प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वर्षबाट काठमाडौंको इन्द्रचोकमा ‘भाषण दिवस’ मनाउने भएको छ। धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यो वर्षबाट भाषण दिवस मनाउन लागेको बताए।
सहिद गंगालालले इन्द्रचोकमा राणाशासनविरुद्ध पहिलोपटक राजनीतिक भाषण गरेको ऐतिहासिक ठाउँ भएकाले त्यहाँ यो वर्षबाट भाषण दिवस मनाउन लागिएको उनले बताए।
‘२०९७ साल माघ १५ गते शोभाभगवतीमा गंगालाल गोली हानेर मारिनुभयो, तर मंसिर १३ गते सहिद गंगालालले काठमाडौंको इन्द्रचोकमा पहिलो राजनीतिक सभा गर्नुभएको थियो,’ ओलीले भने, ‘खुलेयाम राजनीतिक भाषण राणा शासनको अन्त्यका लागि गर्नुभएको थियो। इन्द्रचोक ऐतिहासिक ठाउँ हो। यस वर्षबाट इन्द्रचोकमा हामी भाषण दिवस मनाउँदैछौं। शहिद गंगालालले पहिलो राजनीतिक भाषण गरेको ठाउँ थियो त्यो। धर्म वा अरु कुनै आवरणमा थिएन त्यो।’
गंगालालले राणाशासन फाल्नैपर्छ भनेर दमदार भाषण गरेको ओलीले बताए। ‘त्यतिबेलै उहाँलाई सुरक्षाकर्मीले घेरेका थिए। एउटा राजनीतिक भाषण गरेकै आधारमा उहाँलाई पछि मृत्युदण्ड दिइयो। अत्यन्तै यातनापूर्व उहाँलाई नरशमशेर भन्ने एकजना जर्नेल यति निरकुंश थियो,’ ओलीले भने, ‘उसले घुँडामा गोली ठोक भनेर आदेश दियो, तिघ्रामा हान भन्यो, अनि अर्को घुँडामा हान भनेपछि म हान्दिनँ भन्यो त्यो सिपाहीले।’
Shares

प्रतिक्रिया