ad ad

राजनीति


काठमाडौँ १० मा माओवादीकी अञ्जना विसंखेको उम्मेदवारी कायम

काठमाडौँ १० मा माओवादीकी अञ्जना विसंखेको उम्मेदवारी कायम

नेपालखबर
असोज २६, २०७९ बुधबार १८:०, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर १० मा माओवादीको उम्मेदवारी कायम भएको छ। पार्टी स्थायी समिति सदस्य अञ्जना विसंखेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्।

निर्वाचन परिचालन कमिटी सहसंयोजक सञ्जय लामाले नेपालखबरलाई बताएअनुसार कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटको टिकट ल्याएपछि आफूहरुले छुट्टै उम्मेदवारी दिएको र त्यो कायम राखेको बताए।

निर्वाचन आयोगले नाम फिर्ता लिन बुधबार दिउँसो १ बजेसम्मको समय दिएको थियो।

‘काठमाडौँ १० मा हाम्रो पार्टीबाट परेको उम्मेदवारी कायम रह्यो,’ लामाले भने, ‘कांग्रेसले हामीले पाउनुपर्ने प्रदेश सभामा पनि आधिकारिक टिकट ल्याएपछि सहमति जुट्न सकेन। काठमाडौैं क्षेत्र नम्बर ३ को एउटा प्रदेश पनि कांग्रेसले हाम्रो पार्टीलाई दिएन। अब कांग्रेससँग मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ।’

उनका अनुसार प्रतिनिधि सभामा अन्जना विसंखे, काठमाडौं १० (क) मा दिलीप महर्जन र काठमाडौं निर्वाचन क्षेत्र १० (ख) मा गणेश कुँवरले उम्मेदवारी दिएका छन्।

उनीहरु सबैको उम्मेवारी नेकपा माओवादी केन्द्रबाटै परेको र खारेज नभएको लामाले दाबी गरे।

‘पार्टीसँग सल्लाह भएको छ, अध्यक्ष प्रचण्डसँग पनि सल्लाह भएको थियो, उनीहरुले तीनवटै सिटमा कांग्रेसको मात्र टिकट ल्याएर माओवादीलाई पाखा लगाए,’ लामाले थपे, ‘अनि यो त गठबन्धनको स्पिरिटभित्र परेन। गठबन्धनका अन्य दललाई पुरै निषेध गरेपछि स्वीकार गर्ने कुरै भएन, अध्यक्षलाई त्यही भन्यौं, त्यसो भए लड्नु भनेर अध्यक्षले भन्नुभयो।’

गठबन्धनका शीर्ष नेताहरुले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी बागी उम्मेदवारी दिएकालाई फिर्ता गर्न बुधबार १ बजेसम्मको अल्टिमेटम दिएका थिए।

चुनावमा आफूहरुले बागी उम्मेदवारी नदिएको र माओवादी पार्टीको आधिकारिक उम्मेदवार भएको लामाले जिकिर गरे।

काठमाडौं क्षेत्र नम्बर १० मा चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .