नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउन असफल भएका छन्।
शनिबार बेलुकासम्म ढुक्क रहेका गजुरेलको क्षेत्र सिन्धुली २ मा राजन दाहालले टिकट पाएका हुन्। उनी सिन्धुली जिल्ला अध्यक्ष पनि हुन्।
माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले गजुरेललाई पार्टी कामको जिम्मेवारी दिन उम्मेदवार नबनाएको बताए।
‘उहाँ अब पार्टी काममा खटिनुहुनेछ, सांसद हुने पार्टीको पनि जिम्मेवारीमा हुँदा काममा समस्या नपरोस् भनेर युवा नेतालाई अवसर दिइएको हो’, सहयात्रीले नेपालखबरसँग भने, ‘अब पार्टीमा रहने अग्रज नेताहरूले मार्गनिर्देश गरेर पार्टी चलाउनुहुनेछ, नयाँ पुस्ताले जनताको काम गर्नेछन्।’
उता टिकट नपाएपछि गजुरेल सिन्धुली हानिएका छन्। उनले परिवारसँग सल्लाह गरेर आवश्यक निर्णय लिने बताए। यसअघि सिन्धुपाल्चोक १ बाट चुनाव नलड्ने सभामुख अग्नि सापकोटाले शनिबार घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया