मधेश प्रदेशमा सबैभन्दा बढी रोचक भिडन्त हुने क्षेत्रमध्ये एक सप्तरी २ पनि हो।
यहाँ मधेसकेन्द्रित दलका दुई अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी २ मा मनोनयन दर्ता गराएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ।
यादव र राउतसँगै सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरलाई पनि बलिया उम्मेदवार मानिएको छ।
सप्तरी २ मा सत्ता गठबन्धनबाट ठाकुरको उम्मेदवारीले यहाँको चुनावी प्रतिस्पर्धालाई अझै रोचक बनाएको छ।
२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए।
उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए। अहिले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपा नेता ठाकुरले १० हजार बढी मत पाएका थिए।
त्यसैले पनि ठाकुरलाई यहाँका मतदाताले मजबुत उम्मेदवार मानेका छन्।
यद्यपि सप्तरी २ मा जसपा अध्यक्ष यादव र जनमतका अध्यक्ष राउतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
स्थानीय तहको निर्वाचनको वडागत मतलाई आधार मान्ने हो भने जसपा यो क्षेत्रमा बलियो पार्टी हो।
जसपाले यस पटक एमालेको पनि साथ लिएको छ। यस्तोमा एमालेको मत पनि उपेन्द्र यादवका लागि सहयोगी बन्न सक्छ।
वडामा जसपाले १४ हजार ४ सय ३ मत पाएको थियो। अर्कातिर कांग्रेसले १० हजार ८सय ७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४ सय ३५ मत पाएका थिए।
माओवादी केन्द्रले ९ हजार ५सय ३४ र एमालेले ५ हजार ९५१ मत पाएका थिए। राउतको जनमत पार्टीलाई ४ हजार ५४२ मत मिलेको थियो।
सत्ता गठबन्धनले इमान्दारिता देखाए लोसपाका नेता ठाकुरले यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धाबीच जित निकाल्न सक्ने सम्भावना पनि छ।
यसअर्थ जसपा अध्यक्ष यादवका लागि राउत मात्रै नभई ठाकुर पनि बलियो चुनौतीका रुपमा खडा भएका छन्।
जनमत पार्टीका अध्यक्ष राउतका लागि यो चुनाव सबैभन्दा बढी चुनौती बनेको छ।
पहिलो पटक जनताबीच प्रतिस्पर्धामा उत्रिएका राउतसँग चुनावी अनुभवसमेत कम छ। त्यहीकारण उनका लागि यो चुनाव ठूलै अग्निपरीक्षा बनेको राजनीतिका जानकार बताउँछन्।
प्रतिक्रिया