प्रदेश १ मा प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र छन्। यीमध्ये अधिकांश क्षेत्रमा मूलतः सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा तय भएको छ। तर, कतिपय स्थानमा भने त्रिपक्षीय प्रतिस्पर्धाका संकेतहरु देखिएका छन्।
प्रदेश १ का निर्वाचन क्षेत्रबाट आगामी मंसिर ४ मा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की सुनीलबहादुर थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतको भाग्य परीक्षा हुनेछ।
त्यसैगरी प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई, भीम आचार्यदेखि लिएर धेरैजना पूर्वसांसद र पूर्वमन्त्रीहरुको भाग्य अजमाउने मैदान बनेको छ प्रदेश १।
यसका साथै केही विद्रोही एवम् बागीहरुले पनि आफूलाई चुनावी दाउमा लगाएका छन्। लेखक युग पाठक झापा ५ मा केपी ओलीसँग चुनाव लड्न गएका छन्।
एमालेका पूर्वनेता युक्त भेटवाल, अधिवक्ता स्वागत नेपाल, माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका हेमराज भण्डारी, एमालेबाट बागी उठेका योगेन्द्र मण्डल र राप्रपाबाट जोखिम मोल्न पुगेकी रेखा थापाको पनि यही प्रदेशबाट भाग्य परीक्षा हुनेवाला छ।
कांग्रेस–एमाले बाहेकका उम्मेदवारबीच प्रतिपर्धा हुन सक्ने संकेत देखिएका क्षेत्रहरुमध्ये झापा ३ मा सत्ता गठबन्धनसँग राप्रपाको चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। त्यहाँ एमालेले उम्मेदवार उठाएको छैन।
मोरङ ५ मा सत्ता गठबन्धन, जसपा र स्वतन्त्र उमेद्वारहरुका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। सुनसरी १ र मोरङ ५ मा एमाले र जसपाबीच तालमेल हुने भनिए पनि एमाले नेताहरुले बेग्लै उमेद्वारी दिएका छन्।
एमालेका प्रभावशाली नेताहरु नै चुनावी प्रतिस्पर्धामा हुँदा यी क्षेत्रमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।
रेखा थापाले उम्मेदवारी दिएको मोरङ ३ र स्वतन्त्र उम्मेदवार उठेका झापा ४, झापा २, धनकुटा र सुनसरी १ मा त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना पनि देखिन्छ।
तेस्रो पटक प्रतिस्पर्धा
प्रदेशको राजधानी मोरङको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ।
लेटाङबाट शिक्षण पेशा छाडेर राजनीतिमा लागेका लिम्बु र खतिवडाबीच घनिष्ट मित्रता छ। तर, उनीहरुबीच २०७० को निर्वाचनदेखि नै प्रतिस्पर्धा हुँदै आएको छ।
२०७० को संविधानसभा निर्वाचनमा कांग्रेस नेता डिगबहादुर लिम्बूले एमाले नेता खतिवडालाई हराएका थिए। ०७४ को निर्वाचनमा भने खतिवडाले बदला लिँदै लिम्बूलाई हराए। यसपटक उनीहरु तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्।
मोरङ १ मा जस्तै सुनसरी ३ मा पनि ०७० देखि दुई व्यक्तिका बीचमा बारम्बार प्रतिस्पर्धा भइरहेको छ। यस क्षेत्रमा विगतमा जस्तै एमालेका तर्फबाट भगवती चौधरी र नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गच्छदारले मनोनयन दर्ता गराएका छन्।
०७० को निर्वाचनपछि यस क्षेत्रमा उनीहरुकै बीच प्रतिस्पर्धा चले पनि हरेक निर्वाचनमा गच्छदारले बाजी मार्दै आएका छन्।
झापा ३ मा पनि राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाबीच ०७० को चुनावपछि निरन्तर भेट हुँदै आएको छ। ०७० को निर्वाचनमा सिटौलाले बाजी मारेका थिए भने ०७४ मा लिङ्देनले हारको बदला लिएका थिए।
यस पटकको चुनावमा पनि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन बीचमा प्रतिस्पर्धा हुने भएको छ। लिङ्देनलाई एमालेले साथ दिएको छ भने सिटौलालाई सत्ता गठबन्धनको साथ छ।
दुईपटक भिड्दै
मोरङ क्षेत्र नम्बर ३ मा ०७४ कै जोडी चुनावी प्रतिस्पर्धामा होमिएको छ। यस क्षेत्रबाट नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा सत्ता गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् भने एमाले नेता एवं पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले यस क्षेत्रबाट दोस्रोपटक मनोनयन दर्ता गराएका छन्।
शर्मा र ढकालबीच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा हुँदा एमाले नेता ढकालले बाजी मारेका थिए।
यसपटक मोरङ ३ मा नायिका रेखा थापाले पनि उम्मेदवारी दिएका कारण यो क्षेत्र विशेष चर्चामा छ। थापाले राप्रपाबाट मनोनयन दर्ता गराएकी छिन्।
त्यस्तै, मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र एमालेका लालबावु पण्डितले उमेद्वारी दिएका छन्। उनीहरुबीच अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा लालबावुले बाजी मार्दा डा. कोइराला पराजित भएका थिए।
एउटा मात्रै निर्वाचचन क्षेत्र रहेको धनकुटामा पनि ०७४ कै प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। धनकुटामा सत्ता गठबन्धनका तर्फबाट सुनील बहादुर थापा उमेद्वार बनेका छन् भने एमालेका तर्फबाट राजेन्द्र कुमार राईले मनोनयन दर्ता गराएका छन्।
०७४ को निर्वाचनमा पनि यी दुई नेता भिड्दा एमालेका राजेन्द्रले बाजी मारेका थिए। अघिल्लो चुनावमा राजेन्द्र माओवादीसँगको गठबन्धनमा थिए भने यसपटक माओवादीले कांग्रेससँग गठबन्धन गरेको छ।
धनकुटामा पूर्वसभासद हेमराज भण्डारीले माओवादी पार्टी परित्याग गरेर स्वतन्त्र उमेद्वारी दिएका छन्। उनी माओवादीका पूर्व पोलिटब्यूरो सदस्य हुन्। सत्ता गठबन्धनको भागमा धनकुटा नपरेपछि उनी पार्टीबाट राजीनामा दिँदै स्वतन्त्र चुनाव लड्ने भएका हुन्।
धनकुटाको अर्को रोचक पक्ष के छ भने प्रतिनिधिसभाको उम्मेदवार बन्ने दाबी गरिरहेका जसपा नेता एवं पूर्वमन्त्री रकम चेम्जोङले प्रदेशसभामा उम्मदेवारी दिएर संघीय चुनावको मैदान खाली गरिदिएका छन्।
धनकुटाबाट अब संघमा सुनीलबहादुर थापा, राजेन्द्र राई र हेमराज भण्डारीवीच प्रतिस्पर्धा हुनेछ। त्यसो त राप्रपाका कुमार थापाले पनि संघमा उम्मेदवारी दर्ता गराएका छन्।
संखुवासभामा काँग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाउँदा एमालेले निवर्तमान सांसद राजेन्द्र गौतमलाई नै टिकट दिने निर्णय गरेको छ। अघिल्लो निर्वाचनमा पनि यिनै प्रतिस्पर्धी थिए। ०७४ को चुनावमा एमाले नेता गौतमले खड्कालाई हराएका थिए।
ओखलढुंगामा काँग्रेसले रामहरि खतिवडालाई टिकट दिएको छ। एमालेले निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक पनि यी दुई नेताकै बीचमा प्रतिस्पर्धा भएको थियो।
झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसबाट डा. खगेन्द्र पाण्डब अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन्। ०७४ को निर्वाचनमा पनि उनै अधिकारी अध्यक्ष ओलीका प्रतिस्पर्धी थिए। ओली र अधिकारीवीच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो।
ठाउँ फेरेर उमेद्वार
प्रदेश १ को चुनावमा पुरानै प्रतिस्पर्धीहरुको ट्रेन्ड एउटा देखिएको छ भने ठाउँ परिवर्तन गरेर उम्मेदवारी दिने अर्को ट्रेन्ड पनि देखिएको छ।
मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदी र एमालेका विनोद ढकालले मनोनयन दर्ता गराएका छन्।
उनीहरुको यो पहिलो भेट हो। मोदीले यसअघि यही क्षेत्रबाट नेपाली कांग्रेसका महेश आचार्यलाई हराएका थिए। विनोद ढकाल यस क्षेत्रमा पहिलोपटक आएका हुन्।
सुनसरी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट सीताराम मेहेताले मनोनय दर्ता गराएका छन्। उनी यस ०७४ मा पनि सोही क्षेत्रबाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए। यस क्षेत्रबाट एमालेका भीम आचार्यले मनोनयन दर्ता गराएका छन्। उनी यसअघि प्रदेश १ का मुख्यमन्त्री समेत हुन्।
सुनसरी क्षेत्र नम्बर १ ख बाट ०७४ मा निर्वाचन जितेका आचार्यले यस पटक भने क्षेत्र परिवर्तन गरेका छन्। ०७० को निर्वाचनमा उनी सुनसरी क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भएका थिए।
सुनसरी, मोरंग र झापामा को–को उमेद्वार?
सुनसरीको क्षेत्र नम्बर १ मा जसपाका अशोक राई एमालेसँगको सहयोगमा उमेद्वार बनेका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादीका मुक्साहाङ मेन्यान्वोले मनोनयन दर्ता गराएका छन्।
यस क्षेत्रबाट एमालेका मनोज मेन्याङ्बोले स्वतन्त्र उमेद्वारी दिएका छन्। उनी धरानका पूर्वमेयर समेत हुन्। सोही क्षेत्रबाट सुकुम्बासी नेता कुमार कार्कीले पनि स्वतन्त्र उमेद्वारी दिएका छन्। उनी नेपाल वसोबास वस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष हुन्।
सुनसरी ४ बाट भने सत्तागठबन्धनबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उमेद्वारी दर्ता गराएका छन्। उनी ०७४ देखि यस क्षेत्रबाट उमेद्वार बन्दै आएका छन्। उनीसँग एमालेका जगदीश कुसियतको प्रतिस्पर्धा हुने छ। उनी यस अघि ४ क बाट प्रदेश सभामा विजयी भएर मन्त्रत्रीसमेत बनेका थिए।
मोरङमा ५ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका शिवकुमार मण्डलले मनोनयन दर्ता गरेका छन्। उनी यसअघि पनि यही क्षेत्रबाट कांग्रेसका अमृत अर्याललाई हराएर बिजयी भएका थिए।
यस पटक भने मोरङ ५ मा माओवादी नेता मण्डल र एमाले–जसपा गठबन्धनका राजकुमार यादबबीच प्रतिस्पर्धा हुने देखिन्छ। यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा पनि यादबले उम्मेदवारी दिएका थिए।
यस क्षेत्रमा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेका नेता योगेन्द्र मण्डलले पनि स्वतन्त्र उमेद्वारी दिएका छन्। उनलाई एमालेले सोही क्षेत्रबाट चुनाव लडाउने तयारी गरेको थियो।
जीवन विकास समाज नामक माइक्रोफाइनान्स र गैरसरकारी संस्थाका अध्यक्ष रहेका मण्डलको यस क्षेत्रमा राम्रो प्रभाव रहेको मानिन्छ। उनी एक बर्षअघि मात्रै राजनीतिमा आएका हुन्।
झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच प्रतिस्पर्धा हुँदैछ। झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट हरि राना मगरबीच प्रतिस्पर्धा हुने भएको छ। घिमिरे एमालेका पुराना नेता हुन् भने एमाले छाडेर गठबन्धनको उम्मेदवार बनेका राना अर्जुनधाराका पालिका अध्यक्ष हुन्।
झापा क्षेत्र नम्बर २ मा अधिवक्ता स्वागत नेपालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
झापा ४ मा काँग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा एमालेका पूर्व नेता युक्त भेटवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। सुरुङ्गा क्षेत्रमा राम्रो प्रभाव रहेका भेटवालसँग ठूला पार्टीको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
पहाडमा को–को उम्मेदवार?
तेह्रथुममा सत्ता गठबन्धनबाट कांग्रेस नेतृ सीता गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन्। एमालेले शिवमाया तुम्बाहाम्फेका दाजु विजय सुब्बालाई उमेद्वार बनाएको छ।
तेह्रथुमबाट ०७४ मा एमालेबाट भवानी खापुङले जितेका थिए। खापुङ अहिले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका छन्। उनी स्वास्थ्यमन्त्री छन्।
पाँचथरमा सत्ता गठबन्धनबाट काँग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले नेता नेम्वाङ यसअघि यातायत मन्त्री समेत भएका थिए।
खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने भएको छ।
सोलुखुम्बुबाट गठबन्धन दलबाट नेपाली काँग्रेसका बलबहादुर केसीले विपक्षी गठबन्धनबाट एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्ने भएका छन्। सोलुखुम्बुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र माओवादीको भागमा परेको भए पनि कांग्रेसभित्रको अन्तरविरोध समाधान गर्न माओवादीले छाडेको हो।
ताप्लेजुङमा एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकी (पराग) ले प्रतिस्पर्धा गर्ने भएका छन्।
इलामको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपक्षी गठबन्धनका एमाले नेता महेश बस्नेतसँग प्रतिस्पर्धा गर्ने छन्।
इलामको २ नम्बर क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग कांग्रेसका डम्बर खड्काले प्रतिस्पर्धा गर्नेछन्।
उदयपुरको निर्वाचन क्षेत्र १ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। उदयपुर २ मा नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
भोजपुरमा एमाले नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईसँग माओवादी नेता एवं निवर्तमान सांसद सुदन किरातीबीच प्रतिस्पर्धा हुने भएको छ।
०७४ को गणित : एमाले १६, माओवादी ६, कांग्रेस ५, राप्रपा १
०७४ सालमा देशैभरि एमाले–माओवादी गठबन्धन बनेको थियो। प्रदेश १ का २८ सिटमा पनि त्यसको प्रभाव स्वतः परेको थियो। त्यो अवस्थामा २८ सिट मध्ये एमालेले कांग्रेसले माओवादीले सिट जितेका थिए।
०७४ को चुनावमा २८ मध्ये एमालेले १६ सिट जितेको थियो। माओवादीले ६ सिट जितेको थियो। वाम गठबन्धनले जितेको सिट संख्या २२ पुगेको थियो। यसपालि माओवादीले कांग्रेसलाई सघाएको र पार्टीसमेत फुटेको अवस्थामा आफ्नो बर्चश्व जोगाउनुपर्ने चुनौति एमालेसामु खडा भएको छ।
०७४ को चुनावमा प्रदेश १ का २८ मध्ये नेपाली कांग्रेसले पाँच स्थान मात्रै जितेको थियो। कांग्रेसले मोरङ २, उदयपुर १ र सुनसरी क्षेत्र नं २, ३ र ४ मा मात्रै जित हात पारेको थियो।
वाम गठबन्धनसँग एक्लै लड्दा ५ सिट सितेको कांग्रेसले यसपालि माओवादी र एकीकृत समाजवादीको साथ पाएकाले जितमा केही सहज परिस्थिति देखिन्छ।
यसपालि माओवादीसँग गठबन्धन गरेको कांग्रेसले २८ मध्ये १९ सिटमा उम्मेदवार उठाएको छ।
माओवादीले ०७४ सालमा एमालेसँग मिलेर ६ सिट सुरक्षित गरेको थियो। माओवादीले झापा १, सोलुखुम्बु, भोजपुुर, उदयपुर २ र मोरङ ४ र ५ नम्बर क्षेत्र जितेको थियो।
यसपालि माओवादीले कांग्रेससँग मिलेर ७ सिट पाएको छ। माओवादीले पाएका सिटहरुमा ताप्लेजुङ, झापा २, सुुनसरी १, भोजपुर, खोटाङ र मोरङ क्षेत्र नं ४ र ५ छन्। गठबन्धन फेरेको माओवादीलाई प्रदेश १ मा पुरानो जित कायम राख्नुपर्ने चुनौती छ।
प्रदेश १ बाटै गत चुनावमा राप्रपाको बिऊ जोगिएको थियो। झापा ३ बाट राजेन्द्र लिङदेनले एमालेको साथ पाएर जितेका थिए। यसपालि पनि लिङदेनलाई एमालेको साथ छ। यसपालि झापा ३ का अतिरिक्त मोरङ ३ बाट एक सिट थप्न लक्ष रहेको राप्रपा नेताहरु बताउँछन्।
गत चुनावमा जनता समाजवादी पार्टीले २८ सिटमध्ये एउटा पनि जितेनन्। यसपालि एमालेसँगको गठबन्धनका आधारमा सुनसरी १ र मोरङ ५ बाट दुई सिट जित्ने लक्ष रहेको जसपा नेताहरुको भनाइ छ।
अघिल्लो चुनावमा एमाले फुटेर एकीकृत समाजवादी बनेको थिएन। गत चुनावमा एमालेबाट जितेका यस प्रदेशका झलनाथ खनाल र भवानी खापुङ अहिले एकीकृत समाजवादीमा छन्। तर, खापुङ चुनावी मैदानमा छैनन्।
एकीकृत समाजवादीले इलामबाट झलनाथ खनाल र उदयपुरबाट जगन्नाथ खतिवडालाई गठबन्धनको उम्मेदवार बनाएको छ र दुई सिट सुरक्षित गर्ने लक्ष लिएको नेताहरु बताउँछन्।
प्रदेश १ अन्तरगतका २८ सिटमा महिला प्रतिस्पर्धीको संख्या एकदमै न्यून देखिएको छ। यहाँबाट कांग्रेसकी सीता गुरुङ र राप्रपाकी रेखा थापा महिला उम्मेदवारका रुपमा खडा भएका छन्।
प्रतिक्रिया