ad ad

राजनीति


चुनावी दौडमा प्रहरीका तीन हाकिम, कसले खोल्ला संसदको ढोका?

चुनावी दौडमा प्रहरीका तीन हाकिम, कसले खोल्ला संसदको ढोका?

फाइल तस्बिर


उजिर कार्की
असोज ३०, २०७९ आइतबार ७:०, काठमाडौँ

नेपाल प्रहरीका तीन हाकिम फरक–फरक पार्टीबाट यस पटक प्रतिनिधिसभाको चुनावी मैदानमा छन्। ती मध्ये एकजना पुरानै हुन्। दुईजनाले पहिलो पटक संसदीय परीक्षा दिँदैछन्। 

काठमाडौं १ बाट पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको विरासत भत्काउन कसिएका छन्। 

यसअघि कम्युनिष्टहरुले पनि जित्न नसकेको यो क्षेत्रमा तत्कालीन विवेकशील साझाका रवीन्द्र मिश्रले २०७४ मा सिंहलाई अत्याएका थिए। यद्यपि मिश्र झिनो मतले पराजित भए।

यस पटक खरेलसँगै रवीन्द्र मिश्र पनि यो क्षेत्रबाट उम्मेदवार छन्। तर मिश्रले पार्टी फेरेर राप्रपाबाट उठेका छन्। यस पटक अन्तिम अवस्थामा एमालेको साथ उनलाई मिलेन। एमालेबाट यहाँ किरण पौडेल उठेका छन्। 

पूर्व आईजीपी सर्वेन्द्र खनाल असोज ५ मा नेकपा एमालेमा प्रवेश गरेको १४ दिनमै संसदको टिकट पाए। उनलाई एमालेले कांग्रेसका निवर्तमान सांसद भीमसेनदास प्रधानसँग भिडाएको छ। 

प्रधान पछिल्ला दुई निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक जित्दै ह्याट्रिक गर्ने उनको दाउ छ। यसअघि वामगठबन्धनले पनि उनलाई हराउन सकेको थिएन। यो पटक प्रधानलाई पन्छाउने जिम्मा पहिलो पटक संसदीय परीक्षामा सामेल खनालको काँधमा आएको छ। 

प्रहरीका अर्का ‘हाकिम’ नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट फेरि चुनाव लड्दैछन्। उनी निवर्तमान सांसद पनि हुन्। 

एमालेमा प्रवेश गरेको छोटो समयमै संसदको टिकट पाएका उनले कांग्रेस नेता उदयशमशेरलाई हार चखाइदिए। उनको त्यो दोश्रो हार थियो। 

तर २०७४ मा सिलवालले माओवादीको पनि साथ पाएका थिए। तर यसपटक माओवादीको साथ कांग्रेसका उदयशमशेरलाई भएकाले सिलवालको संसद यात्रा सहज छैन। 

काठमाडौं १ मा उठेका रमेश खरेल

प्रकाशमानको किल्लामा रमेश खरेल 
कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंह पछिल्ला तीनवटै निर्वाचनमा काठमाडौं १ बाट उठेर जिते। यो क्षेत्रमा एकछत्र राज गर्दै आएका गणेशमानपुत्र उनका चुनौती थपिँदा प्रतिस्पर्धी पनि फेरिंदै छन्। 

आफ्नो निर्वाचन क्षेत्रमा पकड बनाएका सिंह स्थानीय तहको निर्वाचनपछि झस्किएका छन्। कारण, काठमाडौं महानगरपालिकाको मेयरमा उनकी पत्नी सिर्जना सिंहले सोचेजस्तो मत पाइनन्। उनले पराजित हुनु पर्यो। कतै काठमाडौंका मतदाताको मन र मत बदलिएको त होइन भन्ने चिन्ता उनमा छ।

२०७४ सालकै निर्वाचनमा उनी जम्मा ८१८ मतले विजयी भएका थिए। उनले १० हजार ९३६ मत ल्याउँदा अहिले राप्रपाबाट उठेका मिश्रले १० हजार ११८ मत पाएका थिए। अघिल्लो पटक विवेकशील साझाबाट उठेका मिश्र यसपटक राप्रपाबाट मैदानमा छन्। 

राप्रपाको मत उनलाई थपिए सिंहको किल्ला तोड्न सक्छन्। तर सिंहलाई पनि यसपटक माओवादी र नेकपा एकीकृत समाजवादीको साथ छ। काठमाडौं १ मा पूर्व डीआईजी खरेलसँगै एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम पनि चुनावी मैदानमा छन्। 

त्यही भएर पहिलो पटक संसद छिर्न खरेलको बाटो कठिन छ। असम्भव भने छैन। त्यसका लागि उनले अघिल्ला चुनावका सिंह र मिश्रलाई पन्छाउनु पर्छ। 

२०६४ सालमा प्रकाशमानले १४ हजार ३१८ मत ल्याएर निर्वाचित भएका थिए। एमालेका प्रदीप नेपालले ६ हजार ७८९ र माओवादीका राममान श्रेष्ठले ४ हजार ७३६ मत पाए। 

२०७० सालमा पनि प्रकाशमानले मत बढाएका थिए। माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल त्यतिबेला पराजित भएकी थिइन्। प्रकाशमानले १५ हजार १३८ मत पाएका थिए। 

उनकी प्रतिस्पर्धी दाहालले ४ हजार ६४ मत मात्रै पाइन्। यो क्षेत्रमा राप्रपाले तेश्रो मत पायो। राप्रपाका भरतमणि जंघमले ३ हजार ७३२ र एमालेकी विद्या उपाध्याय न्यौपानेले ३ हजार ५०१ मत पाएकी थिइन्।

एमाले प्रवेशका क्रममा सर्वेन्द्र खनाल

योगेशले नसकेपछि सर्वेन्द्र
लगातार पराजित भएपछि एमाले सचिव योगेश भट्टराईले काठमाडौं ६ छाडेर ताप्लेजुङ फर्किएका छन्। २०६४ र २०७० सालमा यो क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका भट्टराईले जित्न सकेनन्।

त्यसपछि काठमाडौं छाडेर उनी ताप्लेजुङ पुगे। २०७४ सालको निर्वाचनमा उनी ताप्लेजुङबाटै संसदमा प्रवेश गरे। अहिले पनि उनले ताप्लेजुङ नै रोजेपछि काठमाडौं ६ को टिकट सर्वेन्द्रले पाएका हुन्। सर्वेन्द्र पूर्व आईजीपी पनि हुन्। 

टिकट पाउनु १४ दिनअघि मात्रै उनी एमालेमा प्रवेश गरेका थिए। सर्वेन्द्रलाई पनि यो क्षेत्रबाट चुनिएर संसद भवन छिर्न सहज छैन। त्यसका लागि उनले कांग्रेसका भीमसेनदास प्रधानलाई पन्छाउुपर्छ। प्रधान यो क्षेत्रबाट १० वर्षदेखि चुनिँदै आएका छन्। 

२०६४ सालमा माओवादीका हितमान शाक्यसँग पराजित प्रधान त्यसपछिका दुवै निर्वाचनमा विजयी भए। २०६४ मा हितमानले १० हजार ७६८ मत पाएका थिए। भिमसेनदासले १० हजार ५८ मत ल्याए। त्यतिबेला एमालेका योगेश भट्टराईको ९ हजार ८९ मत थियो। 

२०७० मा भीमसेनदास प्रधान १४ हजार १५१ मत ल्याएर निर्वाचित भए। एमालेका योगेश भट्टराई १२ हजार ८७४ मत ल्याएर दोश्रो पटक पराजित भए। माओवादीका हेमलाल शर्मा ‘हिमाल’ले ५ हजार ९४५ मत ल्याए। 

२०७० मा योगेशले छाडेपछि वामगठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदीले टिकट पाएका थिए। एमाले र माओवादी एक ठाउँमा हुँदा पनि प्रधानले १६ हजार ७८५ मत पाएर विजयी भए। सुवेदीको १५ हजार ४८५ मत आयो। 

यसपटक माओवादीको पनि साथ भीमसेनदासलाई भएकाले प्रहरीमा सफल सर्वेन्द्रको संसद यात्रा कठिन छ।

ललितपुर १ मा उठेका नवराज सिलवाल

दोहोरिने सिलवालको दाउ
अघिल्लो पटकको चुनावमा राजनीतिमा प्रवेश गरेको छोटो समयमै विजयी हुँदै पूर्व डीआईजी नवराज सिलवाल सांसद बने। प्रहरीको उच्च तहबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गर्ने र छोटो समयमै सांसद बन्ने सिलवाल मात्रै हुन्। 

अघिल्लो पटक वामगठबन्धनबाट विजयी सिलवाल यसपटक पनि दोहोरिने दाउमा छन्। तर यसपटकको राजनीतिक समीकरण उनलाई सहज छैन। 

२०७४ मा सिलवाललाई साथ दिएको माओवादी यसपटक विपक्षमा छ। सिलवालकै मुख्य प्रदिस्पर्धी कांग्रेसका उदयशमशेर जबरालाई माओवादीको साथ छ। 

माओवादीको समेत मत पाउँदै ६ हजार बढी मतले उनी विजयी भएका थिए। सिलवालले २६ हजार ९५१ मत ल्याउँदै विजयी हुँदा उदयशमशेरले २० हजार ७२९ मत पाएका थिए। 

उदयशमशेर यो क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन्। २०६४ सालमा पराजित उनी २०७० सालमा विजयी भएका थिए। २०६४ मा माओवादीका वर्षमान पुन यहाँबाट विजयी भए।

वर्षमान १५ हजार ३२९ मत ल्याएर विजयी हुँदा उदयशमशेरले १४ हजार ११ र एमालेका मदुसुदन पौडेलले ११ हजार ३४२ मत पाए। तर त्यसको ६ वर्षपछि भने यही क्षेत्रबाट जबराले संसदमा प्रतिनिधित्व गर्ने मौका पाए। 

उदयशमशेर १८ हजार ५६० मतसहित विजयी हुँदा एमालेका मदुसुदन पौडेलले १० हजार ६८२ मत पाए। २०७० को निर्वाचनमा माओवादीका हरि दाहालले ६ हजार १९६ मत पाएका थिए। 

गणतन्त्रपछिका कुनै पनि निर्वाचन क्षेत्रबाट दोहो¥याएर यो क्षेत्रबाट कोही विजयी हुन सकेका छैनन्। २०६४ सालमा निर्वाचित वर्षमान पुनले त्यसपछि यो क्षेत्र छाडेर रोल्पा फर्किए। 

त्यसपछिका एक एक निर्वाचन जितेका सिलवाल र जबरामध्ये एकजना यो क्षेत्रबाट यस पटक दोहोरिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .