ad ad

राजनीति


ओखलढुंगामा यज्ञराज दोहोरिएलान् कि रामहरिले बदला लेलान्?

ओखलढुंगामा यज्ञराज दोहोरिएलान् कि रामहरिले बदला लेलान्?

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १५:२५, काठमाडौँ

२०६४ सालमा दुवै क्षेत्र नेकपा माओवादीले जितेयता ओखलढुंगामा नियमित प्रतिस्पर्धी हुन् यज्ञराज सुनुवार र रामहरि खतिवडा।

२०६४ सालमा नेपाली कांग्रेसबाट रामहरि खतिवडाले टिकट पाएका थिएनन्। तर एमालेले क्षेत्र नं. १ मा यज्ञराज सुनुवारलाई उठाएको थियो। 

त्यतिबेला माओवादीका उम्मेदवार केशव राईसँग पराजित भएका यज्ञराज त्यसपछिका दुई निर्वाचनमा विजयी हुँदै आएका छन्।

२०७० सालको निर्वाचनमा क्षेत्र नं. १ बाट यज्ञराज विजयी हुँदा क्षेत्र नं. २ बाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए। 

आ-आफ्नो क्षेत्रमा पकड रहेका उनीहरुबीच ओखलढुंगामा एकै निर्वाचन क्षेत्रमा समेटिएपछि भेट हुन थालेको हो। उनीहरु दोश्रो पटक चुनावी मैदानमा भिड्न लागेका हुन्। दुवै नेता ओखलढुंगाबासीमाझ उत्तिकै चर्चित छन्। 

यज्ञराज यसपटक पनि जित्दै पकड बलियो बनाउन चाहन्छन् भने रामहरि २०७४ को बदला लिने योजनामा छन्। 

प्रतिस्पर्धी पुरानै भए पनि राजनीतिक समीकरणमा फेरबदल भएकाले रामहरिमा त्यो अपेक्षा अझै बढी छ। 

२०७४ मा एमाले-माओवादी गठबन्धन थियो। त्यतिबेला माओवादीको साथ पाएका यज्ञराज सुनुवार ३२ हजार ५ सय ८० मतसहित विजयी भएका थिए। उता रामहरि खतिवडाले २७ हजार ३ सय २७ मतमा चित्त बुझाए।

एमाले एक भएका बेला माओवादीको पनि मत पाउँदा त्यसबेला ५ हजार २५३ मतले जितेका सुनुवार यसपटक एक्लै मैदानमा छन्। 

यसअघि साथ दिएको माओवादी कांग्रेसको पोल्टामा पुगेको छ। यसअघि एमालेमा रहँदा सहयात्री पनि एकीकृत समाजवादीतिर लागिसकेका छन्।

तर कांग्रेस-माओ‌वादीले गठबन्धन गर्दैैमा सबै भोट रामहरिलाई जाने निश्चित नभएकाले जित दोहोर्‍याउने आशा यज्ञराजले बोकेका छन्।

१५ वर्षको जोड घटाउ
२०६४ सालमा दुवै क्षेत्र जिते पनि अहिले ओखलढुंगामा माओवादीको प्रभाव कम छ। त्यसबेला माओवादीका केशव राई ११ हजार ६३५ मत ल्याएर क्षेत्र नं. १ बाट विजयी भएका थिए। पराजित कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ५३ र एमालेका यज्ञराज सुनुवारले ८ हजार ९२० मत पाएका थिए। 

क्षेत्र नं. २ मा त्यतिबेला कांग्रेस उम्मेदवार बालाराज कार्की थिए। उनले ८ जहरा ७५ मत पाए। एमालेका किशोरकुमार अधिकारीले ८ हजार ७३३ मत पाउँदा माओवादीका बालकृष्ण ढुंगेल ११ हजार ६९ मत ल्याएर निर्वाचित भएका थिए। 

तर ६ वर्षपछिको निर्वाचनमा यो मत माओवादीले बचाउन सकेन। २०६४ मा पहिलो पार्टी बनेको माओवादी दुवै निर्वाचन क्षेत्रमा तेस्रोमा खुम्चियो।

क्षेत्र नं. १ बाट २०७० सालमा यज्ञराज सुनुवार निर्वाचित भए। उनले १२ हजार ९४३ मत पाउँदा कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ९४३ मत मात्रै ल्याए। माओवादीका केशव राई २ हजार ९६३ मतमा खुम्चिए।

क्षेत्र नं. १ मा यज्ञराजको जस्तै प्रभाव र मतान्तर क्षेत्र नं. २ मा रामहरि खतिवडाले कायम गरे।

खतिवडा १३ हजार ९०४ मत ल्याएर निर्वाचित भए। एमालेका नानीबाबु बुढाथोकीको पक्षमा ८ हजार ५१० मत मात्रै खस्यो। माओवादीका पेशलकुमार खतिवडाले ३ हजार ६३६ मत ल्याउन सके।

तर एउटै क्षेत्र बनेपछि आ-आफ्नो क्षेत्रमा पकड बनाएका यज्ञराज र रामहरिलाई कांग्रेस र एमालेले निरन्तर भिडाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .