ad ad

राजनीति


गृहमन्त्रीलाई रिमालको चुनौती : गोप्य सर्वेक्षण छ भने बाहिर ल्याउनुस्, भ्रम प्रचार नहोस्

गृहमन्त्रीलाई रिमालको चुनौती : गोप्य सर्वेक्षण छ भने बाहिर ल्याउनुस्, भ्रम प्रचार नहोस्

विष्णु रिमाल र बालकृष्ण खाण।


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ७:४९, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आसन्न निर्वाचनसम्बन्धी कुनै गोप्य रिपोर्ट भए सार्वजनिक गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले कमजोर नभएको बताउँदै रिमालले बाहिर आएका तथ्याकंहरु मिथ्यांक मात्रै भएको बताए। 

‘जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन्। त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन?’ न्युज एजेन्सीसँगको कुराकानीका क्रममा रिमालले भने, ‘म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त। बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्‍यो।’

गत शनिबार रूपन्देहीमा आयोजित चुनावी कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गोप्य रिपोर्ट अनुसार सत्ता गठबन्धन १ सय ३१ सिटमा अगाडि भएको दाबी गरेका थिए। ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ,’ खाँणले भनेका थिए, ‘थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखा परेको छ।’

सो विषयको खण्डन गर्दै रिमालले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न आग्रह गरेका हुन्।

‘निर्वाचन आयोगलाई भन्नुपर्‍यो, हामी कानून मिच्छौँ। मिच्न अरुलाई पनि दिनु भन्नुपर्‍यो। उहाँहरु छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरुले अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गर्नुभएको छ,’ रिमालले भने, ‘मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु। त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ। यो स्वच्छ निर्वाचनको लागि निन्दनिय काम हो।’

उनले गठबन्धन सरकारले  छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .