गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा धुँवाधार तातेको चितवनको चुनावी चर्चा सबैको मुखमुखमा सुनिन्थ्यो। घरघरमा एक खालको चुनावी माहोल भेटिन्थ्यो। पार्टी कार्यालयहरु गुलजारमय देखिन्थे।
त्यतिबला गठबन्धनको तर्फबाट मेयर पदका प्रत्याशी नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पुत्री रेनु दाहालविरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार जगन्नाथ पौडेलले चुनावी माहोल तताएर चितवनलाई देशब्यापी रुपमा चर्चायोग्य बनाइदिएका थिए। तर यसपालि ४ मंसीरमा हुने संघीय र प्रदेश निर्वाचनको समयावधि नजिकिइसक्दापनि चितवनमा अझै चुनावी माहोल तातेको देखिँदैन।
स्थलगत रिपोर्टिङका निम्ति बुधवार दिउँसो चितवन आईपुगेको नेपालखबरको टिमका लागि यो अप्रत्याशित परिदृश्य थियो। हुन त निर्वाचन आयोगले कार्तिक १७ बाट उम्मेदवारहरुलाई चुनाव प्रचार गर्ने अनुमति दिएको छ तर यसअघिका निर्वाचनमा सामान्यतः चोकचोकमा चलिसक्ने चुनावी छलफल यसपालि बहुतै कम सुनिन्छन्।
सार्वजनिक सवारी साधन, चोक–चोक र पसलहरुमा भेटिएका मतदाताहरुसंग चुनाव सम्बन्धि प्रश्न गर्दा समेत तिनका जवाफमा कुनै उत्साह भेटिँदैनथ्यो। पार्टी कार्यालयमा भेटिएका कार्यकर्ताहरुका मुहार समेत प्रदिप्त देखिँदैनथे। क्षेत्र नम्बर २ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित एमालेको वडा कार्यालय पुग्दा त्यहाँ जम्मा भएका केही कार्यकर्ताले चुनावी चर्चा गरिरहेपनि कार्यालय बाहिर भेटिएका एकजना स्थानीय यूवा नेता भने पूरै निरास देखिन्थे।
‘यसपालि मान्छेमा उत्साह नै जगाउन सकिएको छैन। हाम्रा आफ्ना साँगठनिक कामरेडहरु पनि खुलेर हिंड्नुभएको छैन। कयौं युवाहरु स्वतन्त्रतर्फ आकर्षित देखिन्छन्,’ ती कार्यकर्ताहरू भन्दै थिए, ‘के परिणाम आउँछ यसै भन्न सकिने अवस्था छैन।’
यो चुनावी क्षेत्रमा गठबन्धनको तर्फबाट बर्तमान सरकारका मन्त्री उमेश श्रेष्ठ, एमालेको तर्फबाट यसअघि लगातार दुईचोटी निर्वाचित भैसकेका निवर्तमान साँसद कृष्णभक्त पोख्रेल र चर्चित पूर्व मीडियाकर्मी स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच तगडा प्रतिस्पर्धा हुने बताईन्छ।
‘प्रचण्ड धपाईयो’
चितवन चर्चामा रहनुको मूल कारण माओवादीका अध्यक्ष प्रचण्डले २०७४ सालको संघीय निर्वाचनमा एमालेसंगको सहकार्यमा हात पारेको जित सँगै त्यसै साल सम्पन्न स्थानीय निर्वाचनमा उनका छोरी रेणु दाहालले मेयर पदमा गरेको जित पनि खास कारण थियो। मतगणनामा धाँधली भयो भन्दै गरिएको पुनः मतगणनामा रेणु २ सय मतले निर्वाचित भएकी थिईन। त्यसयता ब्यापारिक र आप्रवासनको केन्द्र मानिने चितवन राजनीतिको पनि केन्द्र बन्दै गैरहेकोछ। यस्तो चलायमान राजनीतिक केन्द्रमा यसपालि किन देखियो सुनसान?
हामी रिजाल चोक स्थित नेकपा एमालेको जिल्ला कार्यालय परिसरमा यसको जवाफ खोज्दै पुग्दा त्यहाँ युवा संगठनले चुनाव केन्द्रित आन्तरिक प्रशिक्षण चलाईरहेको थियो। त्यहाँ भेटिएका एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले १७ गतेपछि दलहरु घरदैलो अभियानमा लागेपछि मान्छेमा उत्साह जाग्ने जवाफ फर्काए। मान्छेमा उत्साह किन नजागेको भन्ने नेपालखबरको प्रश्नमा उनको कुटनीतिक जवाफ थियो, ‘चितवनले निर्वाचन आयोगको आदेशलाई शिरोधार्य गरेर सुनसान देखिएको हो, बिहीबारदेखि चहलपहल शुरु हुन्छ।’
७४ को निर्वाचनमा एमालेको सहयोगमा प्रचण्डलाई जिताउन आफैँ खटेका ३ नम्बर क्षेत्रका निवासी अध्यक्ष न्यौपानेले यसपालि ३ नम्बर क्षेत्रका निम्ति टिकट पाएका थिए। तर अन्तिम समयमा उनको टिकट खोसेर अध्यक्ष केपी ओलीले कांग्रेसबाट विद्रोह गरेका दिनेश कोेइरालालाई समर्थन गर्ने निर्णय सुनाएका थिए। खासमा गएको निर्वाचनमा आफ्नो सहयोगमा चितवनबाट संसद पुर्याइएका प्रचण्डलाई आफ्नै रणनीतिक ‘ब्यूह’ मार्फत हराउने दाउ खेलेका अध्यक्ष ओलीले कोइरालालाई समर्थन गरेर एक तीरले दुई निशाना गर्न खोजेका थिए, ‘कांग्रेसलाई कमजोर बनाउने र तिनकै मत समेत लिई प्रचण्डको तेजोवध गर्ने।’
तर उनको रणनीतिलाई मसिनोगरि केलाएका प्रचण्ड सहितको गठबन्धन दलका नेतृत्वले प्रचण्डले ठूलो लगानी गरि बलियो बनाउँदै लगेका निर्वाचन क्षेत्र छाडी बाहिरिन सुझाव दिएलगत्तै प्रचण्ड गोरखा पुगेका हुन्।
‘यसका निम्ति त्यहाँबाट उम्मेदवारी दिन तम्तयार पूर्व सहयात्री डा.बाबुराम भट्टराईसंग ‘राजनीतिक लेनदेन’ गरेका प्रचण्ड गोरखा नगएका भए के हन्थ्यो? एमालेका जिल्ला अध्यक्ष न्यौपाने भन्छन्, ‘प्रचण्डलाई हरहालतमा हराउन हामीले पूरै तयारी गरेका थियौं। तर उनी पहिल्यै भागे।’
प्रचण्ड बिनाको चितवन
चितवनबासीलाई सत्ता उलटफेरमा निर्णायक भूमिकामा रहेका प्रचण्ड जस्ता नेताले चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाईदिंदा त्यसले चितवनको द्रुत विकासमा महत्वपूर्ण रोल खेल्ने ठानी चितवनवासीले प्रचण्ड र उनका सुपूत्रीलाई मतदान गरिरहेकोले यहाँ माओवादीको जनाधार बढ्दै गैरहेको बिश्लेषण गरिन्छ।
मेयर रेणुले ५ बर्षीय कार्यकालमा संघीय सरकारको सहयोगमा चितवनको भौतिक बिकासमा देखिनेगरि काम गरेकोले यसपालि रेणुले प्रतिद्वन्द्वीलाई भारी मतले पराजित गर्न सकेकी हुन् भनिन्छ।
गृहजिल्ला समेत रहेको चितवनमा धेरैले प्रचण्डले पुरानै क्षेत्रबाट उम्मेदारी दिने तयारी गरेकोले यसपालि पनि यहाँको चुनावी तडकभडक निकै बढ्ने अपेक्षा गरेका थिए। प्रचण्ड परिवारले चितवनमै घर समेत बनाएर गएको असोजमा गृहप्रवेश गरेका थिए। यस्तो परिप्रेक्ष्यमा चुनावी रौनकको अपेक्षा गरिनु स्वाभाविक पनि थियो। तर एमाले अध्यक्ष ओलीको ‘चक्रब्यूह’ चिर्न प्रचण्डले चितनलाई चटक्क छाडेपछि यहाँको बिकास निर्माणमा त्यसले प्रभाव पार्ने हुँदा उनको बर्हिगमनले घाटा पुगेको ठान्ने पनि छन्।
चितवन कार्यक्षेत्र भएका माओवादीका एकजना केन्द्रिय नेता त्यस्तो बुझाई यथार्थको नजिक रहेको भन्दै भन्छन, ‘यदि अध्यक्ष कामरेडको उम्मेदवारी भएको भए यतिन्जेल चितवनको चुनावी माहोल तातिसक्ने थियो।’
उनको बिश्लेषणमा प्रचण्डले चितवन छाडेर जाँदा चितनले केही समय अघिसम्म राष्ट्रिय रुपमा पाईरहेको चर्चा यसपटकको चुनावमा पाउन सकेन।
ती नेताले अगाडि थप्दै भन्छन्, ‘कमरेड प्रचण्ड यहाँको उम्मेदवार हुनु भएको भए सबै क्षेत्रमा प्रभाव पर्थ्यो, बजारमा प्रतिस्पर्धा हुन्थ्यो, आर्थिक गतिविधि चलायमान हुन्थ्यो, बढ्थ्यो, अहिले त्यसो हुन सकेन।’
चितवन क्षेत्र नम्बर ३ का मतदाता समेत रहेका एक टेम्पो चालकले भने, ‘चितवनमा यसपटक पहिले जस्तो चुनावी रौनक हुने संभावना कम छ।’
उनले त्यसका तीन कारण दिए।
पहिलो, काङ्ग्रेसको गढ चितवनमा उसले गरेको गठबन्धनले कार्यकर्तामा निरासा छ।
दोस्रो, एमालेको तीन नम्बर क्षेत्रमा आफ्नो उम्मेदवार नै छैन, किन मत हाल्नु भन्ने परेको छ।
तेस्रो, चुनावमा दलहरुको विकल्प दिने स्वतन्त्र कोहि भएनन्।
चौबिसकोठी देखि एमालेको चितवन जिल्ला कार्यालयसम्म पुग्दा उनले टेम्पो चढ्ने थुप्रै नेताहरू र कार्यकर्ताबाट यही कुरा सुन्ने गरेको बताए।
Shares

प्रतिक्रिया