नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन्।
तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले केपी ओलीले संसद विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन रामचन्द्र पौडेलले ठूलो भूमिका निर्माण गरेकाले आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए।
‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो। तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ। त्यसकारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस,’ दाहालले भने।
उनले आफू गोर्खाबाट उमेदवार भएको, तनहुँबाट पौडेल र लम्जुङबाट माओवादीका महासचिव देव गुरुङ उठेका भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए।
दाहालले केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए।
Shares

प्रतिक्रिया