ad ad

राजनीति


खोटाङमा विशाल भट्टराई : हारे पनि जिते पनि ‘ह्याट्रिक’

खोटाङमा विशाल भट्टराई : हारे पनि जिते पनि ‘ह्याट्रिक’

एमालेबाट खोटाङको प्रतिनिधिसभामा उठेका विशाल भट्टराई


नेपालखबर
असोज २५, २०७९ मंगलबार १३:३७, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई खोटाङबाट पाँचौँ पटक निर्वाचन लड्दैछन्। 

२०५६ सालयता एमालेबाट निरन्तर टिकट पाउँदै आएका भट्टराई सुरुका दुई निर्वाचनमा पराजित भए। 

पछिल्ला दुई निर्वाचनमा विजयी उनी यसपटक ह्याट्रिक गर्ने दाउमा छन्। तर यस पटकको राजनीतिक समीकरणले उनलाई त्यति सजिलो छैन। 

यदि गठबन्धनले जितेमा भट्टराई हारको ह्याट्रिक गर्नेछन्। २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादीको साथ पाएका थिए।

त्यसबेला विशाल भट्टराईले कांग्रेसकी सरस्वती बजिमयलाई फराकिलो मतले पराजित गरेका थिए। 

बजिमयलाई हराउँदा साथ दिएका मा‌ओवादी नेता रामकुमार राई यस पटक भट्टराईका प्रतिस्पर्धी छन्। 

२०७४ मा भट्टराईले संघमा निर्वाचन लड्दा रामकुमार प्रदेश ‘ख’ बाट एउटै टिममा थिए। त्यसबेला दुवै जनाले चुनाव जिते। 

तर अघिल्लो पटकका सहयात्री राई यस पटक भट्टराईका चुनौती बनेका छन्। रामकुमारलाई नेपाली कांग्रेसको पनि साथ मिल्न सक्छ। 

तर अहिलेसम्म साथ पाउने पक्का भइसकेको छैन। रामकुमारविरुद्ध नेपाली कांग्रेसका नेता पूर्व राज्यमन्त्री सर्वधन राईले उम्मेदवारी दिएका छन्। 

गठबन्धनका उम्मेदवारहरु

यदि सर्वधनले भोलिसम्ममा उम्मेदवारी फिर्ता नगरे भट्टराईलाई सहज हुनेछ। खोटाङमा स्थानीय तहको परिणामले सबैभन्दा बलियो नेपाली कांग्रेस देखिएको छ। 

जिल्लाका १० मध्ये ६ वटा स्थानीय तह जितेको कांग्रेस एउटा प्रदेशमा मात्रै टिकट पाएपछि असन्तुष्ट छ। 

नेकपा एमाले र माओवादी दुई दुई स्थानीय तहमा विजयी भएका छन्। कांग्रेस महामन्त्री भूपेन्द्र राईले प्रदेश ‘ख’ मा टिकट पाएका छन्। आफ्ना नेताले टिकट नपाएको स्थानमा कांग्रेसले उम्मेदवारी दिएको छ। 

प्रदेश ‘क’ मा पूर्व सभापति सुवासकुमार पोखरेल र पूर्व उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दिएका छन्। 

उनीहरुमध्ये एकजनाले उम्मेदवारी कायम राखेर एकजनाले फिर्ता लिने सम्भावना छ। तर पछिल्लो पटक सत्ता गठबन्धनले कांग्रेसका आधिकारिकबाहेक तीनैको उम्मेदवारी फिर्ता गराउन पहल गरिरहेका छन्। 

मंगलबार बिहान पनि प्रदेश १ का महामन्त्रीसमेत रहेका प्रदेश ‘ख’ का उम्मेदवार भुपेन्द्र राईले कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईसँग छलफल गरेका छन्। 

बुधबारसम्म उम्मेदवारी फिर्ता हुने सम्भावना रहेको छलफलमा सहभागी एक नेताले बताए। 

तर भोलिसम्म फिर्ता नभए विशालले दोश्रो पटक रामकुमार राईलाई पराजित गर्ने सम्भावना बलियो हुनेछ। 

एमालेका उम्मेदवारहरू

२०७० को निर्वाचनमा विशाल भट्टराई विजयी हुँदा देवान चाम्लिङ तेश्रो भएका थिए। त्यसबेला कांग्रेसका विष्णुकुमार राई दोश्रो भएका थिए।

विजयी भट्टराई कांग्रेस र माओवादीको जतिकै मत पाएका थिए।

तर त्यसबेला दुई वटा निर्वाचन क्षेत्र रहेको खोटाङमा अहिले एउटा मात्रै संघीय निर्वाचन क्षेत्र छ। 

२०५६ सालमा पहिलो पटक चुनाव लडेका भट्टराई त्यसबेला नेपाली कांग्रेसका शिवकुमार बस्नेतसँग पराजित भएका थिए। 

२०६४ सालमा उनी माओवादी नेतृ समिता कार्कीसँग पराजित भए। २०६४ मा रामकुमार राई क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। 

२०७० सालमा दुवै क्षेत्र एमालेले जित्यो। त्यसबेला दलहरुबीच गठबन्धन थिएन। 

२०७४ सालमा माओवादीकै बलमा विजयी भएका भट्टराईलाई यसपटक भने त्यही माओवादी कांग्रेसको बलमा बलियो प्रतिस्पर्धी बनेको छ। 

यस्तै एमाले फुटको असर पनि जिल्लामा देखिएको छ। २०७४ सालमा प्रदेश ‘क’ बाट निर्वाचित सांसद राजन राई पनि भट्टराईको पक्षमा छैनन्। 

नेकपा एकीकृत समाजवादीको जिल्लामा बलियो उपस्थिति छ। एमालेका पूर्व अध्यक्ष बबि चाम्लिङसहित नेताहरु समाजवादीतिर लागेका छन्। 

एमालेबाट प्रदेश ‘क’ मा पाँचकर्ण राई र ‘ख’ मा एमालेका जिल्ला आध्यक्ष रामप्रसाद दंगाल उम्मेदवार छन्। 

गठबन्धनबाट ‘क’ मा एकीकृत समाजवादीका वीरबलकाजी राई र ‘ख’ मा नेपाली कांग्रेसका भूपेन्द्र राईको उम्मेदवारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .