राजनीति


ठूला दलको चुनावी घोषणापत्र : गोरु पछाडि, गाडा अगाडि !

मतदान गर्न ३० दिन बाँकी, घोषणापत्र छैन, बाझाबाझ मात्रै
ठूला दलको चुनावी घोषणापत्र : गोरु पछाडि, गाडा अगाडि !

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार २०:३३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी प्रचार–प्रसारका क्रममा गृहजिल्ला झापामा सक्रिय छन्। उनले झापा–१ स्थित धुलाबारीबाट बुधबार ‘नेपाली कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको’ आरोप लगाए।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसको घोषणापत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएका हुन्। त्यही घोषणापत्र उहाँहरुले नेपाली जनताबीचमा छर्नु हुनेछ। त्यो कुनै कांग्रेसको घोषणापत्र होइन।’

एमाले नेता ओलीले लगाएको आरोपबारे नेपाली कांग्रेसको घोषणापत्र लेखन समितिले आपत्ति त जनायो तर उसले आफ्नो घोषणापत्र अझैसम्म सार्वजनिक गर्न सकेको छैन ।

अमूक घोषणापत्रबारे वाद–प्रतिवादमा उत्रिएका राजनीतिक दलका नेताहरुले निर्वाचन आउन ३० दिन बाँकी रहँदा पनि घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । एमाले, कांग्रेस, माओवादी लगायतका प्रमुख दलले चुनावी घोषणापत्रलाई खासै महत्व दिएको देखिँदैन । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि घोषणापत्र जनता समक्ष ल्याएका छैनन् ।

आम चुनाव भनेको राजनीतिक दलहरुले आफ्ना एजेण्डाहरु जनतामा लिएर जाने महत्वपूर्ण राजनीतिक पर्व हो । तर, दलको घोषणापत्र समयमै नआउँदा उनीहरुका पाँचवर्षे एजेण्डा के हुन् भन्ने मतदातामा स्पष्ट हुन सकेको छैन । दलका नेताहरु एजेण्डा र घोषणापत्रविनै जनतासँग भोट मागिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि ‘भाडाका बुद्धिजीवी लगाएर चुनावी घोषणापत्र लेखेको’ आरोप लगाए पनि स्वयं एमालेले समेत चुनावी घोषणापत्र सार्वजनिक गरेको छैन। अध्यक्ष ओली जन्मनै बाँकी रहेको घोषणापत्रको खण्डन–मण्डमा लागेका छन् ।

सत्तारुढ दलका कतिपय नेताले त म्यानपावरको दलालले जस्तै गरी मौखिक रुपमा ‘फ्री भिसा र फ्री टिकट’ दिलाएर विदेश पठाउँछौंसम्म भन्न भ्याइसकेका छन् । तर, चुनाव जितेर के गर्ने भन्ने ठोस एवं लिखित योजनासहितको घोषणापत्र उनीहरुले ल्याउन सकेका छैनन् ।

कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाजस्ता प्रमुख पार्टीहरुले घोषणापत्रबारे के कस्तो गृहकार्य गरिरहेका छन् त ? नेपालखबरले दलका नेताहरुसँग यसबारे खोजिनीति गरेको छ–

के गर्दैछ कांग्रेस ?
नेपाली कांग्रेसले चुनावी घोषणापत्र लेख्नका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ। समितिमा ४२ जना छन् ।

घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य छन्।

यस्तै केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा. गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र र नानु बाँस्तोलालाई पनि घोषणापत्र तयारी समितिमा सदस्य राखिएको छ।

कांग्रेसले घोषणापत्र तयारी समितिमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, बिष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल र प्रमोदहरी गुरागाईंलाई सदस्य राखेको छ।

यस्तै डा. अञ्जनी झा, इञ्जिनियर अभिमन्युलाल सिंह,  इञ्जिनियर तथा डा. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दीपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, चलचित्र निर्देशक मीन भाम, क्रिकेटर विनोद दास, सुमित खरेल र पहिलो पटक मतदान गर्न लागेका युवा विकल राई पनि कांग्रेसको घोषणापत्र लेखन समितिको सदस्य छन्।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई समितिमा सदस्य सचिव राखिएको छ। समितिले मिडिया संयोजनका लागि सहमहामन्त्री परियारलाई प्रवक्ता नियुक्त गरेको छ। 

गत असोज ५ गते बसेको घोषणापत्र तयारी समितिको पहिलो बैठकले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टी केन्द्रमा राखेर घोषणापत्र निर्माण गर्ने निर्णय गरेको नेताहरु बताउँछन्।

बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। बैठकबाट डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्ष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा. प्रिति मण्डल सदस्य रहने गरी प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको थियो।

यस्तै स्थापनाकालदेखिका दस्तावेज र विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नका लागि सहमहामन्त्री परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहने गरी अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णय भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको असोज २८ गते बसेको बैठकले वाग्ले नेतृत्वको उपसमितिले तयार पारेको घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरिसकेको छ। बैठकले प्राप्त सुझावहरु समावेश गर्ने गरी उक्त प्रारम्भिक मस्यौदा पारित गरेको हो।

कांग्रेसले आफू नेतृत्वको अहिलेसम्मका सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषय समेटेर चुनावी घोषणापत्रमा सार्वजनिक गर्ने तयारी गरेको छ।

महामन्त्री शर्मा संयोजकत्वको समितिका प्रवक्ता सहमहामन्त्री परियारले नेपालखबरसँग भने, ‘०४८ देखि अहिलेसम्म हाम्रो नेतृत्वको सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषयहरु घोषणापत्रमा संक्षिप्तमा राख्ने छौँ।’

कांग्रेसले संविधानको व्यवस्थाअनुसार ५ वर्षका लागि सरकार चलाउने गरी अगाडि बढ्ने प्रतिवद्धता पनि घोषणापत्रमा गर्ने उनको भनाइ छ।

‘आगामी निर्वाचनमा कांग्रेसले  विजय हासिल गरेपछि हामीले हाम्रो सरकार ५ वर्षका लागि संविधानको व्यवस्थाअनुसार अगाडि बढ्छ भन्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरेर जनताको बीचमा सार्वजनिक गर्नेछौँ,’ परियारले उनका छन्।

कांग्रेसले आफ्नो नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने नेतृत्व पनि आफैँ लिने विषयलाई चुनावी घोषणापत्रमा प्रतिवद्धताका रुपमा समेट्ने भएको छ।

‘२०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको सरकारले संसदीय लोकतान्त्रिक शासन प्रणालीकै विरुद्धमा विभिन्न गतिविधिहरु सञ्चालन गर्यो। नेपाली कांग्रेसको नेतृत्वमा हामी २०७२ मा संविधान जारी गर्न सफल भएका थियौँ संविधानसभाबाट,’ परियारले भने, ‘त्यो संविधानको रक्षा गर्ने मूल नेतृत्व पनि हामी नेपाली कांग्रेसले लिन्छौं भनेर प्रतिवद्धता घोषणापत्रमा पहिलो रुपमा आउँछ।’

सहमहामन्त्री परियारले घोषणापत्रलाई अन्तिम रुप दिन लगातार काम भइरहेको पनि बताए। उनले घोषणापत्र सार्वजनिक गर्ने मिति भने अहिले नै पार्टी तय गरिनसकेको पनि जानकारी दिए।

एमाले भन्छ– यसैसाता आउँछ
नेकपा एमालेले यसै साता घोषणापत्र सार्वजनिक हुने जनाएको छ । घोषणापत्र लेखन समितिका सदस्यसमेत रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपालखबरसँग भने,‘प्रारम्भिक मस्यौदामाथि मसिनो गरी छलफल गरेर अन्तिम रुप दिइसकिएको छ । छपाई लगायतका केही प्राविधिक काम मात्र बाँकी छ, यसै साता घोषणापत्र सार्वजनिक हुन्छ ।’

उपमहासचिव ज्ञवालीका अनुसार एमालेले घोषणापत्र तयार गर्दा तीनवटा पक्षलाई प्रमुख आधार बनाएको छ ।

बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले ०७४ सालको चुनाबी घोषणापत्रको समीक्षात्मक अध्ययन गरेर चार महले प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनलाई अहिले प्रारम्भिक आधार बनाइएको ज्ञवालीले जानकारी दिए ।

‘विगतको चुनावमा हामीले के–के गर्ने भनेका थियौं, कति काम पूरा भए, कति पूरा हुन सकेनन् र पूरा हुन नसक्नुका कारणहरु के–के हुन् भन्ने विषयलाई समेटेर चार महले विवरणसहितको प्रतिवेदन नीति अनुसन्धान प्रतिष्ठानले तयार पारेको थियो,’ ज्ञवालीले भने,‘ दुई महिना लगाएर तयार पारिएको सो निश्कर्ष हाम्रो घोषणापत्रको प्रारम्भिक आधार हो ।’

त्यसैगरी नेकपा एमालेका ३२ विभागहरुमध्ये नीतिगत क्षेत्रमा सम्बन्ध राख्ने २६ वटा विभागहरुले पनि आ–आफ्नो विषयगत क्षेत्रमा गहिरो अध्ययन गरेर प्रतिवेदन तयार पारेको ज्ञवालीले बताए । उर्जा, कृषि लगायतका विभागहरुले त गोष्ठी र सेमिनारहरु नै गरेर विज्ञहरुको सुझाव लिएको उनले बताए ।

ज्ञवालीले भने, ‘विभागहरुले गरेको यो अध्ययन र निष्कर्षलाई हामीले घोषणापत्रको दोस्रो आधार बनाएका छौं ।’

घोषणापत्र लेखनको तेस्रो आधार अध्यक्ष केपी शर्मा ओलीको मार्गदर्शनलाई लिइएको नेता ज्ञवालीले जानकारी दिए । उनले भने,‘देशको आगामी बाटो के हुने भन्नेबारे अध्यक्षज्यूको मार्गदर्शनलाई पनि घोषणापत्रमा समेटिएको छ ।’

घोषणापत्र लेख्नका लागि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा ८ सदस्यीय समिति बनाएको थियो । समितिमा उपाध्यक्षत्रय ईश्वर पोखरेल, रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यलाई समेटिएको थियो । त्यसैगरी महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली विष्णु रिमाल पनि समितिमा थिए ।

‘प्रारम्भिक लेखन कार्य सम्पन्न भइवरि त्यसमाथि छलफल पनि भइसकेको छ,’ चुनावा प्रचारमा गुल्मीमा खटिएका ज्ञवालीले नेपालखबरसँग भने,‘यसैसाता छापिएर घोषणापत्र आउँछ।’  

माओवादी भन्छ– लेखिसकियो
नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि र प्रदेश सभा चुनावको घोषणापत्र बनाउने समिति बनाएको छ। माओवादी केन्द्रीय कार्यालय स्रोतका अनुसार घोषणापत्र लगभग ‘फाइनल’ भइसकेको छ।

माओवादी कार्यालय स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले भाषा र शुद्धाशुद्धि हेर्ने काम भइरहेको छ,’ विहीबारै फाइनल गर्ने भन्ने थियो तर, नेताहरु व्यस्त भएकाले एकदुई पछि सार्वजनिक गछौँ।’

माओवाददीको घोषणापत्र तयारी समितिमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, सचिव गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, परशुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिंखडा छन्।

घोषणापत्र मस्यौदा समितिमा रहेका जाकिर हुसेन घोषणा पत्र तयार नहुँदै एमाले प्रवेश गरेका छन्।

माओवादीले यसपटकको घोषणापत्रमा शासकीय स्वरुपको मूल विषय अघि सारेको नेताहरु बताउँछन्।

माओवादीले घोषणापत्र लेख्नुअघि कुपण्डोलस्थित होटल हिमालयमा कार्यक्रम आयोजना गरेर सुझाव संकलन गरेको थियो।

‘हाम्रो पार्टीले देशैभरका सबै क्षेत्रका व्यक्तिहरुबाट सुझाव लिएको छ, एक महिना सुझाव संकलन गरेर मात्र घोषणापत्र लेख्न थालिएको हो,’ एक मस्यौदाकार नेताले नेपालखबरसँग भने, ‘सबै क्षेत्रका विषयमा नयाँ अवधारणा अघि सारेका छौँ।’

सबै क्षेत्रबाट आएका सुझाव संकलन गरेपछि शीर्ष नेताहरु बसेर घोषणापत्रलाई अन्तिम रुप दिइएको ती नेताले बताए।

जसपाको घोषणापत्र प्रेसमा
जनता समाजवादी पार्टी (जसपा)को घोषणा पत्र प्रेसमा पुगेको नेताहरुले बताएका छन् ।

जसपा कार्यकारिणी सदस्य तथा कार्यलयका मुख्य सचिव प्रकाश अधिकारीका अनुसार शनिबारसम्म प्रेसबाट छापिएर बाहिर आउनेछ।

‘घोषणा पत्र निर्माणको काम सकियो, अहिले प्रेसमा छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘पर्सिसम्म तयार हुन्छ अनि वितरण गर्छौं।’

उनका अनुसार जसपाले लोकतन्त्र, संघीयता अझै बलियो बनाउन आवश्यक रहेको कुरामा जोड दिएको छ।

यस्तै शिक्षा, स्वास्थ्य र रोजगारका विषयलाई बढी जोड दिएर कार्यक्रम ल्याउनेकुरा उल्लेख गरिएको छ।

‘मुख्यगरी पहिचानको मुद्दा स्थापित गराउनुछ, संघीयता र लोकतन्त्र अझै बलियो हुन जरुरी छ,’ अधिकारीले भने, त्यसबाहेक सुशासन, स्वास्थ्य शिक्षा र रोजगारलाई प्राथमिकता दिइएको छ।’

 

अन्तिम तयारीमा बसेका छौं : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुर्याएको नेताहरु बताउँछन्। राप्रपाले प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा ५ सदस्यीय ‘घोषणापत्र तयारी संयोजन समिति’ गठन गरेको छ।

समितिमा प्रा.डा. जयन्त खनाल, सगुन सुन्दर लावती, रमानन्द न्यौपाने र हेमराज कार्की सदस्य छन्।

‘हाम्रो यसअघि ५ सदस्यीय घोषणापत्र तयारी संयोजन समिति बनेको थियो,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपाखबरसँग भने, ‘सोही समितिले घोषणापत्र तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको छ।’

श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापामा चुनावी अभियानमा व्यस्त भएका कारण घोषणापत्र सार्वजनिक नगरिएको बताए। ‘अध्यक्षज्यू केही दिनदेखि झापाको चुनावी अभियानमा व्यस्त भएका कारणले सार्वजनिक नगरिएको हो,’ श्रेष्ठले भने।

राप्रपाले शनिबार बिहान घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। ‘भोलि (शुक्रबार) बेलुकी अध्यक्ष झापाबाट काठमाडौं आउनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँ आएलगत्तै हामीले घोषणापत्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरेर बसेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad