राजनीति


समाजवादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

समाजवादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

नेपालखबर
पुस २, २०७६ बुधबार ७:३५,

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथी बन्‍न आग्रह गरेकी छन्।

संघीय राजधानी काठमाडौंमा आज बुधबार राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेटिभ लिडर्स नेसनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन्। ‘पुँजीको निमार्णबिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारीकर्मीले समाजवादको अभियान्ता भन्न पाउनुहुन्छ’, उनले भनिन्।

मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताइन्। सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानुनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन्।

अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउदै सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड थियो। त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि त्यस्तो क्षेत्रमा लगानी गर्न उनले सुझाब दिइन्। ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई जनस्तरमा पुर्‍याउने माध्यम सहकारी भएकोले सहकारीमा सुशासन र संगठनात्मक अबस्था मजबुद हुनुपर्ने उनको भनाइ थियो। अब सहकारीको गफ र भाषण गरेर मात्र नपुग्‍ने बताउँदै उनले भनिन्, ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढंगले सहकारीको संख्या घटाउने र बढाउने गरिन्छ।’

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन्। ‘सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढंगले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ, उनले भनिन्। सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो।

मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढंगले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad