ad ad

राजनीति


माओवादी र एमालेका यी पदाधिकारी, जसले टिकट पाएनन्

माओवादी र एमालेका यी पदाधिकारी, जसले टिकट पाएनन्

सागर न्यौपाने
कात्तिक ३, २०७९ बिहिबार २१:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा प्रतिनिधि सभाको टिकट नपाउने एक जना पदाधिकारी हुन् उपमहासचिव हरिबोल गजुरेल। २०७४ मा सिन्धुली २ बाट सानदार जित निकालेका गजुरेलले मंसिर ४ गतेको चुनावको लागि मनोनयन दिने दिन मात्र आफ्नो टिकट खोसिएको चाल पाए।

अघिल्लो दिन (२२ असोज) बेलुकासम्म आफैँ उम्मेदवार बन्न तयारी गरेका गजुरेल बिहान (२३ असोज) लेखनाथ दाहालको नाममा टिकट गएको सूचना पाएपछि आश्चर्यमा परे।

‘बेलुकासम्म मेरै नामको टिकट थियो, उम्मेदवारी मनोनयन गर्ने दिन बिहान त अर्कैलाई टिकट दिएको समाचार सुनेँ,’ गजुरेलले नेपालखबरसँग गुनासो पोखे, ‘आफैँ टिकट वितरण गर्ने ठाउँमा भएर मैले नै पाइनँ।’

रामबहादुर थापा नेकपा एमालेका उपाध्यक्ष हुन्। एमालेको उच्च तहमा भएर पनि टिकट नपाउनेमध्येका हुन् उनी। 

थापा निकट एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार उनी यसपटक चितवन २ बाट चुनाव लड्न चाहन्थे। तर, उनलाई काठमाडौं १० बाट उम्मेदवार बनाउन एमालेले छलफल चलायो। उनले मानेनन्।

उनको रुचि काठमाडौंमा थिएन, जनमत, संगठन, आधार चितवनमा थियो। २०६४ को पहिलो संविधान सभा चुनाव सोही क्षेत्रबाट जितेकाले पनि थापाले यसपटक त्यहाँबाट उठ्ने रहर गरेको ती नेताले दाबी गरे।

‘उहाँले चितवन २ बाट उठ्न चाहनुभएको थियो, सबै आफन्त उतै छन्,’ ती नेताले भने, ‘तर अध्यक्ष केपी शर्मा ओली र टिमले बादलजीलाई काठमाडौंमा उठाउन खोज्यो, चितवन त उहाँलाई छिर्न पनि नदिइएको जस्तै बनाइयो।’

थापाले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। थापाले पछि कतैबाट पनि टिकट पाएनन्। उनकी श्रीमती जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवार छिन्। 

एमालेका नेताहरु बादलले चुनाव उठ्न अनिच्छा गरेको बताउँछन्। नेकपा कै निरन्तरता भन्दै एमालेमा बसेका थापा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन्।

एमाले र माओवादी केन्द्रमा यसपटकको प्रतिनिधि सभा चुनावमा टिकट नपाउने पदाधिकारीहरुको संख्या ठूलो छ।

माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव गजुरेल र सचिवहरु राम कार्की, हितमान शाक्य, गणेश साह, दीनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे र डिलाराम आचार्यले पनि रहर हुँदाहुँदै टिकट पाएनन्। 

श्रेष्ठ गोरखा २ बाट चुनाव लड्न चाहेका थिए, तर अध्यक्ष प्रचण्डलाई सो क्षेत्रमा उम्मेदवार बनाउनुपर्ने भएपछि उनले पाएनन्। 

सचिव राम कार्कीले भने आफ्नै क्षेत्र नहुँदा अन्यत्र गएर चुनाव नलड्ने भन्दै पाएको टिकट त्यागिदिए।

‘झापा १ मा भए चुनाव लड्ने अन्यत्र जान्नँ भनेर अध्यक्षलाई भनेको थिएँ,’ कार्कीले नेपालखबरसँग भने, ‘मेरो आफ्नै क्षेत्र परेन, अर्काे अप्सनमा म गइनँ।’

शाक्यले काठमाडौं ९ बाट टिकट पाएका थिए तर, सो क्षेत्रमा उनी उठ्न मन गरेनन्। उनको क्षेत्रबाट कल्पना धमलाले उम्मेदवारी दिएकी छन्। 

आचार्य अर्घाखाँचीबाट उम्मेदवार सिफारिस भए पनि गठबन्धनमा भएकोले उनको सो क्षेत्र माओवादीको भागमा परेन।

गोरखाका पाण्डेले पनि सो क्षेत्र कांग्रेसको भागमा परेपछि पाएनन्। गणेश साह, लीलामणि पोखरेल र दीनानाथ शर्मालाई अन्य भूमिकाका लागि उम्मेदवार नबनाएको नेताहरु बताउँछन्। 

‘हामीले पाएको सिट नै कम थियो, ६० दाबी गरेका हामी ४५ मा खुम्चियौँ,’ एक पदाधिकारीले भने, ‘क्लस्टर मिलाउँदा केही नेताहरु छुट्नुभयो। फेरि नयाँ युवा नेताहरुलाई पनि उठाउनुपर्दा केहीले टिकट पाउन सक्नुभएन।’

तर, अर्का एक पदाधिकारीले भने यसपटक टिकट वितरणमा मनलाग्दी भएको प्रतिक्रिया दिए।

‘केही साथीहरुको व्यक्तिगत कुराले टिकट नपाएको वा नपरेको साँचो हो तर, खै त उम्मेवारीको मापदण्ड बनेको?’ ती नेताले नेपालखबरसँग भने, ‘सिस्टम छैन। जितेको ठाउँ लिने भनेर पछि ती ठाउँहरु पनि छोडिएका छन्। यसमा अध्यक्ष र उहाँका वरिपरिका केही साथीको तजबिजी अधिकारी प्रयोग भयो।’

अध्यक्षदेखि सचिवसम्म यी हुन् टिकट पाउने 
माओवादी अध्यक्ष प्रचण्ड गोरखा २, महासचिव देवप्रसाद गुरुङ लमजुङबाट उम्मेदवार छन्। प्रचण्डको निर्वाचन क्षेत्र परिवर्तन भएपनि गुरुङ सोही क्षेत्रका हुन्। 

उममहासचिवहरुमा मातृका यादव, पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल लगायत ६ नेताले आफ्नै क्षेत्रबाट टिकट पाएका छन्।

अघिल्लो पटक ०७४ मा पनि उनीहरु सबैले चुनाव जितेका थिए। 

सत्ता गठबन्धनबीच जित्ने क्षेत्र सोही दलले लिने सहमति अनुसार पनि उनीहरुले टिकट पाउने निश्चित थियो। त्यसमाथि, पार्टीको पदाधिकारी, अघिल्लो पटकको चुनाव जितेको आधारले थप बलियो बनायो।

त्यही मापदण्डमा परेका नेताहरुले टिकट पाएर प्रचारमा व्यस्त भइरहँदा उपमहासचिव गजुरेल भने टिकट वितरणप्रति असन्तुष्ट भएर पदाधिकारी बैठक बोलाउन माग गरिरहेका छन्।

आफ्नो भागमा परेको टिकट खोसिएपछि उनले हेडक्वार्टरमा असहमति पत्र बुझाएका छन्। सो पत्र पाएपछि अध्यक्ष प्रचण्डले ३१ असोजमा गजुरेललाई निवासमै बोलाएर छलफल गरेका थिए।

‘मैले अध्यक्षलाई भेटेर टिकट वितरणबारे पदाधिकारीलाई जानकारी दिन माग राखेको छु,’ गजुरेलले नेपालखबरसँग भने, ‘उहाँले बोलाउँछु भन्नुभएको छ, अहिलेसम्म डाक्नुभएको छैन। २२ गते बेलुकासम्म मेरै नाममा रहेको टिकट एकाएक कसरी र किन खोसियो, यसको चित्तबुझ्दो जवाफ नपाई कसरी खटिन सकिन्छ?’ 

माओवादीबाट चुनावमा नउठ्ने घोषणा गरेका पदाधिकारीमा कृष्णबहादुर महरा मात्र हुन्। उनले समानुपातिकमा परेको नाम समेत हटाउन पार्टी नेतृत्वलाई भनेका थिए।

माओवादीकै प्रभावशाली नेता सभामुख अग्निप्रसाद सापकोटाले पनि नयाँ पुस्तालाई छोडेको घोषणा गर्दै प्रत्यक्ष चुनाव लडेनन्। सभामुख पदमै रहेकाले उनी माओवादीको कुनै जिम्मेवारीमा हुने कुरै भएन। तर, ०६४ देखि लगातार जित्दै आएका उनी चौथो पटक प्रत्यक्ष चुनाव नलड्ने निष्कर्षमा पुगे।

एमाले पदाधिकारी : १५ जनाले टिकट पाए, ४ ले पाएनन्
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट १९ पदाधिकारी चयन भएका थिए।

त्यसमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ पदाधिकारीले मंसिर ४ गतेको चुनावमा टिकट पाएका छन्।  

जसमा ओली (झापा–५), वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन–१, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ को उम्मेदवार बनेका छन्।

यसमध्ये शंकर पोखरेलबाहेक ०७४ को प्रतिनिधि सभा चुनावमासबै निर्वाचित भएका थिए। महसचिव पोखरेल प्रदेश सभा जितेर लुम्बिनीको मुख्यमन्त्री भएका थिए। 

यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङका लागि उम्मेदवार छन्। उनी यसपटक प्रतिनिधि सभामा बढुवा भएका हुन्। ०७४ मा प्रदेश सभा चुनाव जितेर उनी गण्डकीको मुख्यमन्त्री भएका थिए।

सचिवहरुमा टोपबहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली–४, गोकर्ण विष्ट गुल्मी–२, योगेश भट्टराई ताप्लेजुङ, छविलाल विश्वकर्मा रुपन्देही–१, रघुवीर महासेठ धनुषा–४ र पद्मा अर्याल स्याङ्जा–२ बाट उम्मेदवार बनेका छन्।

उपाध्यक्षहरु रामबहादुर थापा, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले टिकट लिएनन्।

‘मलाई टिकट लिन तलबाट दबाब थियो,’ दाङ ३ बाट सर्वसम्मत सिफारिस ज्ञवालीले नेपालखबरसँग भने, ‘पार्टीमा  नेतृत्व निर्माण अवरोध भयो, व्यक्तिको विकल्प नदिँदा संकट हुन थाल्यो। नयाँलाई अवसर दिन उम्मेदवार बनिनँ।’

उनले बैठकमै आफूलाई उठ्न इच्छा लागेन र रहर छैन भनेको बताए। 

उपाध्यक्ष शाक्यलाई भने एमालेले काठमाडौं ८ को उम्मेदवार बनाउने तयारी गरे पनि उनले अस्वीकार गरेकी थिइन्।

यस्तै, एमालेभित्र प्रभावशाली र अध्यक्ष ओलीको निकट भनेर चिनिने उपमहसचिव विष्णु रिमाल पनि उम्मेदवार बन्न सकेनन्।

निर्वाचनका प्रचार सामग्री निर्माण र प्रचारप्रसार मात्र होइन, चुनावको घोषणापत्र निर्माण, जनपरिचालन, संगठनको प्राविधिक सञ्चालन सबै गर्दे आएका रिमालले आफैँले उम्मेदवार बन्न नखोजेको बताए। 

एमालेमा टिकटका विषयमा व्यापक असन्तुष्टि चुलिए पनि पदाधिकारी तहमा कुनै समस्या नभएको उपाध्यक्ष युवराज ज्ञवालीले दाबी गरे।

त्यति थोरै सिटबाट टिकट पाउन सम्भव नै हुँदैन, फेरि पार्टीमा रहने उम्मेदवार बन्न मात्र पनि होइन,’ ज्ञवालीले भने, ‘पार्टी बनाउने काममा पनि लाग्नुपर्छ।’

टिकट नपाएका पदाधिकारीलाई फुर्सदैफुर्सद
टिकट नपाएका नेताहरुमध्ये कोही किताब पढेर बसिरहेका छन्। राम कार्की प्रदेश १ को इन्चार्ज पनि हुन् । उनी निर्वाचन विभिन्न निर्वाचन क्षेत्रमा जाने तयारीमा छन्। 

तर, ज्ञवाली भने अहिलेसम्म फुर्सदमै छन्। पार्टी बनाउन तयार रहेको भन्दै उनी कतै खटाइदिए चुनाव प्रचारमा जाने बताउँछन्। 

‘म पार्टी काममा खटिन तयार छु, पार्टीले जहाँ मेरो आवश्यकता देखेर पठायो त्यही गएर काम गर्छु,’ ज्ञवालीले भने, ‘अहिलेसम्म फुर्सदमा छु।’

उपाध्यक्ष शाक्य पनि घरमा नेता÷कार्यकर्तासँग छलफल गरेर दिन बिताइरहेकी छन्।

‘साथीहरु आउनुहुन्छ, भेट्छु, कुरा गर्छु,’ यही काम गर्ने भन्ने निश्चित छैन,’ उनले भनिन्।

माओवादीले नेताहरुलाई निर्वाचन क्षेत्रमा खटाइसकेको छ। हितमान शाक्य बागमती प्रदेशको इन्चार्ज पनि भएकाले उनी १३ वटै जिल्लाको रिपोर्टिङ लिने र प्रचारको कार्यक्रममाा खटिएका छन्। 

गण्डकी प्रदेशका इन्चार्ज रहेका पाण्डे कास्की, बाग्लुङ, गोरखा लगायतका क्षेत्रमा खटिएको बताउँछन्। सचिव आचार्य अर्घाखाँची र रुपन्देही खटिएका छन्। 

गणेश साह मधेश प्रदेशका इन्चार्ज हुन्, उनी पनि मधेश प्रदेशको पछिल्लो अवस्था रिपोर्टिङ गर्न बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। 

उनले आफू चुनावमा सबै नेता÷कार्यकर्तालाई एकताबद्ध भएर खटाउन लागिपरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .