

प्रदेश सभा १ (१) मा हर्कबहादुर कुँवर १० हजार ७१० मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मेघराज खड्का ९ हजार २९८ मतमा रोकिए।

यस्तै, प्रदेश सभा १ (२) मा एमालेको समर्थनमा माओवादी केन्द्रका झपटबहादुर बोहराले १३ हजार ९३७ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकबहादुर साउँदले ८ हजार ३४० मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .