ad ad

राजनीति


कैलाली २ : एमालेको ‘ह्याट्रिक’ रोक्ने कसरतमा गठबन्धनका बढुवाल

कैलाली २ : एमालेको ‘ह्याट्रिक’ रोक्ने कसरतमा गठबन्धनका बढुवाल

गोकुल जोशी
कात्तिक २५, २०७९ शुक्रबार १०:४२, कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ। सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवाल चुनावी मैदानमा छन्। 

नेकपा एमालेबाट ०७४ मा जितेका झपटबहादुर रावल यसपटक पनि चुनावी दौडमा रहँदा नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीले चुनौती थपेका छन्।

यीबाहेक कैलाली २ मा राप्रपाका भरतसिंह बिसी (बुढाक्षेत्री), नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कमलेशकुमार चौधरी, नेकपा माओवादी समाजवादीका शेखर शर्मा, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर र नेपाल लोकतान्त्रिक पार्टीका देशराज चौधरी चुनावी मैदानमा छन्।

कैलाली २ मा सत्तारुढ गठबन्धनका बढुवाल, एमालेका रावल र नागरिक उन्मुक्ति पार्टीका चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

०४८ यताका लगातार तीन निर्वाचन जितेको नेपाली कांग्रेस कैलाली २ प्रतिनिधि सभामा यसपटक गठबन्धनका कारण उम्मेदवारविहीन छ। उसले ०६४ सालको पहिलो संविधान सभा सदस्य भगतबहादुर बढुवाललाई सघाइरहेको छ।

कांग्रेसको विरासत भत्काउँदै ०७० र ०७४ मा जित निकालेको नेकपा एमालेले यसपटकको नतिजा आफ्नो पक्षमा पार्दै ह्याट्रिक गर्ने दाउमा छ। 

कैलालीमा स्थानीय तह निर्वाचनताका बलियो शक्तिका रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टी पनि चुनावी नतिजा आफ्नो पक्षमा पारेर इतिहास रच्ने योजनामा छ।

विगतका चुनाव
बहुदल आएपछिका तीन निर्वाचन जितेको कांग्रेसबाट तीनै पटक रामजनम चौधरी निर्वाचित भए।

०४८ मा नेकपा एमालेका गणेशमान सोवलाई १४ हजार ४०७ मतले पराजित गर्दै कांग्रेसका चौधरी विजयी भए। उनै चौधरीले ०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनराज मल्ललाई ४ हजार २१६ मतले हराए। 

०५६ सालको निर्वाचनमा चौधरीले ०५१ कै प्रतिस्पर्धी राप्रपाका मल्ललाई ८ हजार ६८३ मतले पराजित गरेका थिए। त्यसबेला नेकपा एमालेका मोहनसिंह राठौर मतका आधारमा तेस्रो स्थानमा थिए।

कांग्रेसलाई ०६४ मा ठूलो झट्का लाग्यो। कांग्रेसको अपराजित यात्रा यो चुनावमा तेस्रोमा सीमित भयो।

माओवादीका भगतबहादुर बढुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरे। 

०७० सालमा पहिलो पटक यो क्षेत्रमा एमाले विजयी भयो। त्यसबेला एमालेका राठौरले पार्टीलाई तेस्रो हारबाट बचाए। कांग्रेसका कमलबहादुर शाहलाई ३ हजार ५३६ मतले उछिनेर राठौर विजयी भएका थिए।

०७४ सालमा पनि यो क्षेत्रमा एमालेले जित हासिल गरेको थियो। तीन पटकसम्म लगातार टिकट पाएर एक पटक जितेका मोहनसिंह राठौरले ०७४ मा टिकट पाएनन्। 

आफू राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका झपटबहादुर रावलले टिकट पाउने भएपछि राठौरले एमाले छोडे। उनी एमालेविरुद्ध कांग्रेसबाट उम्मेदवार बनेका थिए। तर, आफ्ना पूर्वस्वकीय सचिव रावललाई रोक्न सकेनन्।

त्यस बेला वाम गठबन्धनबाट उम्मेदवार बनेका रावलले राठौरलाई २ हजार ८४४ मतले पराजित गरेका थिए। रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए। 

एमालेले गर्ला ह्याट्रिक?
०७४ सालको चुनावमा जित निकाल्दै एमालेलाई दोस्रो पटक सफलता दिलाएका रावल यसपटक पनि उम्मेदवार छन्। उनलाई ०७४ सालको जितको विरासत जोगाउनु पर्ने चुनौती छ। 

विभाजनबाट गुज्रिरहेको नेकपा एमाले सत्तारुढ गठबन्धन विरुद्ध जित निकाल्दै कांग्रेसको ह्याट्रिक रेकर्डसँग बराबरी गर्ने दाउमा छ। 

नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल विगत पाँच वर्षमा विकास निर्माणका थुप्रै काम गरेकोले यसपटक पनि जनताले आफूलाई निर्वाचित गर्ने दाबी गर्छन्।

‘पाँच वर्षको अवधिमा विकासका थुप्रै काम भएका छन्, अझ धेरै काम गर्न बाँकी छ, त्यसको लागि जनताले मलाई पुनः निर्वाचित गराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु’, रावलले भने, ‘राष्ट्र र राष्ट्रियताको लागि देशमा एमालेको सरकार आवश्यक छ, त्यसैले पनि हामीलाई विजयी गराउनु हुनेछ।’

कमब्याकको तयारीमा भगत
माओवादी केन्द्रबाट ०६४ सालमा निर्वाचित भगतबहादुर बढुवाल १५ वर्षपछि कमब्याक गर्ने योजनामा छन्। गठबन्धनको बलमा जित निकाल्दै १५ वर्षपछि फेरि संसद छिर्ने बढुवालको सपना छ।

त्यति मात्रै होइन, उनी एमालेको जित शृङ्खलामा ब्रेक लगाएर ०६४ को नतिजा दोहोर्याउने दाउमा छन्। 

गठबन्धनका साझा उम्मेदवार बढुवालले अघिल्लो पटक जितेका सांसदले केही गर्न नसकेको भन्दै यस पटक आफूलाई जनताले जिताउने विश्वास व्यक्त गरे।

‘पहिले यहाँबाट जितेर गएपछि पनि केही गर्न नसकेको आरोप छ, यसपटक फेरि उहाँलाई जिताउने मनसायमा यहाँका नागरिकहरू छैनन्’, उनले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई जनताले भारी मतले विजयी बनाउनुहुनेछ।’

इतिहास रच्ने दाउमा नागरिक उन्मुक्ति
०४८ यता ठूला दलले बर्चश्व जमाएको कैलाली २ मा यसपटक जित निकाल्दै इतिहास रच्ने योजनामा छ, नागरिक उन्मुक्ति पार्टी। त्यसका लागि नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी कम्मर कसेर लागेका छन्।

उनी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्कीचुहा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए। 

उनी दुवै पटक झिनो मतान्तरले पराजित भए। ०७४ सालमा लम्कीचुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा फोरम लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए।

फोरम लोकतान्त्रिक र कांग्रेसको २०७४ असोज ३० गते एकता भएको थियो। त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २(२) मा उम्मेदवार बने। एमाले र माओवादीको वाम गठबन्धनसंग चौधरी ८४४ मतले पराजित भए ।

त्यो बेला वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउदले १२ हजार ७७ मत ल्याएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए। 

‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिएँ, तर, यस पटक जित पक्का हो’, चौधरीले भने, ‘नागरिकहरूले अहिले नागरिक उन्मुक्तिलाई विश्वास गरिरहनुभएको छ।’

स्थानीय तहको अंकगणित
कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन्। 

स्थानीय तहको मतपरिणाम अनुसार कैलाली २ मा एमाले सबभन्दा ठूलो दलको रुपमा छ। गठबन्धनका आवद्ध दलहरुको कुल मतमा भने नेकपा एमाले पछाडि छ।

एमालेका वडाध्यक्ष उम्मेदवारहरुको पक्षमा १७ हजार ८८३ मत छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १३ हजार १२१ मत बटुल्दा माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत, राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ। 

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ। बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .